प्रेमिल सहरको किस्सा
स्थान : क्याफे दि लुमन्ती, लाजिम्पाट काठमाडौं।
समय : मध्यान्हको २ः३० बजे, शनिबार।
प्रसंग : समय र सीमा मायाप्रितीको ।
आखिर माया भनेको के हो ?
हो, यही विषयलाई लिएर क्याफे दि लुमन्तीभित्रको एक ओबलङ टेबलमा ओझिलो बहस भइरहेछ।
के मायाको सीमा हुन्छ ? के माया निश्चित समयसम्मका लागि मात्र गरिन्छ ?
हैन भने किन फेरिफेरि बारम्बार समयसीमा तोकेर जो प्रशंग उठ्ने गर्छ।
ठोसरूपमा बहसको परिणाम निस्केको देखिँदैन। शनिबारको दिन परेर होला, झ्यालको पर्दा र सेता भित्तोहरू नै अमुक दर्शक–स्रोता बनेका छन् यतिबेला।
यो कुनै पारिवारिक सम्बन्धको मायाप्रेम हैन। जो दाजुभाई, बाबुआमा वा दिदीबहिनी प्रति गरिने होस्। यो त विशुद्ध एक परिपक्क जोडीको मायाप्रेम हो, जसको भविष्य उज्ज्वल छ। यतिखेर यही कामना गरेको छ वर्तमान परिवेशले। तर, चल्तीको समय र सीमा किन घरीघरी सिउँडीको बार बनेर उभिइदिन्छ ?
साझा बस र मायाप्रितीमा के नै भिन्नता रह्यो र ! साझा बसमा दुई रूपैयाँको टिकट लिएर चढेको व्यक्ति फलानो, बल्खु, कालीमाटी, टेकु, त्रिपुरेश्वर, सुन्धारा हुँदै रत्नपार्कसम्म । अनि रत्नपार्क गेटको अघिल्तिर लस्करै रहेका पाउँ भण्डारहरू र त्यसमा पुतलीझैं छपक्कै झुम्मिइरहेका युवतीहरू। उर्फ अस्तिहिजो मात्रै जस्तो लाग्छ। त्यही लाइनमा रहेको रत्न स्टुडियोमा आशिकी कट कपालमा ब्ल्याक इन ह्वाइट फोटो खिचाएको। तर, समयले दुई दशक नाघिसकेछ।
यतिञ्जेल साझा बसको उतारचढावको लेखाजोखा रहेन। समय त उस्तै चलिरहेको छ निरन्तर। बिहान, दिउँसो अनि साँझ र रात। रातपछि दैनिक उही प्रक्रिया दोहोरिरहने। घडीको सुइँ मात्र घुम्ने रहेछ दिन र रातले घुमफिर गर्दैगर्दा। निरन्तर समय चलेको हो भने दुईबीसको समय व्यतित गर्दैगर्दा उनीसँगको भेटले किन उपद्रो मच्चाउदो हो र यो लाठे ज्यानमा ? म यसै सोचमग्न छु।
आज बिदाको दिन। उनीसँग केही फन्को घन्टा सुइँको बसाइँलाई बिट मारेर लाजिम्पाटको बस बिसौनीमा रहेको फलामको मोटो पाइपवाला अग्लो कुर्चीमा बस्दैगर्दा मेरो मस्तिष्कभरि हुण्डरी मच्चिएको छ। चैत-वैशाखलाई पार गरिसकेकाले होला आकाशै खाउँला जसरी बादल मडारिएको पनि देखिदैन आज।
खैर प्रेमको एक झिल्को आगो के सल्किएको थियो चैतको खडेरीले भन्दा छिटो मगजले टिप्यो। अघि भर्खर उनीसँग खाएको ममचा र अमेरिकानो सँगसँगै शब्दका बाणीहरूले लाग्दैछ जीन्दगी नै हल्लाइदिएको छ। डेढफिटे सडकको पेटीबाट पैदलिँदै गर्दा १५ मिनेटअगाडि उनीसँग नछुट्दै भए गरेका वार्तालाप र प्रेमालापहरू सिनेमाको पर्दा जसरी खुलिरह्यो यो मनको जीवनशालामा।
अब भने लैनचौरको बस कुर्ने व्यावसायिक विज्ञापन अंकित छाप्रोमा ठेच्चिएर साउने (हरियो) बसको बाटो नियालिरहेको छु। आफ्नै जीवनसँग गम्दागम्दै बल्ल साझा बस टुपुल्कियो। तन र मन भने बाहिरी वातावरणसँग भिज्दै थियो। पलभरमै १५्र मिनेट मेरो जीवनदेखि पर सरिसकेछ। समयसँग म परिचित नभाको पनि हैन।
पुनः एकपटक नाम कमाउन (दाम हैन) थालेको बडेमानको साझा बसको पछिल्लो लहरबाहेक बाँकी सिट भरिभराउ नै थियो। ढोका पछाडिको त्यही अन्तिम लहरको बीचमा म थच्किएँ। केहीबेर बसभित्र नजरले भ्रमण गर्नासाथ दुई लाइन अघिल्लो सिटको झ्याल छेउमा खित्किएका जोडीमा पुगेर दृष्टि अड्कियो। मेरो नजर मात्र नहोला। ती मित्र जोडीले अरुको पनि ध्यान खिच्नु स्वभाविकै थियो। यसै पनि बसको अगाडि बस्नुभन्दा पछिल्तिर थेचिँदा वास्तविकतासँग बढ्ता अभ्यस्त भइन्छ नै। यो मेरो सोचाइ सही नहुन पनि सक्छ। तर, यही नै लागू भइरहेको थियो मेरो स्वः सिद्धान्तमा।
दुई दशकअघि अघि साझा बस र जर्मनी मर्सिडिज मिनीबसमा यात्रा गर्नु बाध्यता थियो भने आजको दिनमा एक चाहना र अनुभवको पोको सँगाल्दै छु। समय उही भए पनि परिस्थिति निकै बदलिसकेको अनुभूति हुन्छ। बसभित्रका यात्रुहरूको पहिरन, हाउभाउ, हातहातमा मोबाइल यो सबै २० वर्षअघि कसले पो सोचेको थियो र ? एक दशक, पाँच दशक, दश दशक पछाडिको बारेमा सोच्ने शतिm हामी नेपालीमा भइदिएको भए विकसित अन्य मुलुकभन्दा हामी किन यति धेरै पछि पर्ने थियौं र ? म एक्लै गमिरहेछु । अवस्था र परिस्थितिले मलाई गमाइरहेछ स्वतःस्फुर्त।
ऊबेला जमल चोकाने निरको विश्वज्योति चलचित्र भवनमा अक्षयकुमारको नयाँ फिल्म ‘खिलाडी’ हेर्न टिकटका लागि लाइन बसेको ठाउँमा यतिबेला साझा बसले मान्छे ओह्राल्ने र चढाउने गर्दै रहेछ। कलिलो काँचले बारेको विकसित मल पो भएछ अहिले। लगभग २५ वर्षमा यही फड्को मारेको देखियो विश्वज्योति हलले। तर, उसैको सामुन्ने दक्षिणतिर रहेको त्रिचन्द्र कलेजको अवस्था सचिनले शतक प्रहार गर्दासमेत ठुस्केर बसेकी प्रेमीकाजस्तै छ। कसैको वसमा रहेन त्रिचन्द्र कलेज सायद। मेरो मात्र देखाई, भोगाई र सोचाई पक्कै हैन होला। त्यही कलेजबाट निस्कने आन्दोलनको रापसँगै हजारौं विद्यार्थीले अनेक रूपरेखा र चोला फेरिसक्दा पनि त्रिचन्द्रको भने रंगसमेत नफेरिएको देखिन्छ।
उपत्यका काठमाडौं प्रवेश गरेको रजत जयन्ती मनाउँदै गर्दा बडो गज्जबले साझा बसमा सयर गरिरहेछु। मानौ अवलोकन गर्दैछु प्रथम पटक यसरी। अभावैअभावबीच पनि हर्षित थियो मन उतिबेला। नजर मात्र डुलाइरहँदासमेत आनन्द लाग्थ्यो।
माइक्रोबस अनि मिनीबस वालाहरूको होहल्ला र बोलवाला चल्दै गर्दा पनि साझा बसको क्रेज घटेको रहेन छ। यस्तै लाग्यो– पर्यटन बोर्डको स्टेसन नेरबाट हुलकाहुल मानिसहरू उक्लिएपछि। ऋब भने बसमा ठेलमठेलको अवस्था रह्यो। अघि देखिएको युगल जोडीको चर्तिकला पनि यतिबेला छेलियो। कोचिएर उभिएकामध्ये सबै बलिष्ठझैं लाग्छ। आखिर म एक्लैले सिट छाडीदिएर कुनै अर्थ थिएन। म अन्तिम लहरको बीचको सिटमा भए पनि घाँटी तन्काउँदै बाहिरको सिनारियो नियाल्दै थिएँ। तर, अहिले मानिसको चापले गर्दा त्यो सुविधा गुमिसकेको अवस्था छ।
म सिटमा ठहरिरहेकै छु। उहिलेको तुलनामा सुविधा मिलेको छ। तर, मलाई भने सास्ती भइरहेछ। गुम्सिएको छु। दृश्यविहीन बनेको छु। हो, एक युवतीको ११ नम्बरको गियरले च्यापिरहेको छ सनासोले जसरी। उनको कम्मर माथिमाथि बसको हल्लाइसँगै घरीघरी मेरो थोपडा रगडिन्छ। स्वभाविकै हो म उनको मुहारसँग परिचित छुइनँ। बरु बढ्ता शरीरको भूमध्यरेखासँग अभ्यस्त भइरहेछु। फेरि दुइ दशकअघिको सम्झना आउँछ। उस्तै प्रकृतिको।
कीर्तिपुरको रुटमा चल्ने मर्सिडिस मिनीबसमा पुरानो बसपार्कदेखि सुन्धारा हुदै त्रिपुरेश्वर, टेकु, कालीमाटी, बल्खु यात्रा गर्दैगर्दा साँझको भीडमा रत्नराज्य क्याम्पसमा पढ्ने युवतीको कसिलो तन र मनले बेस्कन च्यापेको थियो, जानाजान। उतिबेला त सामान्य भलाकुसारीसमेत भएको थियो हामी दुईबीच। तर, अहिले यसै भन्न सक्ने स्थिति छैन। मगज गुम्सिएरै गमिरहेछ। उनी बसमा उक्लेको पनि अब त १५ मिनेट भइसक्यो होला। यो मेरो अन्दाज हो, बाहिरी दृश्य देख्न नसके पनि बाग्मती पुल कटेर कुपण्डोलबाट मोड देब्रिएको। अरुहरूबाट ठेलिएर हो कि खै, उनी मेरो दाहिने तिघ्रालाई च्यापिरहेछ या स्वयं आफ्नो इच्छाले बल गरिरहेको छ ? खोपेटो मेरो पुराकापुर फेल खाइरहेछ। उकुसमुकुस त यसै हुने नै भइगयो। कापमा च्यापिनुको रहस्यलाई मेरो कल्पनाको कोठरीभित्र रोमाञ्चकतामा परिणत गराएको छ। म अनुहारलाई उत्तानो पारि हेर्ने कोसिस गर्छु। छुस्स चिउँडो मात्र देखिन्छ। मनमा थप कौतुहलता जाग्छ। उल्का रहस्यमयी लाग्छ झन्। मुटुको चाल फक्सिङको तीव्र गतिको रेल जसरी कुदिरहेछ। यो बेमौसमी यात्राको भलले कतिञ्जेल मनलाई थेग्ला ?
थप १५ मिनेटमा जावलाखेल खुल्यो। जब यात्रुहरू लस्करै उत्रदै गए। सिल्की केसले आधा मुहार ढाक्दै चल्दैगर्दा म सिर्फ अवाकिएँ। उनले के कति ‘नोट’ गरिन् केही भेउ पाइनँ। स्वभाविकै हो, निस्लोट घाँटी उँटको जसरी तन्किरहनु। लगनखेल चोकको मन्दिर वृक्षलाई फन्को मारी बस आफ्नो स्टेसनमा पालो कुर्न ललितपुर मल अगाडि रोकियो। मात्र १५ रूपैयाँको टिकट लिएर बाँकी रहेका यात्रुहरूको लस्करसँगै म पनि ओर्लिएँ। कोही कता लागे, कोही कता। मलाई भने भाउन्न बनायो।
सबेरैदेखि खिचडिएको थियो आज मेरो मन। झन् उनीसँगको पे्रमिल समयसीमा विवादले कस्तो रूप लेला भन्ने अन्योल यथावत् छँदैथियो।
पुनः अर्को १५ मिनेटले घडीको सुइँ पार गरिसकेछ। कतिखेर म बटुक भैरव मन्दिर अगाडिको अशोक स्तुपाभित्र प्रवेश गरेर बडेमानको माने परिक्रमा गर्दैरहेछु। गोलो बारभित्रको सीमित झ्याँङ र चउरीहरू कतै खाली देखिदैनन्। गजबले मौसम खुलेको छ आज। मौसमसँगै पिरती पनि उसैगरी खुलेको देख्दैछु यो शान्त बौद्ध स्तुपा वरिपरि। पक्कै पनि नराम्रो मान्नुपर्ने कारण म देख्दिनँ। यसै बिषयमा त उनी र मबीच साझा बसको यात्रा थाल्नुअगाडि लाजिम्पाटको क्याफे दि लुमन्तीमा क्षेत्र निर्धारण गरेजसरी बृहत बहस भएको थियो।
यस बखत यहाँको वस्तुस्थिति नियाल्दा, कतिले जानिँदो वा नजानिँदो पाराले के कति सम्झौता गर्दै होलान् यति नै गम्न सकिन। जे होस् मौसमलाई पनि माथ खुवाइरहेको छ अहिले नारिएका यी जोडी ढुकुरहरूले । लाग्छ, काठमाडौं सहर निकै प्रेमिल बनिसकेछ। यतिचाहिँ अनुमान लगाउन सकिन्छ।
कात्तिक २२, २०७७ शनिबार १४:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।