तब बनिन् उनी ‘पत्थर’

तब बनिन् उनी ‘पत्थर’

उमेर सानै थियो। दिदीहरूसँगै विद्यालय जाने क्रममा एउटा खुट्टाको आधा चप्पल छिनियो। कसैले चाल पाएर प्रश्न गरे– एउटा चप्पलको मात्र प्याट्ट प्याट्ट आवाज आइरहेछ, कसको हो? 

समूहमा हिँडिडिरहेका सबैले एक अर्काको खुट्टामा हेरे। उनी कसैले चाल नपाउन भनेर पछि पछि हिँडिरहेकी थिइन्। सबैले उनको एउटा खुट्टामा आधा मात्र चप्पल भएको चाल पाएपछि धुरुधुरु रोइन् उनी। त्यो कुरा थाहा पाएर बुबाले भोलिपल्ट सत्ती बजारमा पुगी किनेर ल्याइदिए नयाँ हवाइ चप्पल।

ती हवाइ चप्पलको खुब माया लाग्छ, निकै याद आउँछ उनलाई अचेल पनि। बाल्यकालको एक अविष्मरणीय पल बन्यो उनको लागि त्यो घटना। उक्त घटनाकी पात्र थिइन्, साहित्यकार ‘श्रेष्ठ प्रियापत्थर’। थुप्रै छन् विगतका स्मरण गर्न योग्यपलहरू जो आलोपालो आइदिन्छन् सम्झनाको गोरेटोमा। 

सुदूरपश्चिमको डोटीको सदरमुकाम सिलगढी बजारमा २०२१ सालमा जन्मेकी ती साहित्यकारको न्वारनको नाम हो हरिप्रिया श्रेष्ठ। नेपाली साहित्यको क्षेत्रमा उनले आफ्नो नामको न्वारन आफै गरिन्। र, लेखिन् ‘श्रेष्ठप्रिया पत्थर’। यही नाम उनको चिनारी बन्नपुग्यो। जतिखेर सुदूरपश्चिममा लेख्ने मान्छेहरू औंलामा गनिने खालका थिए त्यो बेला एउटा भरखर एसएलसी पास गरेकी केटीको नाम पढिन्थ्यो पत्रपत्रिकामा।

त्यो नाम चानचुने नाम नभएर एउटा ‘विद्रोही’ नाम बन्यो। आत्मनिर्णयको गोरेटो खनिरहेको स्वाभिमानी नाम बन्यो। कतिपय महिलाहरूका लागि प्रेरणा अनि आदर्श बन्यो त्यही नाम। त्यति बेलाको प्रशासनको नजरमा आँखाको कसिंगर बनिरह्यो त्यही नाम। 

एक वर्षअघि कैलालीको सदरमुकाम धनगढीको हसनपुरतिर हिँड्दै गर्दा दृष्टि पर्न गएको थियो सानो चिटिक्क परेको एकतले घरको भित्तामा। जसको बाहिरपट्टि लेखिएको छ साहित्य संसार।

हो, त्यही नाम अर्थात तिनै श्रेष्ठ प्रियापत्थरको अक्षरको खेती गर्ने सानो संसार बनेको छ उक्त घर। उनी जागिरबाट अवकाश पाइसकेपछि पछिल्ला दुई/तीन वर्षयता पूर्णरूपेण अक्षरकै खेतीमा तल्लिन देखिन्छिन्।

३७ वर्ष जागिर खाएर कमाएको आफ्नै पैसाले बनाइएको त्यही घरभित्र हो आमा पूर्णकुमारीले जीवनका अन्तिम दिन गनेको। आमाले जीवनको अन्तिम यात्रा गरिसकेपछिका झण्डै दुई वर्ष भावविह्वल भएर बिताइन् उनले। सकिनन् केही लेख्न। चुहाइरहिन प्राय:जसो आँसु । आँसुकै कुरा गर्दा बताउँछिन्– जिन्दगीमा रुनु पनि पर्छ। जिन्दगी भन्नु नै घाम छाया हो। जीवनमा सुख मात्र हुँदैन दुःख पनि हुन्छ। दुःखको क्षणमा मनबाटै पीडा भक्कानिएर आउछ भने आँसुका माध्यमबाट खसाइदिनु पर्छ। मैले पनि बगाउछु आँसु तर एक्लै चुपचाप। कसैलाई थाहा हुँदैन। 

उसै पनि एक्लाएक्लै यात्रारत उनका सोचका पाइलाहरू। अचेल उनका साथी बनेका छन् दराजमा सजाइएका पुस्तकपुस्तिकाहरू। भित्तामा झुण्डिएका विगतका तस्बिर र सम्मानपत्रहरू।  

२०३७ सालमा एसएलसी उत्तीर्ण गरेको वर्ष। त्यही वर्ष राष्ट्रिय वाणिज्य बैंक, सत्ती, कैलालीमा काम गर्न प्रस्ताव आयो घरमा। ज्यालादारीमा सुरु भयो जागिरे जिन्दगी। बैकमा उनले जागिर मात्र पाइनन्, त्यहाँ पढ्न पाइन्– ‘गोरखापत्र’, ‘नयाँ सन्देश’ जस्ता केन्द्रबाट प्रकाशित र धनगढीबाट प्रकाशित ‘खप्तड सन्देश’, ‘सेती समाचार’जस्ता  विभिन्न पत्रपत्रिकाहरू। जहाँ समावेश गरिएका हुन्थे विभिन्न स्रष्टाका साहित्यसम्बन्धी लेख तथा रचनाहरू।

नौ वटै जिल्लाका सबै कार्यालयहरूमा पुग्थे ती पत्रिकाहरू। तिनै पत्रिकाहरूले प्रेरित गरे लेखनमा। जागिरसँगै निरन्तरता पाइरह्यो लेखन कार्यले पनि। पत्रिकामा छापिन थाले उनका पनि लेख तथा रचनाहरू । सँगसँगै सुरु गरिन् ‘खप्तड सन्देश’मा रिपोर्टिङ गर्न पनि।

माध्यमिक तह पूरा गरुन्जेल आधा दर्जन विद्यालय परिवर्तन गरेकी उनले २०३७ सालमा एसएलसी उत्तीर्ण गरिन् बर्दियाको दशरथ माविबाट। जिन्दगीमा थुप्रै विद्यालय फेरेकी पत्थरले सकिनन् साहित्यिक क्षेत्रमा चुर्लुम्म डुबेको मनलाई फेर्न । घरमा आमाबुवाले रामायण र महाभारत पढेको सुनिरहन्थिन्। ती कृतिहरू थिए छन्दमा तर उनी तानिनन् शास्त्रीय छन्दको दुनियामा। छन्दको नाममा गण गणना गर्न र मात्रअनुप्रास मिलाउनु उचित ठानिनन् उनले। तथापि भावपक्ष सशक्त ढंगले उजागार भएका छन्दोवद्व रचनालाई अध्ययन गर्न छाडिनन्। 

गाउँघरमा केही जमिनदारहरू थारूहरूलाई दुःख दिइरहेका हुन्थे। पुलिसहरूको रजाई छुट्टै हुन्थ्यो। ती कुराले दुखाउँथ्यो उनको मनको भित्री पाटो। उनलाई मन लाग्थ्यो- विद्रोह गर्न। र, तिनै विषयमा उनले अनवरत दौडाइरहिन् कलम। प्रकाशित गरिरहिन विसंगति र विकृतिविरुद्ध लेख तथा रचनाहरू।

रिपोर्टिङसमेत गरिन्। सुन्नमा आए अनुसार कैलालीमा पहिलो महिला पत्रकार पनि उनी नै हुन्। ती सबै कुराको जानकारी थियो प्रशासनलाई । र, त उनी परिन् प्रशासनको कालो सूचीमा। जागिर स्थायी हुने क्रममा पुलिस रिपोर्ट चाहिन्थ्यो। स्थायी हुने क्रममा अवरोध बन्ने खालको रिपोर्ट तयार गरिदियो प्रहरी प्रशासनले। पछि बैकका हाकिम स्वयंले प्रहरी प्रशासनलाई कन्भेन्स गरेर दोस्रो रिपोर्ट बनाउन लगाए र बल्ल स्थायी हुन पाइन्। यस्ता समस्याहरू कति आए जिन्दगीमा पर्वाह गरिनन्। आफ्ना सिर्जनामार्फत मात्र औंला उठाइरहिन् अन्याय अत्याचारको विरुद्धमा।

महिलामाथि प्रतिशोध लिन होस् बाहोच्याउन परापूर्व कालदेखि नै उनीहरूको चरित्रमाथि औंला उठाउने काम गरिरह्यो समाजले, समाजका केही निर्दयीमनहरूले। उनको नाममाथि पनि अड्कलबाजी गर्नेको कमी छैन। तर, नबिराउनु, नडराउनु भनेझैं त्यस्ता कुनै कुराको वास्ता गरिनन् उनले। कैयौले अड्कल लगाइरहे बिहे नगरी बस्दाको कारण। ‘काग कराउँदै रहन्छ, पिना सुक्दै रहन्छ’ भनेझैं आफ्नो जागिरे दिनहरू र सिर्जना यात्रामा अनवरत रूपले लागिरहिन उनी।

कसले कसरी बुझे। तर, उनको एक्लो यात्रा र नामको कथा छुट्टै छ। कुराकानीका क्रममा उनले सुनाइन्– मेरो जीवन खुला किताबझैं छ। कसैले अध्ययन गर्न चाहन्छ भने भेटाउने छैन, उनीहरूले अड्कल गरेजस्तो केही कुरा। उनी सुनाउँछिन्- बिहेको प्रस्ताव नआएका हैनन् घरमा तर म बिहेको नाममा कतिपय कुरामा सम्झौता गर्न चाहन्नथेँ।

नामको कुरा छ, त्यतिखेरको पञ्चायती व्यवस्थाविरुद्ध लेख्दा प्रहरी प्रशासनका ज्यादतीदेखि समाजका बेथिति विसंगतिमाथि रिपोर्टिङ गर्दा जागिरमा धक्का पुग्ने कुरालाई मनन् गरी छद्म नाम राखें। त्यतिखेर पत्रिकामा रिपोर्टर, लेखक कसैको फोटो हुँदैन थियो। मात्र नाम छापिन्थ्यो। यसरी छद्म नाम राख्दाको मान्छे हो भन्ने सबैलाई सजिलै थाहाहुँदैन थियो। समाज र व्यवस्थाको अन्याय अत्यायचारविरुद्घ पत्थरझैं कडा र निडर बनेर उभिन खोज्दा चिनारी बनिदियो समाजमा यही नामको। पछि यही नाम स्थापित भैदियो।

निडर हक्की स्वभावकी पत्थरका आँखामा आगो त्यतिबेला बल्छ, जब उनी देख्छिन्, पढ्छिन्, समाजमा गरिब असहायहरूप्रति कसैले गरेको अन्याय तथा अत्याचारका घटना। कथा र कविता लेखनबाट साहित्यिक गोरेटोमा पाइला टेकेकी पत्थर बिस्तारै देखिइन् उपन्यासकार र गजलकारका रूपमा।

२०४० सालमा ‘खप्तड सन्देश’का प्रकाशक तथा सम्पादक जितसिंह भण्डारीले ‘मालिक मजदुर वर्ग समन्वय : एक विवेचना’ शीर्षकको उनको लेख मात्रै छापेनन्, उनलाई त्यसबाफत पुरस्कारस्वरूप दुईवटा साहित्यिक पुस्तक र २०० रूपैयाँ खाममा राखी घरमै पठाइ दिए। जुन जिन्दगीकै अविष्मरणीय पल थियो उनका लागि। जुन उनको साहित्यिक जीवनको पहिलो कमाइ पनि थियो ।

२०४३ सालमा कैलाली जनपुस्तकालयले गद्य र पद्यतर्फ प्रतियोगिता राखेको थियो जहाँ गद्यतर्फ उनी र पद्यतर्फ निर्मलकुमार भण्डारी प्रथम भए। जुन पुरस्कारले पनि थप ऊर्जा थप्यो उनको लेखनमा। अहिले सुदूरपश्चिम विश्वविद्यालयमा स्नातक दोस्रो वर्षमा र मध्यपश्चिम विश्वविद्यालयको स्नातक प्रथम वर्षको पाठ्यक्रममा उनका गजलहरु समावेश गरिएका छन्। थुप्रै छन् जीवनका स्मरणीय पाटाहरू। संघर्षका कथाहरू। जुन आउने छन् दोस्रो लेखमा।

कात्तिक २२, २०७७ शनिबार १०:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।