मिर्जापुर : विश्वास जपेर अविश्वासमा रम्नेको कथा

मिर्जापुर : विश्वास जपेर अविश्वासमा रम्नेको कथा

काठमाडौं : अमेजोन प्राइमबाट अक्टोबर २३ मा रिलिज भएको ‘मिर्जापुर २’को चर्चा पहिलो सिजनभन्दा कम छैन। गुरुमित सिंह र मिहिर देशाईको निर्देशन रहेको ‘मिर्जापुुर २’ले बदलाको कथालाई केन्द्रमा राखेको छ।

उसो त अपराध, अपराधको आडमा राजनीति र राजनीतिको आडमा अपराध ‘मिर्जापुर २’को सिजनभरि देख्न पाइन्छ। यस सिरिजमा पहिलो सिजनभन्दा पात्र विधानमा निकै काम गरेको देख्न सकिन्छ, जसकारण पनि पहिलो सिजन मनपर्नेलाई दोस्रो सिजनले निरास बनाउँदैन। 

मिर्जापुर सिजन २ को समीक्षा गर्नुअघि पहिलो सिजन हेर्नु भएको छैन भने मिर्जापुरको पहिलो सिरिजको थेरै कथा बुझौं। उसो त पहिलो सिजन नहेर्दैमा सिरिज बुझ्न नसकिने भने छैन। दोस्रो सिजनको सुरुवातमा पहिलो सिजनलाई बुझाउने गरि कथाशं प्रस्तुत भएको छ।

तापनि, पहिलो सिजनको कथा थोरै चर्चा गरौं। 

पहिलो सिजनको कथा 

कुर्सी मोहमा लिप्त मुन्ना त्रिपाठीले विवाहमा बेहुलालाई मारेपछि न्याय खोज्दै बेहुलाको परिवार भौतारिन थाल्छ र मिर्जापुरको कथा सुरु हुन्छ। बेहुला पक्षको मुद्दा लिन कसैले नमान्दा खरो न्यायवादी छवि बनाएका रामपन्त पण्डितले उक्त मुद्दा लड्न राजी हुन्छन्। त्यसपछि बाको हिफाजतको लागि राम पन्तका छोराहरू गुड्डु पण्डित र बबलु पण्डित मिर्जापुरका डन कालिन भैयासँग जोडिन पुग्छन्। कालिन भैयाको छोरा मुन्ना त्रिपाठीसँगको मतभेतका कारण कालिन भैया र गुड्डु, बबलुको दुरी बढ्न पुग्छ। बिस्तारै पण्डित परिवार विखण्डन भइसक्छ। 

भूमिगत भएर बसेकै बेला कालिन भैयाको दुश्मन रतिशंकर शुक्लालाई बिनाअनुमति  गु्ड्डुले मारिदिएपछि त्रिपाठी र पण्डित भाइको सम्बन्ध बिग्रन्छ। 

कलेज राजनीतिमा सक्रिय मुन्नाले मन पराएकी स्विटी बिस्तारै गुड्डुसँग नजिक हुन्छिन्। त्यसैबीच, बबलु पनि स्विटीको बहिनीसँग प्रेममा पर्छ। अन्ततः अपराधिक घरानाको कथामा मध्यम वर्गीय पात्रहरूको प्रवेशले कथालाई सशक्त बनाउँदै लान्छ। अपराधिक शक्तिमा रमेको मुन्नाले अफिम व्यापारी लालाको छोरी सबनमको बिहेमा स्विटी, बबलु तथा पेटमा भएको बच्चालाई समेत मार्छ। 

मिर्जापुरमा राज गर्ने अभिलाषा बोकेका पण्डित दाजुभाइको बिछोडसँगै सिजन एक सकिन्छ। 

यस सिजनमा एउटा संयोग के पनि छ भने  सिरिजको सुरुवाती माहोल र अन्तिम माहोल (बिहे)उस्तै उस्तै परिवेशमा छ। यो सिजनमा शक्तिको लागि भरपुर संघर्ष देख्न सकिन्छ। 

अब कुरा गरौं दोस्रो सिजनको।

सिजन दुई सिजन एकको तुलनामा हाराहारीकै छ। सिजन एकमा कार्य व्यापारमा कडा संघर्ष गर्दागर्दै अधुरा रहेका पात्रहरूले सिजन दुईलाई बोकेका छन्। मुख्यतया, सिजन दुईमा  गुड्डु, स्विटीको बहिनी गाजगामिनी गुप्ता, मुन्ना, रतिशंकरको छोरा सरद शुक्ला, जेपी यादव र उसकी पिए, मुकविल र उसको भान्जा तथा विहारका व्यापारी दादाको भूमिका विशेष देखिन्छ। त्यसका अलावा  कालिन भैयाकी श्रीमतीको षड्यन्त्रले  आगामी सिजनलाई झन् रोचक बनाउनेमा दुईमत नहोला। 

यस सिजनमा मुन्ना गोलु र गुड्डुलाई मार्न आतुर देखिन्छ। साथै मुन्नाको कुर्सी मोह यस सिजनमा प्रष्ट देखिएको छ। गुड्डु र गोलुको मिसन त्रिपाठीलाई सक्काएर मिर्जापुरमा राज गर्नु रहेको छ। रतिशंकर शुक्लाका छोरा शरदको मिसन त्रिपाठी र गुड्डुलाई सक्काएर मिर्जापुरमा राज गर्नुरहेको छ। तर, शरदको चरित्रगत दृष्टिकोणबाट राणनीतिकरूपमा असफल देखाउनुमा आगामी सिजनमा शरदबाट सान्तवना लिने निर्देशकको दुरगामी सोचाई हो भन्ने देखिन्छ। 

मिर्जापुरका पुलिस अफिसर मौर्यको चारित्रिक विशेषता साच्चै लोभलाग्दो देखाइएको छ। त्यस्तै, यस सिजनमा थपिएका नयाँ पात्रहरूले सिरिजमा रोमाञ्चकता थप्न कुनै कसुर छाडेका छैनन्। बदलाको कथासँगै मिर्जापुरको यस सिजनमा बफादारीको सीमासमेत देखाइएको छ। शक्ति सञ्चयको कथामा रुमलिएका पात्रहरूको मानसिक द्वन्द्वले कथालाई मजाले कसेको छ। 

पात्रको विकासमा बडो ध्यान पुर्याइएको छ। पात्रहरूको मानसिक विचलनलाई निर्देशकले मजाले उतारेका छन्। विश्वासको नाम जपेर अविश्वासको खेलमा रमिरहेका पात्रहरूको कथा हो मिर्जापुर।

यस सिजनमा उदाएका केही पात्रहरूले दर्शकमा रोमाञ्चकता मात्र प्रवाह गर्दैनन्, अपनत्वसमेत महसुस गराउँछन्। 

मुुख्यमन्त्रीकी विधुवा छोरी माधुरी यादवको उदयले आगामी सिजनमा मुन्नाको कमजोरीलाई छोपी मिर्जापुरमाथि मुन्नाको सपना सञ्चय गर्न मैदानमा उत्रिनेछिन् भनेर  अनुमान गर्न सकिन्छ। यस सिजनमा पहिलो सिजन जस्तै बिम्ब र प्रतीकहरूको निर्देशकले भरपुर प्रयोग गरेका छन्। पहिलो सिजनभन्दा राम्रो यस सिजनमा सिजिआई (भियफएक्स) राम्रो देख्न सकिन्छ। 

पात्रहरूको एकअर्कासँगको कार्यव्यापारले दर्शकलाई कौतुहलता जगाई मात्रै राख्दैन, अपराधीभित्र पनि मानवता हुुन्छ भनेर सिरिजले दर्शकलाई विश्वास दिलाउँछ। त्यस्तै, गुड्डुको चरित्रमाथि लेखकको निकै आत्मीयता देखिन्छ। पटकथामा निकै मेहनत गरिएको कारण पनि सबै पात्रहरूको उपस्थिति र कार्य व्यापार स्वभाविकरूपमा प्रस्तुत भएको छ। पात्रहरू कार्य व्यापारमा निकै खरोरूपमा उत्रिएका छन्।  

अघिल्लो सिजनमा कम महत्त्वमा परेको धेरै पात्रहरू यस सिजनमा सशक्त भएर उदाएका छन्। त्यस्तै, विहारका व्यापारी दादा र उनका दुई भाइको उदयले कथामा अर्को मोड लिएको छ। दादाका जुडुवा छोराहरू देखाउनुको त्यति अर्थ देखिँदैन। गोलुको चरित्रलाई बोल्ड देखाउनको लागि मात्र जुडुवा खडा गरेका हुन् कि झै लाग्छ। उसो त सिरिजको अन्तमा जुडुवामध्येका कान्छा जो गोलुलाई प्रेम गर्छ, उसलाई द्वन्द्वमा पारी रहस्यमय राखिएको छ। यसलाई निर्देशकले एउटा हुकको रूपमा प्रयोग गरेका छन् भन्न सकिन्छ। 

देख्दा घरानिया देखिने परिवारभित्र नारीको भूमिका कस्तो र कति प्रभावहिन छ भन्ने पनि यस सिरिजले देखाएको छ। सम्बन्ध पैसा भएको ठाउँमा हुँदैन भनेर सन्देश पनि यस सिरिजले दिएको छ। अपराधिक मानसिकताले  युक्त घर र मानिसबाट नारीहरू कसरी शोषित भइरहेका छन्। र, उनीहरूले त्यसविरुद्ध कसरी कार्यव्यापार गर्न आवश्यकता छ भन्ने कुरा जेपी यादव र  कालिन भैयाका पिताविरुद्ध चित्रित घटनाले देखाएको छ। सिरिजले गोलुलाई नयाँ डनको रूपमा स्थापित गरेको छ। त्यसले आगामी सिजनमा दर्शकलाई निकै रोमाञ्चकता प्रदान गर्ने छ भन्ने आश गर्न सकिन्छ। 

त्यस्तै, यस सिजन नयाँ पात्र रोबिनको प्रेममा समपर्णले पनि दर्शकको मनलाई छुन्छ। मुन्ना र माधुरीको प्रेम विकासको चरणले दर्शकमा नारी क्षमताको आभास गराउन सक्छ।

वजनदार संवादको वर्चश्व भएको मिर्जापुर १० एपिसोडको छ। करिब ९ घण्टा लामो सिरिजले दर्शकलाई खिचेर राख्ने क्षमता राख्छ। 
पेशापुस्ता हस्तान्तरणको कथामा उठेको मिर्जापुरमा कथ्थ शैलीका शब्द समायोजन  छ भने अश्लील गालीहरूको कमी छैन। त्यस्तै, यस सिजनमा राजनीतिको प्रवेशले बिस्तारै सिजन एकले कमाएको दर्शकलाई  भाड्ने पो हो कि भन्ने शंका पनि उठाएको छ। तर, निर्देशकले राजनीतिलाई कथामा सहज किसिमले प्रस्तुत गर्न खोजेका छन्।  

अपराधिक कथा भन्दै गर्दा मिर्जापुरले धेरै प्रेरणदायी घटना र दृष्यलाई पनि समावेश  गरेको छ। उसो त दृष्य समायोजनमा निकै ख्याल राखिएको छ। त्यस्तै, रंग समायोजनमा पनि राम्रो काम देख्न सकिन्छ। प्रकाश समायोजनमा पनि ठिकैको काम देख्न सकिन्छ। ध्वनि समायोजन पनि मिर्जापुरको अर्को राम्रो पाटो हो। यस सिजनमा एक गीतसमेत समावेश छ। 

सम्बन्धको महत्त्व दर्शाउन सक्षम यस सिरिजमा प्रेम, दया, करुण, कपट र  बफादारी सहितका पात्रले हाम्रो समाजमा  चलिरहेका अपराधिक रुमानी संसारको रूपलाई आर्थिक, भौतिक, नैतिक, सामाजिक, मनोवैज्ञानिक लगायतका तत्त्वको सही प्रयोग गराउँदै दर्शकलाई कथामा अपनत्व भरपुर दिएको छ। सिरिजमा यौन विशिष्ठ ढंगले प्रस्तुत गरिनु यस वेब सिरिजको अर्को सकारात्मक पक्ष हो। 
एक्सन, क्राइम र थ्रिलर पटकथा लेख्न चाहनेलाई कथा कसरी बुन्नुपर्छ भन्ने यस सिरिजले सिकाउन सक्छ। तर, त्यसो भन्दैमा त्यस जेनेराको संसारकै उत्कृष्ट वेब सिरिजको स्क्रिप्ट हो भन्ने अर्थ भने होइन। 

निर्देशकीय कार्य नियन्त्रण सबल भएका कारण यस सिरिजमा समावेश दृश्यहरूको  कम्पोजिसन र मर्म सरल रहेको बुझ्न सकिन्छ। तर, कतै–कतै दृश्य तथा बिम्बको लाक्षणिकतासँग मेल नभएको हो कि झै पनि  यस सिरिज हेरिरहँदा अनुभव हुन्छ। 

सिनेमाटोग्राफीमा अचम्मको नयाँ प्रयोग केही नभए पनि सरस तवरले दृश्य बगेको छ। लोकेसनको प्रयोगलाई महत्त्व दिए पनि कतै कतै भने लोकेसनमा कारण दृश्यको गहिराईमा अवरोध भयको भान पनि सिरिज हेरि सक्दा हुन सक्छ। पात्रहरूको उठान र बैठान स्वभाविक हुनुका साथै चरित्र प्रष्ट देखिएको छ, जसकारण कथा बुझ्न दर्शकलाई धेरै सजिलो हुने छ।

अपराधिक दुनियाको नालीबेलीसहित चिरफार गरेको मिर्र्जापुरमा स–साना कमजोरी छैनन् भन्ने होइन। तथापि एक्सन, क्राइम थ्रिलर मिश्रित मिर्जापुरले दर्शकलाई निराश बनाउँदैन। तर, तपाईं धार्मिक प्रवृत्तिको ज्ञानज्ञुणले भरिएको खुराकयुक्त वेब सिरिजको चाहना राख्नुहुन्छ भने यो तपाईंको लागि नहुन सक्छ। किनकी यस सिरिजभरि अविश्वास, शक्ति सञ्चयको लडाइँ, यौन, अश्लीलता, हिंसात्मक गतिविधि लगायतका अपराधिक, असाजिक तथा अपाच्य हुन सक्ने धेरै तत्त्वहरु यस सिरिजमा समावेश छ।  

यस सिजनले मानिसले शक्ति प्राप्त गर्नको लागि कुन तहसम्म अपराध गर्न सक्छ भन्ने देखाएको छ। अपराध, अपराधीको शुक्ष्म तवरले मनोगत चिरफर गरेको मिर्जापुर दुईलाई अपराधको शुक्ष्मदर्शक यन्त्र भन्दा पनि फरक पर्दैन। 

सबै कलाकारको राम्रो अभिनय रहेको मिर्जापुर भारतीय वेब सिरिजमा अब्बल सिरिज हो भन्न सकिन्छ। 

त्रिपाठी परिवारको विनाशमा घुमेको यस सिजनले आफ्नो मिसन पूरा गरेसँगै, शरदको हातमा कालिन भैया जिउँदो रहनुले अब मिर्जापुर गुड्डु, गोलु को कि शरदको भन्ने प्रश्न उब्जाएको छ। यसको उत्तर हामीले सिजन तीनमा पाउने छौं। त्यतिञ्जेललाई  मिर्जापुर कसको होला भनेर अनुमान गर्दा गरौं। 

कात्तिक २२, २०७७ शनिबार ०३:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।