मनोज गजुरेलकी पूर्वपत्नी मीनाको मार्मिक प्रेमपत्र
काठमाडौं : हास्य कलाकार मनोज गजुरेल कोरोना भाइरस (कोभिड-१९) संक्रमणले गम्भीर बिरामी भएको खबरले धेरैलाई दुःखी तुल्याएको छ।
गजुरेलको आइसियुमा राखेर उपचार भइरहेको समाचार सार्वजनिक भएपछि स्वास्थ्यलाभको कामना गर्दै उनका शुभचिन्तकका सामाजिक सञ्जालका वालहरु रंगिएका छन्।
गजुरेल बिरामी भएको खबरले धेरै शुभचिन्तकलाई जस्तै उनकी पूर्वपत्नी मीना ढकाललाई पनि निकै पिरोलेको छ। मीनाले आफ्नो फेसबुकवालमा लामो स्टाटस लेख्दै मनोजको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्। मनोजको आइसियुमा उपचार भइरहेको खबरले आफू विछिप्त भएको मीनाले लेखेकी छन्।
यस्तो छ मीनाको स्टाटस
जिन्दगीले जुनसुकै मोड अख्तियार गरेको भए पनि तिमी कुनै समयको मेरो प्रेमी थियौं। मेरो आफ्नै जन्मदातालाई भन्दा बढी प्रेम तिमीलाई गरेरै तिमीसँग एकाकार भएकी थिएँ। हामी एक भएका थियौं र म परम्परा अनुसार तिम्रो सिन्दूरको ऋणी भएकी थिएँ।
तिम्रो सेवालाई मेरो परम धर्म ठानेर तिमीसँंग मैले जीवनका बीसौं वर्ष पार गरेकी छु। तिम्रो र मेरो आत्मीयताका साक्षी दुई प्राण छोरा र छोरी जन्माएकी छु। केही अपवादलाई बाहिर राखेर र मेरा केही खुसीहरूको गला रेटेरै पनि मैले तिमीलाई मेरो सिंगो जिन्दगी अर्पण गरेकी थिएँ।
भलै समयले तिम्रो र मेरो बीचमा दूरी ल्यायो होला फेरि पनि मेरा दुई सन्तानको जन्मदाताका रुपमा आज पनि म तिमीलाई उत्तिकै सम्मान गर्छु र माया गर्छु। आज तिमी आइसियुमा उपचाररत छौं भन्ने समाचारले मलाई विक्षिप्त बनायो। जतिसुकै मनमुटाव भएको भए पनि तिमी सिकिस्त भएको म सहन नसक्ने नै रहेछु। आज महसुस भइरहेछ।
म तिम्रो सुस्वास्थ्यका लागि भगवानसँग प्रार्थना गर्छु। तिम्रो जीवनसँग मेरा दुई सन्तान पनि जोडिएका छन्। तिमी ठिक छौं र त उनीहरू ढुक्क छन्, सुरक्षित छन्। छुट्टै भए पनि, टाढै भए पनि तिम्रो सलामतीले मात्रै मेरा सन्तान सलामत छन्, म यो रियलाइज गरिरहेछु। मेरो प्रार्थना सुन्छन् भगवानले। तिमी छिट्टै अस्पतालबाट डिस्चार्ज हुनेछौं र बाबु–नानीको सामीप्यमा पुग्ने छौं भन्ने आशामा छु।
मनोज गजुरेल, तिमी छिट्टै हार मान्ने मान्छे होइनौ- मैले बीसौं तीजका निराहार व्रत बसेकी छु तिम्रा लागि। आज पनि तिम्रो दीर्घायुको कामना गर्न छोडेकी छैन। छोराछोरी तिम्रो प्रतीक्षामा छन्...। तिमी र मबीच जस्तासुकै व्यावहारिक बेमेल भए पनि तिम्रो जीवन मेरा लागि महत्त्वपूर्ण छ। हार नमानिदेऊ। छिट्टै रिकभर भएर घर पुगेको देख्न पाऊँ !
उही तिमीलाई आयुष्मान देख्न चाहने तिम्री पूर्वअर्धाङ्गिनी !
कात्तिक २१, २०७७ शुक्रबार १९:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।