तीन महिनामा सवा अर्बको प्याज आयात, निर्यात शून्य  

तीन महिनामा सवा अर्बको प्याज आयात, निर्यात शून्य  

काठमाडौं : नेपालमा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सवा एक अर्ब रूपैयाँको प्याज आयात भएको छ।

भन्सार विभागका अनुसार चालु वर्षको साउनदेखि असोज मसान्तसम्म नेपालमा १ अर्ब २४ करोड ९६ लाख रूपैयाँ बराबरको प्याज आयात भएको छ। उक्त अवधिमा भारतबाट १ अर्ब २४ करोड २१ लाख र चीनबाट ७५ लाख २७ हजार रूपैयाँको प्याज आयात भएको विभागले जनाएको छ। 

जसमा ६५ करोड ७१ लाख रूपैयाँ बराबरको हरियो प्याज तथा छ्यापी र ५९ करोड १६ लाख हजार रूपैयाँको सुकेको प्याज आयात भएको छ।

विभागको तथ्यांकमा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा प्याज निर्यात भएको देखिँदैन। 

गत आर्थिक वर्षमा देशभर ४ अर्ब २२ करोड ४६ लाखको प्याज आयात भएको थियो। उक्त अवधिमा १ करोड ५० लाख ३५ हजार रूपैयाँको प्याज निर्यात भएको थियो। 
विभागका अनुसार गत आर्थिक वर्षमा भारतमा १ करोड ५० लाख ५ हजार, कतारमा २२ हजार ५ सय, सिंगापुरमा ९ हजार १ सय र ओमनमा ३ हजार ८ सय रूपैयाँको प्याज निर्यात भएको थियो। 
यस्तै, आर्थिक वर्ष २०७५÷०७६ मा ५ अर्ब ६२ करोड २५ लाख रूपैयाँको प्याज (हरियो र सुकेको) आयात भएको थियो। यस्तै, नेपालबाट एक करोड ६८ लाख रूपैयाँकोे प्याज निर्यात भएको थियो।  
३३ लाखको बीउ आयात 
चालु आर्थिक वर्षको तीन महिनामा ३३ लाखको बीउ आयात भएको छ। 
विभागका अनुसार भारत, जापान र दक्षिण अफ्रिकाबाट ३३ लाख १९ हजार रूपैयाँको प्याजको बीउ आयात भएको हो। 
तराईंका १० स्थानीय तहमा प्याज खेती कार्यक्रम
देशमा प्याज उत्पादन बढाउन तराईका १० जिल्लाका १० स्थानीय तहमा प्याज खेती अनुदानको कार्यक्रम सञ्चालन गरिएको छ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका, सिराहाको कल्याणपुर नगरपालिका, सर्लाहीको लालबन्दी नगरपालिका, रौतहटको गरुडा नगरपालिका, बाराको वर्ण गाउँपालिका, पर्साको बहुदरमाई नगरपालिका, रूपन्देहीको मर्चवारी गाउँपालिका, कपिलवस्तुको कपिलवस्तु नगरपालिका, बाँकेको जानकी गाउँपालिका र बर्दियाको ठाकुरबाबा नगरपालिकामा सरकारको अनुदानमा प्याज खेती हुँदै आएको छ। 
ती क्षेत्रमा प्याज उत्पादन राम्रो हुने भएकाले कार्यक्रम सञ्चालन गरिएको हो।
राष्ट्रिय आलु, तरकारी तथा मसला विकास केन्द्रका सहायक सूचना अधिकारी सन्दीप सुवेदीका अनुसार नेपालमा वार्षिक तीन लाख मेट्रिक टन प्याज उत्पादन हुने गरेको छ। उनका अनुसार देशभर करिव ३ हजार हेक्टर जमिनमा प्याज खेती हुन्छ। 

कात्तिक २१, २०७७ शुक्रबार १४:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।