निःशुल्क खाना : अभियन्ताहरूको स्वार्थ बाझिँदै
कोरोना महामारी सुरु भएलगत्तै बब्लु गुप्ताको संयोजकत्वको ‘१०० ग्रुप’ले काठमाडौं, अनामनगर हुँदै रत्नपार्कमा निःशुल्क खाना अभियान सुरु गरेको थियो। बिस्तारै खाना खानेहरूको संख्या बढ्दै गयो र सँगसँगै विभिन्न ग्रुप तथा संस्थाहरू पनि १०० ग्रुपसँगको सहकार्यमा सामेल हुँदै गए।
‘हामीले साथीभाइसँग उठाएर १६ हजार रूपैयाँ जम्मा गर्यों र त्यही रकमले निःशुल्क खाना अभियान सञ्चालन गर्यों,’ गुप्ता भन्छन्, ‘पछि साथीहरू थपिँदै जानुभयो, निःशुल्क भोजनमा सहभागी हुनेहरूको संख्या पनि बढ्दै गयो।’
पछिल्लो समय खाना खुवाउने अभियन्ताबीच सहकार्यको कमी देखियो। त्यसपछि काठमाडौं महानगरपालिकाले हस्तक्षेप गर्दै आएको छ। अभियन्ताहरूले खाना खुवाउने रत्नपार्क लगायतका स्थानमा फोहोर भएको औल्याउँदै महानगरले पार्टी प्यालेसमा खाना खुवाउन पर्ने उर्दी जारी गरेको छ। महानगको हस्तक्षेपका पछाडि अभियन्ताहरूको स्वास्थ्य प्रमुख कारक देखिन्छ।
‘महाननगरले यतिका लामो समयसम्म पक्कै नदेखेको त थिएन। खाना खुवाउने अभियानमा महानगर सहयोगी नै थियो। राम्रो कामलाई त्यतिकै त कसले रोक्छ र ?’ गुप्ता भन्छन्।
राम्रो कामको आडमा गलत मनाशाय राख्नेहरूका कारण निमुखाहरूलाई समस्या थपिएको गुप्ता बताउँछन्। ‘बिस्तारै धेरै व्यति तथा संस्थाको साथ, सहयोग र विश्वास हामीमा रह्यो,’ उनी थप्छन्, ‘हामीले निःस्वार्थ भएर काम गर्याैं। हामीसँग जोडिन आउने धेरै स्वार्थ लिएर आए।’
अभियन्ताको जुँगाको लडाइँ
सुरुमा अभियन्ताकहरूको छवि बनाएको १०० ग्रुपलाई धेरैले विश्वास गरे, नेपालसँगै विदेशबाट सहयोग पनि ओइरियो। १०० ग्रुपले राष्ट्रिय, अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्था तथा देशविदेशमा रहेका सहयोगी नेपालीको सहयोग पाएपछि रत्नपार्क, पशुपति, जडीबुटी लगायतका स्थानमा खाना खुवाउन थाल्यो।
यसैबीच, १०० ग्रुपका संस्थापकमध्येका बिमल पन्तको समूहले छुट्टिएर खाना खुवाउन थाल्यो।
उक्त ग्रुपका रत्कपार्क संयोजक अन्शु यादवसँगको मनमुटावका कारण बिमल समूहको ‘हाम्रो टिम नेपाल’ले बिहान ९ बजे खाना खुवाउन थाल्यो। ‘हामीले मान्छेको आवाश्यकता हेरेर बिहान खाना खुवाउन थालेका हौं,’ पन्तले भने।
अभियन्ताहरूबीच एकले अर्काको अस्तित्व स्वीकार्न नसकेकै कारण निःशुल्क भोजन अभियानमा उल्झन आएको पन्तको बुझाइ छ।
‘हामी सबै यस्तो महामारीको बेला कसैलाई देखाउन, रमाइलो गर्न, कमाउनको लागि काम गरिरहेका छैनौं,’ पन्त भन्छन्, ‘सामाजिक काम पुन्यको काम हो। हामी सबैले एक अर्काको अस्तित्व स्वीकार गर्न नसक्दा टोलीहरू बढ्न थाले। त्यसले भीडभाड बढायो। अनि महानगरले एक्सन लिएको हुनसक्छ।’
१०० ग्रुपमा पारदर्शिता नभएको कारण देखाउँदै बिमल समूहले छुट्टै निःशुल्क खाना अभियान संचालन गरेको बताइएको थियो। निःशुल्क भोजन अभियन्ता विभाजित भएपछि खाना खुवाउने समयमा परिवर्तन गरियो। बिहान ९ बजे ‘हाम्रो टिम नेपाल’, मध्यह्यान १२ बजे अन्शु यादव समूह, बेलुका ४ बजे ‘१०० ग्रुप’ले निःशुल्क खाना खुवाउने पालो बसाइयो।
उता एलाएन्स क्लब अफ, काठमाडौं न्यु ग्रीन सिटीले २ बजे खाना लिएर रत्नपार्क आउन थाल्यो। यसबाहेक विभिन्न आगन्तुक संस्थाहरू पनि खानाका डेक्ची बोकेर रत्पपार्क लगायतका स्थानमा उत्रिए। पछिल्ला केही दिनयता रत्नपार्कमा दैनिक ५ पटकसम्म खाना खुवाउन थालियो।
सुरुमा १०० ग्रुपलाई नै सहयोग गर्दै आएको लायन्स क्लबले आफ्नो अस्तित्व नदेखिको भन्दै छुट्टै खाना खुवाउन थाल्यो। लायन्स क्लबसँग मानवी क्रियटिभ एसोसिएसन, सेफ नेपाललगायत १० वटा संस्था सहभागी छन्।
सस्तो लोकप्रियता र शक्ति प्रदर्शन
दिउँसो २ बजेको खाना आयोजना गर्ने लायन्स क्लबले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई अतिथिका रूपमा खुलामञ्चमा ल्याएपछि अभियन्ताहरूको शक्ति प्रदर्शनको बिजारोपण भयो। त्यसपछि सबै समूहले आफू निकट विशिष्ट व्यतिहरूलाई खुलामञ्चमा बोलाएर डाडुपुन्यु चलाउन लगाए। अतिथिहरूले सरकारको आलोचना र अभियन्ताहरूको प्रशस्ती गाए।
‘हामीले बोलाएका अतिथिहरूले सरकारलाई गाली गर्दिन्छन्। सरकार पक्षसँग जोडिएका अतिथि खुलामञ्च आउँदैनन्,’ दिउँसो २ बजेको खाना टोलीको नेतृत्व गरिरहेका इन्द्र कार्की भन्छन्, ‘काम गर्नेले आफ्नो लोकप्रियता खोज्छ नै, ठूला मान्छे ल्याउँदा चर्चा बढी हुने भएका कारण सबै समूहमा ठूला मान्छे ल्याउने प्रतिस्पर्धा चल्यो।’
अभियन्ता पन्त समाजसेवामा राजनीतिकरण हुन नहुने बताउँछन्। ‘यस्तो महामारीमा जोखिम मोलेर लोकप्रियता खोज्न पुन्यको काममा बदमासी हो,’ पन्त भन्छन्।
शक्ति तथा लोकप्रियता प्रदर्शनमा युट्युब, फेसबुक जस्ता सामाजिक सञ्जालको सहारा लिन खोज्दा अभियन्ताहरू मारमा परेको उनको भनाइ छ। ‘सबैलाई लोकप्रिय हुन हतारो छ,’ १०० ग्रुपका दिपेश धुन्चु भन्छन्, ‘एक दिन आएर पूरा क्रेडिड लिने ?’
फोटोको राजनीति गर्नेहरूका कारण १०० ग्रुप पनि बदनाम हुन पुगेको उनको बुझाई छ। ‘जनताले आफै थाहा पाइहाल्छन्,’ धुन्चु भन्छन्, ‘हामीले लोकप्रियता खोज्दै मिडियाबाजी गरेनौं, जनताले विश्वास गरिरहेका छन्।’
पाएपछि माम किन चाहियो काम ?
निःशुल्क भोजन पाएपछि धेरै पटकसम्म एकै खाले मान्छेले लाभ उठाउने हुँदा उनीहरूमा रोजगारीप्रतिको मोह कम भएको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य बताउँछन्। ‘न्यून आय भएकाहरूलाई भोकै राख्नुपर्छ भन्ने होइन। तर, सित्तैमा खाना खान पाउँदा ती मानिसहरूले काम नगर्ने भए।’
नागरिकलाई खानामा परजीवि बन्नुभन्दा पनि स्वरोजगार बन्न प्रेरणा मिलोस् भनेर महानगरले ‘काम अनि माम’को अवधारणा अघि सारेको शाक्य बताउँछन्।
अभियन्ता गुप्ता पनि खानाको साथसाथै कामको पनि व्यवस्था गर्नेबारे १०० ग्रुपले सोचिरहेको बताउँछन्। ‘हामीले पशुपतिमा भात खाने एक भाइलाई स्वयंसेवक बनाएका छौं। अरुलाई पनि कामको बन्दोबस्त गर्न सकिन्छ कि भन्नेबारे सोचिरहेका छौं,’ गुप्ता थप्छन्, ‘हाम्रो मिसन आत्मनिर्भर बनाउ भन्ने हो।’
महानगरको राजनीति
निःशुल्क भोजन खानेहरू कति छन् ? कुन संस्थाले कसरी काम गर्देछन् ? कुन संस्थाले कहाँबाट कति पैसा पाएका छन्, उठाएका छन् ? महानगरसँग यकिन तथ्यांक छैन।
महानगरले प्रेस विज्ञप्ती जारी गर्दै अभियन्तालाई धन्यवाद मात्र दिएर आफू समन्वय गर्न इच्छुक रहेको बताएको छ। महानगर नजिकैको खुलामञ्चमा सरकार विरोधी आवाजहरू बाक्लिन थालेपछि महानगर फोहोर भएको र भीडभाडको बढेको कारण देखाउँदै नियन्त्रणकारी नीति लिएर अघि सरेको छ।
‘खाना बाँच्नको लागि हो। तिहारपछि सार्वजनिक स्थानमा नभएर पार्टी प्यालेसमा भोजन सेवा गर्नु, महानगरले पार्टी प्यालेसको खर्च बेहोर्छ भनेको छु,’ मेयर शाक्य थन्छन्, ‘हामीले नै खुवाउने हो भने झन् बढी खर्च लाग्छ, अभियन्ता साथीहरूसँग हिजो पनि सहकार्य थियो, भोलि पनि रहन्छ।’
‘विदेशमा हुनेलाई फोटो देखाएर पैसा कमाउने गलत तरिका बढिरहेकाले हामीले सार्वजानिक स्थानमा खाना नखुवाउन भनेका हौं,’ शाक्य भन्छन्, ‘निःस्वार्थ भावले काम गर्दै आएका अभियन्ताबीच खानामा राजनीति भएको छ।’
कात्तिक २१, २०७७ शुक्रबार ०९:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।