मोरङमा मनमोहन पार्क र संग्रहालय 

मोरङमा मनमोहन पार्क र संग्रहालय 
मनमोहन मेमोरियल पार्कको स्केच।

मनमोहन मेमोरियल पोलिटेक्निक कलेजलाई पर्यटकीय स्थलका रूपमासमेत विकास गर्ने उद्देश्यले पार्क निर्माण थालिएको हो। कलेज परिसरसँगै पूर्वपट्टी पार्क निर्माण सुरु गरिएको हो।

चालु आर्थिक वर्षमा पहिलो चरणको निर्माण सकेर पार्क सञ्चालनमा ल्याउने योजना रहे पनि कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारीका कारण समयमै काम सम्पन्न नभएको कलेजका सूचना अधिकारी सत्यनारायण चौधरीले जानकारी दिए। ‘कोरोना महामारीका कारण पार्क र संग्रहालय निर्माणमा अवरोध मात्रै नभएर बजेटसमेत कटौती भएको छ,’ उनले भने। 

करिब ६ बिघा क्षेत्रफलमा निर्माण थालिएको पार्कमा स्वास्थ्य र खेलकुदसम्बन्धी विभिन्न खाले सामग्रीहरू पनि समावेश गरिने छ। यसका साथै मैथिली र मोरङे थारूहरूको संस्कृति झल्कने सामग्रीहरूको संग्राहलय पनि राखिने छ।

संग्रहालयमा मनमोहन अधिकारी सम्बन्धी सामग्रीहरू पनि राखिने चौधरीले जानकारी दिए। उनले भने, ‘सांस्कृतिक संग्रहालयसँगै मनमोहन संग्रहालय पनि बनाउने योजना छ।’ 

पार्कमा फिटनेस क्लब, लङ टेनिस, फुटसल, ब्याडमिण्टन लगायतका खेल खेल्ने स्थल पनि निर्माण गरिने छ। बालबालिकाका लागि छुट्टै चिल्ड्रेन पार्क पनि बनाउने पोलिटेक्निकल कलेजको योजना छ। पार्कमा रहेको पोखरीमा वोटिङको व्यवस्था पनि गरिने छ।

पार्कमा कम्युनिस्ट नेता मनमोहन अधिकारीका विषयमा खोज तथा अनुसन्धान गर्ने अनुसन्धाताहरूका लागि आवश्यक पर्ने सबै खाले पुस्तक तथा अधिकारीका जीवनका विभिन्न घटनाक्रमहरू झल्कने तस्बिरहरू पनि संग्रहालयका रूपमा राखिने छ। 

मनमोहन अधिकारीका विषयमा जान्न चाहने जोसुकैले पनि संग्रहालयबाट लाभ पाउन सक्नेछन्। मनमोहन संग्राहलयका लागि ४४ लाख रूपैयाँ खर्च गर्ने तयारी पोलिटेक्निकले गरेको छ। ‘सांस्कृतिक संग्रहालय र मनमोहन संग्रहालयका लागि सामग्रीहरू संकलन थालिसकिएको छ,’ सूचना अधिकारी चौधरीले भने। 

पार्कको एक स्थानमा विज्ञान पार्क पनि निर्माण गर्ने योजना पोलिटेक्निकको छ। मोरङको बुढीगंगा-४ स्थित पोलिटेक्निकल कलेज २१ बिघा क्षेत्रफलमा फैलिएको छ। कलेजले सिटिइभिटीअन्तर्गत रहेर विभिन्न सीपमूलक तालिमहरूका साथै इन्जिनियरिङका कोर्सहरूसमेत सञ्चालन गर्दै आएको छ।

विराटनगर महानगरपालिका नजिकै रहेकाले शान्त वातावरणमा रमाउन चाहनेहरूका लागि पार्क फुर्सदको समय बिताउन, ज्ञान आर्जन गर्न, खेलकुद र मनोरञ्जनका लागि उपयोगी हुने विश्वास लिइएको छ। 

मनमोहन मेमोरियल पोलिटेक्निक कलेजलाई प्रदेश १ सरकारले मनमोहन मेमोरियल प्राविधिक विश्वविद्यालय बनाउने तयारी  गरेको  छ। मनमोहन पोलिटेक्निक विश्वविद्यालयमा परिणत भए पनि पार्क र संग्रहालय निर्माण तथा सञ्चालनमा अवरोध नहुने पोलिटेक्निकको दाबी छ।

कात्तिक २१, २०७७ शुक्रबार ०१:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।