‘टुप्पीमात्रै बाँधिएको’ नेकपा

‘टुप्पीमात्रै बाँधिएको’ नेकपा

दुई जना व्यक्तिको टुप्पी मात्रै बाँधेर राखिदिएको भने के होला? कसैले सोध्यो भने यसको उत्तर हुन्छ– कि टुप्पी खोलेर छुट्टिनुपर्यो कि त टुप्पी चुटाउनुपर्यो।

दुईवटा शरीरलाई एउटा बनाउन त सम्भव छैन। दुईवटा ज्यानको शारीरिक तथा मानसिक संरचना नै फरक हुन्छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा यस्तै भएको छ। 

राजनीतिक विश्लेषकका अनुसार पार्टी एकता भए पनि नेकपाको शीरदेखि पाउनसम्म फरक छ। पूर्वएमाले र पूर्वमाओवादी नामका दुईवटा शरीर छन्। मन पनि दुईवटै छन्। तर, टाउकामाथि टुप्पी भने बाँधेर नेकपा बनेको छ। 
राजनीतिक विश्लेषक श्याम श्रेष्ठ नेकपालाई टुप्पीमात्रै बाँधेर एकता गरेको पार्टीको संज्ञा दिन्छन्। ‘नेकपा नामको पार्टीको टाउको अलग्गै छ। शरीर पनि अलग्गै छ,’ उनी भन्छन्, ‘खुट्टा पनि अलग्गै छ। टुप्पी मात्रै बाँधिएको छ। यसैलाई पार्टी एकता भनिएको छ।’ 

टुप्पी जतिखेर पनि चुटिन सक्ने श्रेष्ठको विश्लेषण छ। उनी टुप्पी चुटिनेबित्तिकै नेकपा फुट्ने विश्लेषण गर्छन्। पार्टीका सीमित नेताको भागभण्डा नमिल्दा टुप्पी जतिखेर पनि चुटिने राजनीतिक विश्लेषकको तर्क छ। 

राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनाल पनि नेकपाको एकताको औचित्य सकिएको तर्क गर्छन्।  खनालले भने, ‘नेकपाको एकताको भ्रम टुटेजस्तो लाग्छ।’ 

खनालका अनुसार चिराचिरा परेको नेकपा जोडिन सक्दैन। लामो समयसम्म नेकपा एकता कायम हुन नसक्ने र कायम भइहाले पनि जताततै भ्वाङ पर्ने उनी बताउँछन्। 

द्वन्द्वको मूल जरो 

नेकपाको आन्तरिक द्वन्द्वको मूल जरो नै सत्ता साझेदारी रहेको राजनीतिक विश्लेषक बताउँछन्। विश्लेषकका अनुसार नेकपाका वर्तमान पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भागभण्डाको कपाली तमसुक भएको थियो। त्यो तमसुक बाहिरिनुले यी दुई नेताबीचको भागभण्डा नमिलेकाले नै ओली र दाहालबीच द्वन्द्व चर्किएको हो। 

सत्ताको भागभण्डा नमिल्नु नै नेकपाको द्वन्द्वको जरो रहेको विश्लेषक श्रेष्ठ बताउँछन्। उनी कुनै विचार तथा सिद्धान्तका जगमा पार्टी एकता नभएकाले नेकपामा द्वन्द्व चर्किने गरेको तर्क गर्छन्। श्रेष्ठले भने, ‘कुर्सी बाँडफाँडको जगमा नेकपाको एकता भयो। अहिले कुर्सी बाँडफाँड ठिकसँग नहुँदा द्वन्द्व चर्कियो।’  

प्रधानमन्त्री ओलीको भागमा बरफ र दाहाल–नेपाल पक्षको भागमा सिन्कैसिन्का परेकाको महसुस भएकाले नेकपामा भागभण्डाको असन्तुष्टि भएको श्रेष्ठको विश्लेषण छ। उनी पार्टी फुटेको घोषणा गर्न मात्रै बाँकी रहेको तर्क गर्छन्।  

त्यसो त नेकपा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य (सांसद्) विशाल भट्टराई पनि नेकपाको विवाद गम्भीर मोडमा नै पुगेको बताउँछन्। सांसद भट्टराई दाहाल पक्षले ओलीलाई सुरुदेखि नै असहयोग गरेको तर्क गर्छन्। जसरी पनि ओलीलाई बदनाम गराउने दाहालको खेल रहेको उनको आरोप छ। पछिल्लो समयमा कालापानी, लिपुलेक र लिम्पियाधुरा ओली सरकारले फिर्ता गर्ने भयो भने पनि त्यसको जस ओलीले पाउने देखेर दाहाल आत्तिएको भट्टराईको तर्क छ। भट्टराईले भने, ‘प्रधानमन्त्रीलाई अप्ठेरो पार्ने गरि  अगाडि बढेपछि उहाँ (प्रधानमन्त्री)ले पनि प्रतिरक्षाको उपाय खोज्नै पर्यो।’ 

दाहालले अब प्रधानमन्त्रीका लागि आफ्नो पालो आएको सोचेर ओलीलाई हटाउन प्रयत्न गरेको विश्लेषकको मत छ। अर्कोतर्फ ओलीको दाहाललाई प्रधानमन्त्री पद नछोड्ने मनसाय देखिन्छ। 

विश्लेषकहरू नेकपाको एकतामा नै त्रृटि रहेका बताउँछन्। नेकपाको नभइ ओली–प्रचण्डबीचको लेनदेनको एकता भएको विश्लेषकको तर्क छ। विश्लेषक खनाल भन्छन्, ‘मुलुकको सत्ता भनेको कुनै घरायसी लेनदेन हैन,’ उनले ओली–दाहाललाई लक्षित गर्दै प्रश्न गरे, ‘दुई जनाले सही (हस्ताक्षर) गरेर खल्तीमा कागज राखेर हुन्छ र?’ सार्वजनीक जिम्मेवारीमा बस्नेले निजी तजबिजमा राजनीतिक गर्न नहुने विश्लेषकको मत छ। 

नेकपाको एकतालाई तरबार र घीउ बेचुवाको उखानको संज्ञा दिन्छन् विश्लेषक। ओली–दाहाल दुवैको स्वार्थ हावी हुँदा नेकपामा आन्तरिक द्वन्द्व भएको प्रस्टै देखिन्छ। ‘खोलो तर्यो लौरो बिर्सियो’ भनेजस्तै प्रधानमन्त्री भएपछि दाहाललाई बिर्सिएको विश्लेषकको बुझाई छ। कुनै सिद्धान्त, आदर्श, नीतिका आधारमा पार्टी एकता नभई तत्कालका फाइदाका लागि पार्टी एकता भएकाले जुन पक्षले आश्रित व्यक्तिको भीड बढाउन सक्यो त्यही पक्ष हावी हुने विश्लेषकको बुझाइ छ। 

द्वन्द्व व्यवस्थापन र ओलीको रवैया 

एकातर्फ आपसी समझदारीमा पार्टीको द्वन्द्वको व्यवस्थापन गर्न सकिन्छ। एकता हुँदा भएका सहमति खुलस्तरूपमा पार्टीमा प्रस्तुत गर्दा पनि पार्टीभित्रको द्वन्द्वको व्यवस्थापन गर्न सकिने विश्लेषण छ। सम्झौताले नै नेकपा बनेको भन्दै खनालले प्रश्न गरे, ‘के नेकपा आकाशबाट झरेको हो र?’ 

संविधानको बाटो अपनाएर द्वन्द्वको व्यवस्थापन गर्न सकिने विश्लेषकको तर्क छ। 

त्यसो त नेकपाको संदीय दलको बहुमतबाट पनि दाहाल र नेपालले ओलीलाई हटाउन सक्ने आधार छन्। नेकपाकै संसदीय दल पनि जनताबाट निर्वाचित भएकाले सांसदले ओलीलाई प्रधानमन्त्रीमा राख्ने वा नराख्ने भन्ने विषयमा निर्णय लिन सक्ने विश्लेषक बताउँछन्।  

अर्कातर्फ ओली आफू प्रधानमन्त्रीका रूपमा कायम रहन संसदमा विश्वासको मत लिन सक्छन्। ओलीले आफू बच्नका लागि संसदमा विश्वासको मत माग्न हिम्मत गर्नुपर्ने विश्लेषकको तर्क छ। खनालले भने, ‘प्रधानमन्त्रीले निरन्तर पदमा बसिरहन चाहेका हुन भने कित संसदबाट विश्वासको मत लिनुपर्यो।’ 

विश्वासको मत लिन सक्दा ‘प्रधानमन्त्री पद छोड’ भन्नेको आवाज त्यसै कमजोर हुने देखिन्छ।  

संसदमा नेकपाको बहुमत छ। पार्टी एक ढिक्का हुँदा विश्वासको मत लिन पनि उनलाई कठिन नहुनुपर्ने हो। तर, ओली संसदमा पनि आफ्नै दलबाट अल्पमतमा परेकाले उनी संसदमा विश्वासको मत सावित गर्न हच्किएको विश्लेषकको मत छ। विश्लेषकको मतलाई आधार मान्दा पार्टीको संसदीय दल वा संसदबाट ओली प्रधानमन्त्री रहने वा नरहने भन्ने टुंगो लाग्न सक्ने देखिन्छ। 

तर, एक विश्लेषक ओलीसँग विश्वासको मत लिने कुनै आधार नभएको बताउँछन्।  त्यसैले ओली सांसद किन्ने दाउमा रहेको एक ती विश्लेषकले बताए। तर, त्यसमा पनि ओली सफल हुन सकेका छैनन्। संसद भंग गर्न पनि संविधानले नदिने विश्लेषक बताउँछन्। 

श्रेष्ठले भने, ‘त्यसैकारणले माधव नेपाललाई लोभ देखाएर दाहाललाई पाखा लगाउने दाउमा ओली रहेको देखिन्छन्।’ 
सांसद भट्टराई भने संसदमा ओलीको स्पस्ट बहुमत रहेको दाबी गर्छन्। ‘प्रधानमन्त्रीले सरकार पनि छोड्नुहुन्न,’ सांसद भट्टराईले भने, ‘पार्टी अध्यक्ष त छोड्ने कुरै आएन।’ 

दाहाल˗नेपाल पक्षले ओलीको राजीनामा माग्ने तथा हटाउन खोज्ने कदम चाले ओलीले त्यही अनुसारको प्रतिवाद गर्नसक्ने भट्टराईको तर्क छ।  

त्यसो त पार्टीको पद्धतिमा प्रधानमन्त्री जान नचाहँदा समस्या उत्पन्न भएको छताछुल्लै भइसकेको छ। अर्का अध्यक्ष दाहाल पनि जनताका असन्तोषका विषयमा भन्दा पनि पदकै लोभमा परेकाले द्वन्द्व निम्तिएको देखिन्छ। 

ओलीमा पार्टी फुटाएरै भए पनि सत्ता जोगाउने मनसाय देखिएको विश्लेषक श्रेष्ठको तर्क छ। पार्टीको बैठकमा नजानु तथा पार्टीको बैठक बस्न नदिनु भनेको जो जता गए पनि आफू प्रधानमन्त्रीको सिंहाशनमा रहिरहने  ओलीको नीति भएको विश्लेषकको मत छ। तर, पार्टी फुटिहालेको अवस्थामा त्यो दोष दाहाल–नेपालले नलिने देखिन्छ। त्यसैले दाहाल–नेपाल पक्ष पार्टी नै पो फुट्ने हो की भन्ने विषयमा चिन्तित रहेको श्रेष्ठको विश्लेषण छ। दाहाल–नेपाल पक्ष भने पार्टी र सदनमा पनि बहुमतमा छन्। 

एकातर्फ प्रधानमन्त्री ओलीमा अहंकार बढ्दा समस्या उत्पन्न भएको एकथरीको बुझाई छ। ओली आफू प्रधानमन्त्री भएपछि पार्टीलाई समेटेर लाने कुराबाट पछि हटेको विश्लेषण छ। अर्कातर्फ ओलीको बिरामी मानसिकताका कारण पनि ओलीको रवैया बढेको हो। श्रेष्ठले भने, ‘बिरामी मानिसलाई अरुको कुरा सुन्दा झिजेट लाग्छ। ओलीमा पनि कसैको कुरा नसुन्ने स्थिति देखिन्छ।’ 

ओलीको रवैया त पार्टीमा मात्रै हैन। संवैधानिक निकायका पदाधिकारीदेखि राजदूत नियुक्तिसम्ममा मात्रै सीमित छैन। सरकार सञ्चालन तथा मन्त्रीमण्डलमा त्यस्तै रवैया छ।

पूर्वएमालेले दाहाललाई स्वीकार्नै मुस्किल

नेकपामा पूर्वएमाले खेमा र पूर्वमाओवादी खेमा छ। त्यसो त पूर्वएमाले खेमाले दाहाललाई प्रधानमन्त्रीका रूपमा स्वीकार्न नसक्ने विश्लेषक खनालको तर्क छ। तर, श्रेष्ठ पार्टी फुटेको अवस्थामा दाहाल–नेपाल–खनाल पक्ष एउटै खेममा उभिन सक्ने तर्क गर्छन्। सिद्धान्तले नभई ओलीको मिचाहापनका कारण दिक्क भएर यी तीन नेता एक ठाउँमा उभिन सक्ने श्रेष्ठको तर्क छ। 

पूर्वएमालेहरूमा दाहाल स्वीकार्य भएको अवस्थामा नेकपा फुट्न सक्ने विश्लेषक बताउँछन्। तर, तत्कालै ओलीसँग फुटेर पूर्वएमालेले दाहाललाई स्वीकारिहाल्ने अवस्था नरहेको विश्लेषकको तर्क छ।

नेकपामा ठूलो हिस्सा पूर्वएमालेको छ। पार्टी एकता गर्दा नै तत्कालिन एमालेले ६० प्रतिशत र तत्कालीन माओवादीबाट ४० प्रतिशतको दाउ हानिएको थियो। नेकपामा यसको आन्तरिक हिसाबकिताब भइरहने देखिन्छ। सरकारको बागडोर सम्हाल्ने तथा विभिन्न पदमा ६०–४० कै भागभण्डा नमिल्दा पनि नेकपामा झगडा भएको श्रेष्ठ बताउँछन्। 

त्यसैले तत्काल पार्टी फुटिहाल्न पनि सहज नहुने विश्लेषकको तर्क छ। विश्लेषक खनालले भने, ‘ओली र प्रचण्डले चाहेर मात्रै पार्टी फुट्छ जस्तो लाग्दैन।’

तत्काल ओलीविरुद्धका केही स्वार्थका लागि माधव नेपाल, झलनाथ खनाल र प्रचण्ड देखिए पनि पूर्वएमालले प्रचण्डको नेतृत्वमा पार्टी फुटिहाल्ने अवस्था नदेखिएको विश्लेषको मत छ। जुन कारणले पनि पार्टी फुटिहाल्न अप्ठेरो छ। तर, यसो भन्दैमा फुटिहाल्दैन भन्ने पनि आधार नरहेको विश्लेषकको तर्क छ।

सांसद भट्टराई पनि पार्टी फुटिहाल्ने अवस्थामा भने नरहेको दाबी गर्छन्। भट्टराईले भने, ‘पार्टी फुट्दा कसैको पनि भविष्य छैन। त्यसैले पार्टी फुटाउने जोखिम लिन कोही चाहन्छ जस्तो लाग्दैन।’

कात्तिक २०, २०७७ बिहीबार ०८:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।