भाउ पाउने आशले उत्साहित फूल व्यवसायी 

भाउ पाउने आशले उत्साहित फूल व्यवसायी 

काठमाडौं : शंखरापुर नगरपालिका–४, लप्सीफेदीका फूल व्यवसायी अमरबहादुर मोक्तान अहिले उत्साहित देखिएका छन्। कारण हो– फूलको उचित मूल्य पाइने अपेक्षा। 

यो वर्षको तिहारमा भारतबाट फूल आयात नहुने सुनेपछि त उनी झनै उत्साहित छन्। ‘यसले यो वर्ष स्वदेशमा उत्पादित फूलको व्यापार बढ्ने सम्भावना छ,’ उनी भन्छन्। 

उनी आफ्नो व्यापार पनि बढ्नेमा आशावादी छन्। अघिल्लो तिहारमा साढे एक लाख रूपैयाँको फूल बेचेका उनी यसपालि त्यो रकम एक लाख थपिने अनुमान लगाउँछन्।  

उनीजस्तै लप्सीफेदीकै अर्का फूल व्यवसायी राजकुमार लामा पनि यो तिहारमा व्यापार बढ्ने अनुमान गर्छन्। यो तिहारमा भाउ पाएमा ५० हजार रूपैयाँको व्यापार हुने उनको भनाइ छ। उनले अघिल्लो तिहारमा ३० हजार रूपैयाँको व्यापार गरेको बताए। 

‘अघिल्ला वर्ष खासै राम्रो भाउ पाइएको थिएन, यस वर्ष पाइन्छ कि भन्ने अपेक्षा छ,’ उनी सुनाउँछन्। 

उनीहरू मात्र होइनन्, भारतबाट फूल आयात नहुने भएपछि स्वदेशमा फूलको उचित भाउ पाउने आशमा व्यवसायी उत्साहित छन्। 

फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष कुमार कसजू श्रेष्ठले यो वर्ष स्वदेशमै फूल उत्पादन राम्रो भएकाले भारतबाट फूल आयात नहुने बताए। 

उनका अनुसार अघिल्लो तिहारमा खपत भएको २५ लाख सयपत्री मालामध्ये तीन लाख भारतबाट आयात भएको थियो। 

तर, यस वर्ष कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण कम माला खपत हुने उनको भनाइ छ। यस वर्ष १५ लाख माला मात्र खपत हुने उनको अनुमान छ। उनले भने, ‘बजारको माग अनुसार स्वदेशमै उत्पादन भएको छ।’ 

फूल सुक्ने चिन्ता 

तिहार सुरु हुन अझै डेढ साता समय बाँकी रहँदा व्यापारीलाई फूल सुक्ने चिन्ताले छोएको छ। फूल कात्तिकको सुरुमै फुलिसकेकाले सुक्ने चिन्ता लागेको व्यवसायी लामा बताउँछन्।

‘साउनमा फूल रोपेकाले कात्तिकको सुरुवातमै फूल फुलिसकेका छन्,’ उनले भने। 

एउटै वडामा १५ लाखको फूल 

शंखरापुर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष बुद्धिबहादुर तामाङले शंखरापुरका किसान स्वतःस्फूर्तरूपमा फूल खेतीमा लागेको बताए। उनका अनुसार उक्त वडाबाट तिहारमा १५ लाख रूपैयाँको फूल उत्पादन हुने गरेको छ।

‘यहाँका प्रतिपरिवारले कम्तीमा ५० हजार रूपैयाँको फूल व्यापार गर्छन्,’ उनले भने। 

शंखरापुर नगरपालिका ४, लप्सीफेदीस्थित फूलबारीमा राजकुमार लामा। तस्बिर ः डुक्पा छिरिङ मोक्तान 
 

कात्तिक २०, २०७७ बिहीबार ०७:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।