‘सक्किगोनी’ सर्यो हिमालयमा
लोकप्रिय हास्य श्रृंखला ‘सक्किगोनी’ हिमालय टेलिभिजनमा सरेको छ।
नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आइरहेको श्रंखलालाई विविध कारणका हिमालय टेलिभिजनमा सार्नुपरेको निर्देशक तथा कलाकार अजुर्न घिमिरे (पाँडे)ले बताए।
डेढ वर्ष देखि नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको हास्य टेलिश्रृंखला ‘सक्किगोनी ’हिमालय टेलिभिजनबाट प्रशारण हुन लागेको हो।
निर्देशक अर्जुनका अनुसार आगामी मंसिर २० गतेबाट दर्शकले हिमालय टेलिभिजनबाट हेर्न पाउँनेछन्। श्रृंखला प्रसारण भएपछि (ओएस आर)युटुब च्यानलबाट अपलोड हुने।
अर्जुनले भने, ‘कोरोना महामारीबीच देशभर लकडाउन भएका कारण सिरियल छायांकन गर्न सम्भव भएन। कोरोनाको त्रासका कारण सुटिङ गर्ने अवस्था नरहेकोले बन्द गरेका थियौँ। तर, टेलिभिजनले नबुझीकन उपेक्षा गरेको महसुस गर्यौ र हिमालय टेलिभिजनमा सम्झौता गरेका छौँ। अहिले विज्ञापन समेत प्रसारण हुन थालेको छ।’
श्रृंखलाको नयाँ भाग भने तिहारपछि मात्रै छायांकन गरिने अर्जुनले बताए। तिहार अघि नै टेलिजिभनमा प्रसारण गर्ने भनेता पनि विविध कारणले गर्न नसकिएको उनको भनाई छ।
कलाकार अर्जुनले दुखेसो पोख्दै भने ,‘नेपाल टेलिजिभनमा हामीले झण्डै दश बर्ष देखि काम गर्दै आएका थियौँ । सिरियल बन्द किन र के कारणले बन्द भयो भन्ने कुनै चासो नराखेको कारणले सिरियल सार्नु परेको हो।’
अर्जुन घिमिरे र कुमार कट्टेलको कथा, पटकथा, संवाद र निर्देशनमा प्रशारण हुँदै आएको यो हास्य श्रृंखलामा अर्जुन , कुमारका अलवा सीपी पुडासैनी, शंकर आचार्य, कमलमणी नेपाल, दिपक आचार्य, सागर लम्साल, हरि निरौला, रक्षा श्रेष्ठ लगायतका कलाकारको अभिनय छ।
यो समुहले यस भन्दा अघि नेपाल टेलिभिजनबाट नै भद्रगोल सिरियल निर्माण गरेको थियो।
कात्तिक १९, २०७७ बुधबार १६:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।