‘कृष्ण लीला’मा अभिनेत्री हेरफेर, दीपिकाको ठाउँमा श्रद्धा  

‘कृष्ण लीला’मा अभिनेत्री हेरफेर, दीपिकाको ठाउँमा श्रद्धा  
श्रद्धा क्षेत्री।

काठमाडौं : चलचित्र ‘कृष्ण लीला’मा अभिनेत्री हेरफेर गरिएको छ।

चलचित्रमा अभिनेत्री दीपिका प्रसाईंको ठाउँमा श्रद्धा क्षेत्रीलाई अनुबन्धित गरिएको निर्माता रत्न श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार दीपिका स्वास्थ्य समस्याका कारण चलचित्रमा अभिनय गर्न असमर्थ भएपछि त्यो रोलका लागि श्रद्धालाई ल्याइएको हो। दीपिका केही समययता थाइराइड र माइग्रेन समस्याबाट पीडित रहेको श्रेष्ठले बताए। 

मुम्बईमा मोडलिङ गरिरहेकी श्रद्धाले पहिलो पटक अभिनेता पुष्प खड्कासँग चलचित्रमा अन स्क्रिन रोमान्स गर्नेछिन्।

चलचित्रमा श्रद्धा र पुष्पका अलावा बुद्धि तामाङ, रविन्द्र झालगायतका कलाकारको अभिनय रहनेछ। 

चलचित्रमा सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको कथा, पटकथा तथा संवाद छ। दीपक ओलीले निर्देशन गर्न लागेको चलचित्रको  प्रस्तुतकर्तामा रोहित कट्टेल हुन्। 

रत्न श्रेष्ठ निर्माता रहेको चलचित्र शिव ढकालले खिच्दैछन्। पूर्वका विभिन्न ठाउँमा खिचिन लागिएको चलचित्रको छायांकन मंसिर १५ गतेबाट सुरु हुने निर्माण पक्षले जनाएको छ। 

कात्तिक १९, २०७७ बुधबार १४:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।