क्षमता ६० हजार, परीक्षण १३ हजार 

क्षमता ६० हजार, परीक्षण १३ हजार 
तस्बिर : रोयटर्स।

काठमाडौं : देशभर कोरोना भाइरस (कोभिड–१९) संक्रमण दिनहुँ बढिरहेको छ। पछिल्लो तीन दिनमा मात्रै थप ६ हजारभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार गत मंगलबारसम्म देशभर एक लाख ७९ हजार ६१४ जनामा कोरोना पुष्टि भइसकेको छ। आइतबारसम्म यो संख्या एक लाख ७३ हजार ५६७ थियो। 

संक्रमित बढिरहे पनि सरकारले प्रयोगशालाको पूर्ण क्षमतामा कोरोना परीक्षण गरेको छैन। 

जनस्वास्थ्यविज्ञ डा. रविन्द्र पाण्डे देशभरका प्रयोगशालाबाट दैनिक ६० हजार नमुना परीक्षण गर्न सकिने दाबी गर्छन्। ‘तर, सरकारले प्रयोगशालाको पूर्ण क्षमता उपयोग गरेको छैन,’ उनी भन्छन्। 

अर्का जनस्वास्थ्यविज्ञ डा.सुरेश तिवारी नीतिगत कारणले सरकारले प्रयोगशालाको पूर्ण क्षमताको उपयोग गर्न नसकेको बताउँछन्। ‘हटस्पटमा गएर परीक्षण गर्ने हो भने यसको मात्रा बढ्छ। सर्वसाधारण आफैले गर्ने हो भने संख्या कमी देखिन्छ,’ उनी भन्छन्। 

सरकारले अहिले दैनिक १३ हजार हाराहारीमा मात्र पिसिआर परीक्षण गरिरहेको छ। 

मन्त्रालयका तथ्यांक अनुसार पछिल्लो तीन दिन (आइतबारदेखि मंगलबारसम्म)मा ३७ हजार ६३५ नमुनाको पिसिआर परीक्षण गरिएको छ। यो औसतरूपमा दैनिक १३ हजारको हाराहारी हो। 

मन्त्रालयका अनुसार गत आइतबार १३ हजार २६ नमुनाको पिसिआर परीक्षण गरिएको थियो। यस्तै, सोमबार १३ हजार ४४६ र मंगलबार ११ हजार १६६ नमुना परीक्षण गरिएको मन्त्रालयको तथ्यांक छ। 

मन्त्रालयका एक कर्मचारी अहिलेको अवस्थामा दैनिक ३० हजारभन्दा बढीको परीक्षण सम्भव रहेको बताउँछन्। 

सरकारले परीक्षण दर नबढाउँदा कोरोना संक्रमण फैलिरहेको जनस्वास्थ्यविज्ञ पाण्डेको भनाइ छ। 

तर, मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी भने कोरोना संक्रमण फैलिनुमा परीक्षणलाई मात्र आधार मान्न नमिल्ने दाबी गर्छन्। ‘अन्य पूर्वाधार अभाव र स्वास्थ्य मापदण्ड पालना नगरिँदा संक्रमणको दर फैलिएको हो,’ उनी भन्छन्। 

अहिलेको अवस्थामा दैनिक १० देखि १२ हजारसम्मको परीक्षण हुनु नगरेसरह नै भएको जनस्वास्थ्यविज्ञ पाण्डेको भनाइ छ। ‘अहिलेको अवस्थामा जतिसक्दो परीक्षणको दायरा बढाएर पूर्वाधार बढाउनु पर्थ्यो। तर, व्यवस्थापनको पाटोमा सरकार चुक्यो,’ उनी भन्छन्। 

जनस्वास्थ्यविज्ञ डा. तिवारी कोरोना परीक्षण गर्ने प्रयोगशाला पूर्ण क्षमतामा उपयोग गर्न जनशक्ति व्यवस्थापनसँगै उपकरण र विद्युतको निरन्तर व्यवस्थापन आवश्यक रहेको बताउँछन्।

जनस्वास्थ्यविज्ञ डा. पाण्डे परीक्षणको दर बढाएर कन्ट्रयाक ट्रेसिङ गर्दै संक्रमितलाई आइसोलसनमा राखेर उपचार गरेको अवस्थामा कोरोना संक्रमण नियन्त्रणमा आउने बताउँछन्। तर, सरकारको पछिल्लो निर्णयले कोरोना परीक्षण र नियन्त्रणमा चुनौती थपिएको उनको भनाइ छ। 

‘परीक्षणको दायरा र शुल्कका कारण संक्रमितहरू परिक्षण र उपचारको अभावमा काममा लागिरहेका हुनेछन्, यात्रा गरिरहेको हुनेछन्। यस्तो अवस्थामा संक्रमण नियन्त्रणबाहिर पुग्नेछ,’ डा. पाण्डे भन्छन्। 

शव व्यवस्थापनको जिम्मा समेत सरकारले सर्वसाधारणलाई नै छाड्दा संक्रमणको जोखिम झनै बढेको उनको भनाई छ। सरकारले प्रयोगशालाको क्षमता पूर्ण उपयोग गर्दै कोरोना संक्रमण नियन्त्रणमा लाग्नुपर्ने उनको सुझाव छ। 
 

कात्तिक १९, २०७७ बुधबार ११:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।