युवालाई दुई प्रतिशत ब्याजमा ऋण

युवालाई दुई प्रतिशत ब्याजमा ऋण

विराटनगर : मोरङको बेलबारी नगरपालिकाले नगरका युवाहरूलाई दुई प्रतिशत ब्याजदरमै ऋण उपलब्ध गराउने भएको छ।

बेरोजगार, वैदेशिक रोजगारीमा जाने उमेर समूहका तथा तथा फर्केर आएका युवाहरूलाई लक्षित गरि नगरपालिकाले सहुलियत ब्याजदरमा ऋण दिन लागेको हो। 

युवाहरूलाई स्थानीय स्तरमै रोजगार र स्वरोजगार बनाउने उद्देश्यले सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउन लागिएको बेलबारी नगरापलिकाका प्रमुख (मेयर) ज्ञानेन्द्र सुवेदीले बताए। उनका अनुसार सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउन नगरपालिकाले कार्यविधि पनि नगरकार्यपालिकाको बैठकबाट पारित गराएको छ।

उनले भने, ‘नगरपालिकाले युवा स्वरोजगार तथा लक्षित वर्ग कार्यक्रम संचालन कार्यविधि नै बनाएर ऋण दिने प्रक्रिया सुरू गरिसकेको छ।’ 

युवाहरूलाई नगरपालिका नै जमानी बसेर पाँच लाख रूपैयाँसम्मको ऋण दुई प्रतिशत ब्याजदरमा उपलब्ध गराइने उनले बताए। बैंक तथा वित्तीय संस्थालाई तिर्नुपर्ने थप ब्याज नगरपालिकाले तिरिदिने समेत मेयर सुवेदीले बताए। यस कार्यक्रममा सहभागी हुने युवा तथा युवा समूहले बिनाधितो ऋण पाउने छन्। 

कार्यक्रम कृषि, पशुपालन, माछापालन, व्यापार व्यवसाय गर्नेहरूका लागि लक्षित छ। युवालाई स्वरोजार बनाउने उद्देश्यले सञ्चालन गर्न लागिएको कार्यक्रमलाई दीगो तथा विस्तार गर्ने नगरपालिकाको लक्ष्य रहेको मेयर सुवेदीले बताए। 

सामूहिक खेती तथा व्यापार व्यवसाय गर्नेहरूलाई पहिलो प्राथमिकता दिइने उनको भनाइ छ। उनका अनुसार युवा स्वरोजगार कोषको नाममा छुट्टै कोषको स्थापना गरिन्छ। नगरपालिकाले यसका लागि एक करोड रूपैयाँको कोष स्थापना गर्ने तयारी गरेको मेयर सुवेदीले बताए। चालू आर्थिक वर्षको बजेटमै एक करोड रूपैयाँ कोषका लागि नगरपालिकाले रकम विनियोजन  गरेको छ। हरेक वर्ष कोषमा बजेट थप्दै जाने नगरपालिकाको योजना छ। 

यस्तै, नगरपालिकाले आधारभूत तथा गरिब परिवार खाद्य सुरक्षा कार्यक्रमसमेत संचालन गर्ने तयारी गरेको छ। आफूले उत्पादन गरेको अन्नबालीले तीन महिनाभन्दा कम खान पुग्ने वा दैनिक ज्याला मजदुरीबाट दैनिक गुजारा चलाउने परिवारलाई लक्षित गरेर नगरपालिकाले कार्यक्रम संचालन गर्न लागेको हो।

गरिबीको रेखामुनि रहेका परिवारको आर्थिक अवस्था उकास्नका लागि उनीहरूको चाहना अनुसारका आयआर्जनमुखी कार्यक्रम  सञ्चालन गर्ने लक्ष्य रहेको नगरपालिकाकाले जनाएको छ। 
 

कात्तिक १९, २०७७ बुधबार ००:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।