तीनपाते : उत्कृष्ट भिडियो फिल्म
काठमाडौं : ‘हेरेर तिमीलाई, देखेर तिमीलाई मनै मनमा माया तीनपाते भइदियो...।’
साउन २१ गते सामाजिक सञ्जाल युट्युबमार्फत रिलिज गरिएको यो गीत मानिसले मनपराएका छन्।
आर्टमाण्डु नामक युट्युब च्यानलमा अपलोड गरिएको उक्त गीतमा रिलिजको सय दिन पार गर्दासम्म ८४ लाखभन्दा बढी भ्युज छ। साथै ९ हजारभन्दा बढी प्रतिक्रियामा दर्शकको वाहवाही पाएको छ।
भिडियोमा नेपालको पूर्वी पहाडी भेगको जनजीवनलाई कैद गराइएको छ। १० मिनेट लामो उक्त भिडियोलाई म्युजिकल फिल्म भनिएको छ। नेपालीमा म्युजिकल फिल्मलाई ठ्याक्कै यही भन्ने शब्द नभए पनि यसलाई भिडियो फिल्म भनेर परिभाषित गर्न सकिन्छ।
पात्रको गतिविधिमार्फत कथालाई चलायमान गराइएको तीनपातेमा ग्रामीण भेगको सिंगो जीवन कैद भएको छ।
भिडियोमा प्रयोग गरिएका ठेट कथ्य भाषाले भिडियोलाई अझ सशक्त बनाएको भान हुन्छ। बालसुलभ प्रेमकथालाई दर्शाएको तीनपातेले मनोवैज्ञानिक रूपमा नेपाली समाजमा युवा सशक्तीकरणको अभ्यासलाई उजागर गर्न खोजेको छ। कृषिकर्मबाट सफलता सम्मको कथा तीनपातेले देखाएको छ। पूर्वीय लोक लय नजिक रहेर रचना भएको गीतको भिडियो अति नै सरल र सरस ढंगले तयार गरिएको छ। तीनपातेको दृष्य समायोजनमा ध्यान गरिए पनि केही स्थानमा चुकेको देखिन्छ। ग्रामीण जनजीवनमा प्रचलित स्रोत र साधनको प्रयोगले भिडियोमा अपनत्व थप्ने काम गरेको छ।
लोकेसनलाई ठूलो पात्र मानेर त्यसको प्रयोगमा निर्देशक अब्बल देखिएका छन्। सामान्य तबरले बाल्यकालदेखि सफलतासम्मको कथा दर्शाएको तीनपातेमा पात्रका प्रेमको उतारचढावले दर्शकलाई रोमाञ्चक बनाउँछ।
कथ्यशैलीमा सृजना गरिएको गीतका शब्दहरू अति नै सरल र काव्यिक छन्। त्यस्तै स्वर र संगीतले तीनपाते अब्बल बनेको छ।
प्रयोगको नाममा प्रभावित हुने परम्परालाई तोडेको तीनपातेले स्थानीय स्तरमा उपलब्ध सामाग्रीहरूको सही प्रयोग गरि स्वरोजगार बन्न प्रेरित गरेको छ। तीनपातेको शीर्षक सार्थकतालाई स्थानीय स्थान (चियाबगान) विशेषसँग तुलना गर्न सकिन्छ।
स्लो पेसमा तयार भएको भिडियोको सिनेमाटोग्राफीलाई राम्रो नै मान्न सकिन्छ। तर, भिडियोको रंग समायोजनमा कतै निर्देशक चुकेका हुन् कि भन्ने भान भने भिडियो हेरिरहँदा हुनसक्छ।
ग्रामीण क्षेत्रमा लुकेको कथालाई निश्चित आकार दिएर प्रस्तुत गर्नु आपैmमा चुनौतीपूर्ण काम हो। ग्रामीण परिवेशलाई पूर्णरूपमा समेट्न खोज्दा कथा केही हदसम्म कमजोर हुनपुगेको भान हुनसक्छ। तर पनि भिडियो सशक्त भएर उभिन सक्षम छ।
अघिकांश जनता ग्रामीण भेगका भएको देशमा हलिउड र बलिउडलाई ‘गुरु’ थापेर भिडियो बनाउन रहर कस्नेहरू माथिको कटाक्षको रूपमा तीनपातेलाई उदाहरण दिँदा फरक पर्दैन। मौलिकता माटोसँग जोडिएको हुन्छ र तीनपाते माटोसँग जोडिएका कारण नै यति धेरै चर्चामा पुगेको सत्यलाई हामीले मनन गर्नु जरुरी छ। सृजनात्मक काम गर्ने भन्दै बिहिरी प्रवृत्तिलाई अँगालेर फाइदा नहुने सत्य पनि तीनपातेले देखाएको छ।
६० को दशकदेखि वर्तमान सम्मको समयलाई समेटेको भिडियोमा लाहुरे प्रवृत्तिमाथि व्यंग्य कसिएको छ। त्यस्तै, इर्श्या, प्रेम र वैवाहिक संस्थाप्रतिको नेपाली सोचलाई पनि तीनपातेले छोएको छ।
भिडियोमा कलाकारहरूको मेहनत प्रष्ट देख्न सकिन्छ। भिडियोको पटकथामा मेहनत गरिएको छ। डाँडामा बलिउडको कपी गरेर हात फैलाएको बानी भएको हाम्रो परम्परालाई तीनपातेले गजबको सबक सिकाएको छ। हतारमा काम गरेर फुर्सदमा पछुताउने निर्माताहरूले तिनपातेलाई बुझ्न मात्र खोजेपनि नेपाली भिडियोको स्तरोन्नति हुनेमा दुईमत नरहला।
भिडियोमा निर्देशकको परिपक्कता देखिएको छ। निर्देशकले ससाना कुरामा खेल्न खोजेका छन्। यसमा उनी सफल पनि छन्। बिम्बात्मक रूपमा छुर्पी र स्विटरमा प्रेमको गहिराई देखाइएको भिडियोमा छुर्पी व्यापारीको कथालाई निकै पोख्तसँग उनिएको छ। त्यस्तै, विवाह गरेर विदेशिनु पर्ने नेपाली बाध्यतालाई बहानाको संज्ञा दिँदै निर्देशकले मन भए स्वदेशमै उन्नति गर्न सकिने बताएका छन्।
ग्रामीण परिवेशमा पात्रलाई हुर्काएर, सानैदेखि कृषिमा रुचि पैदा गराइएको तीनपातेमा ग्रामीण व्यक्तित्व झल्काउन पात्रको भेषभूषामा ध्यान राखिए पनि एकाध ठाँउमा चुकेको देखिन्छ। तीनपाते नेपाली मौलिक भिडियो हो। ग्रामीण भेगको कथालाई हेला गर्ने प्रवृत्ति तीनपातेले परिवर्तन ल्याउनेछ।
मन छुने शब्द, गायकी र भिडियोको समायोजनले तीनपाते उत्कृष्ट भिडियो फिल्म हो भन्न सकिन्छ ।
के हो म्युजिकल (भिडियो) फिल्म ?
म्युजिकल फिल्म फिल्मको एउटा विधा हो। यस विधामा पात्रले गीतको माध्यमबाट नाच्दै, झुम्दै, रम्दै कथालाई अघि बढाउने गर्छ। कतिपय अवस्थामा म्युजिकल फिल्मले सिंगो कथासमेत भन्न सक्छ।
सन् १९२३ मा लिइ दी फोरेस्टले बनाएको छोटो फिल्मलाई विश्वको पहिलो म्युजिकल फिल्म मानिन्छ। म्युजिकल फिल्म विश्वमा चर्चित फिल्मी विधामध्ये पर्छ। नेपालमा यसको अभ्यासलाई हेर्ने हो भने वैधानिक रूपमा कहिलेदेखि सुरु भएको ठ्याक्कै भन्न सकिने अवस्था छैन। तर, नेपाली फिल्ममा गीतको प्रयोगले कथा अघि बढाउने प्रचलन बलिउडको प्रभावमा सुरुवाती समयदेखि नै रहँदै आएको देखिन्छ।
कात्तिक १८, २०७७ मंगलबार ११:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।