कोरोना संक्रमितमा त्रास, मनोपरामर्श खोज्दै

कोरोना संक्रमितमा त्रास, मनोपरामर्श खोज्दै

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) संक्रमितलाई शारीरिक मात्र होइन, मानसिक समस्या पनि देखिने गरेको छ। 

संक्रमणका कारण स्वास्थ्यमा जटिलता निम्तँदा त झन् मरिने पो हो की भन्ने चिन्ताले संक्रमित आत्तिने गरेको चिकित्सक बताउँछन्। 

काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोला अस्पतालमा कोरोना संक्रमित बिरामी आत्तिने गरेको अनुभव सुनाउँछन्। डा. बास्तोलाले भने, ‘अस्पतालमा सँगै रहेको शैय्याका संक्रमितको मृत्यु भएको देख्दा बिरामीहरू बढी आत्तिनुहुन्छ।’ 

यस्तो अवस्थामा अन्य शैय्याका संक्रमित बिरामीलाई परामर्श (काउन्सेलिङ) दिने गरेको उनी सुनाउँछन्। डा. बास्तोलाले भने, ‘अस्पतालमा भर्ना भएका प्रायः कोरोना संक्रमित बिरामी आत्तिएको, डराएको देख्छु।’ 

अस्पताल भर्ना भएका बिरामीमा मनोवैज्ञानिक त्रास देखिने गरेको चिकित्सक बताउँछन्। डा. बास्तोलाले युवा अवस्थाका बिरामी र अक्सिजनको आवश्यकता पर्ने बिरामीहरू बढी आत्तिने गरेको सुनाए। ‘कतिपय कोरोना संक्रमित बिरामी त मरिन्छ की भन्ने चिन्ताले विछिप्तै हुन्छन्,’ उनले भने।

सामान्तयाः साधारण लक्षण देखिए होम आइसोलेसनमा बस्न सकिन्छ। लक्षण कडा हुँदै गए त उपचारका लागि अस्पताल नै जानुपर्ने हुन्छ।

त्यसैले संक्रमित व्यक्ति होम आइसोलेसनमा बस्दा होस् वा अस्पतालमा उपचारत अवस्थामा नै किन नहोस् मनोपरामर्श आवश्यक हुने मनोचिकित्सक बताउँछन्। कोरोना संक्रमितहरूले मरिने पो हो की भन्ने डर मान्दै मनोपरामर्शदाता तथा मनोचिकित्सकलाई आजकल फोन गरेर मनोपरामर्श लिने गरेका छन्।

त्यसो त मनोविद् गोपाल ढकाललाई पनि कोरोना संक्रमितहरूले मरिने पो हो की भन्दै त्रसित भएर मनोपरामर्शका लागि फोन गरिरहन्छन्। 

ढकाल केही समयअघि एक जना २८ वर्षीय कोरोना संक्रमित महिलाले फोन गरेको सम्झन्छन्। ती महिलाले आफू संक्रमित भएपछि मृत्यु हुने भयले परिवारसँगै बिदा मागेको उनले सुनाए। ती महिलामा डर लाग्ने, छटपटी हुने, हेर्दा धमिलो देखिने जस्ता मनोसमस्या देखिएको ढकालले बताए।

आफूले ती महिलालाई तनाव व्यवस्थापनका उपाय बताएको ढकालको भनाइ छ। होम आइसोलेसनमा बसेकी ती महिलालाई मनोपरामर्शसँगै परिवार तथा आफन्तले सहयोग गर्ने उपाय बताएको उनले बताए। 

संक्रमणमुक्त भएपछि ती महिलाले ढकाललाई फोन गरेर धन्यवाद दिइन्। ढकालले भने, ‘संक्रमणमुक्त भएपछि खुसीले गदगद हुँदै उनले फोन गरेकी थिइन्।’ 

मनोचिकित्सक डा. कपिलदेव उपाध्यायलाई पनि आजकल कोरोना संक्रमित व्यक्तिले फोन गरेर परामर्श लिइरहन्छन्। डा. उपाध्यायले आफूसँग संक्रमितले मनोपरामर्श लिने गरेको सुनाए। ‘चिनेका कोरोना संक्रमितले भयभित हुँदै फोन गर्नु हुन्छ,’ डा. उपाध्यायले भने, ‘खाना रुचेन, बास्ना आएन, श्वास फेर्न गाह्रो भयो, कमजोरी भयो, खोकी लाग्यो, शरीर दुख्यो अब के गर्ने होला भन्दै फोन गर्नुहुन्छ।’

मरिने पो हो की भन्ने भयले संक्रमितहरू आत्तिएर मनोपरामर्शका लागि फोन गर्ने गरेको डा. उपाध्याय बताउँछन्। फोन गर्ने संक्रमितलार्ई उनी परामर्श दिँदै आत्मबल बलियो बनाउन सुझाउँछन्। 

‘उपचाररत बिरामीलाई परामर्श आवश्यक’

त्यसो त त्रिवि शिक्षण अस्पताल, मानसिक स्वास्थ्य विभागका प्रमुख तथा मनोचिकित्सक डा. सरोजप्रसाद ओझालाई पनि आजकाल कोरोना संक्रमितले मनोपरामर्शका लागि फोन गर्छन्। 

होम आइसोलेसनमा मात्रै हैन, अस्पताल भर्ना भएका संक्रमितलाई स्वास्थ्यकर्मीले पनि सकारात्मक ढंगले परामर्श दिनुका साथै स्वस्थ जीवनशैली अपनाउनका लागि मद्दत गर्नुपर्ने मनोचिकित्सक डा. ओझाको सुझाव छ।

अस्पतालमा उपचाररत बिरामीलाई पनि आत्मबल बढाउने किसिमका मनोपरामर्श दिनुपर्ने डा. उपाध्याय बताउँछन्। तर, कोभिड अस्पतालको रूपमा रहेको सरकारी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा नै छुट्टै मनोपरामर्शदाता तथा मनोचिकित्सकको व्यवस्था छैन।

परामर्शका लागि अस्पतालमा मनोचिकित्सक तथा मनोविद्को व्यवस्था नभए पनि संक्रमितको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीले नै परामर्श दिने गरेको अस्पतालका प्रवत्ता डा. बास्तोलाले जानकारी दिए। उनका अनुसार संक्रमितलाई रोग सुधार भइरहेको बारेमा जानकारी गराइन्छ। सकारात्मक किसिमका कुरा गरिन्छ। राउण्डमा जाँदा सम्झाइन्छ। सामाजिक सञ्जालमा आफन्तसँग कुरा गर्न सल्लाह दिइन्छ।

संक्रमितले आफन्तसँग भौतिक दूरी टाढा राखे पनि फोन तथा विभिन्न सामाजिक सञ्जाल लगायतबाट कुरा गरेर सामाजिक दूरी नजिक राख्नुपर्ने मनोविद् ढकाल सुझाउँँछन्। यसरी कुरा गर्दा भावनात्मकरूपमा नजिक हुने भएकाले एक्लोपनको महसुस हुँदैन। जसले संक्रमितको धेरै हदसम्म मानसिकरूपमा आत्मबल बलियो बनाउन सहयोग पुग्छ।

संक्रमित बिरामी आत्तिएपछि सुगर तथा रक्तचाप बढ्ने भएकाले रोगले थप गलाउन सक्ने भन्दै आत्मबल नगुमाउन बिरामीलाई मनोचिकित्सक सुझाउँछन्। अस्पतालमा भर्ना भएका बिरामीको उपचारमा जाने स्वास्थ्यकर्मीले पिपिई लगाउँदा  बिरामीले नचिन्न सक्छन्। त्यसैले बिरामीलाई स्वास्थ्यकर्मीले आफ्नो परिचय दिएर कुरा गर्नु उचित हुने डा. उपाध्याय बताउँछन्।

त्यसो त चिकित्सक तथा नर्स लगायतका स्वास्थ्यकर्मी पिपिई लगाएर बिरामीको सेवामा जाँदा कतिपय बिरामी त अच्चम्मित हुने गरेको डा. बास्तोलाको अनुभव छ। त्यसैले अस्पतालमा भर्ना भएको संक्रमितलाई आफ्नो परिचय दिएर परामर्श दिने गरेको उनी सुनाउँछन्। 

‘आइसोलेसनमा बस्दा सकारात्मक सोच राखौं’

मनोचिकित्सक डा. ओझा कोरोना पोजेटिभ भएको खण्डमा त्यसलाई सहजरूपमा स्वीकार्नुपर्ने बताउँछन्। उनले भने, ‘संक्रमणका कारण होम आइसोलेसनमा बस्दा पनि सकारात्मक सोच राख्नुपर्छ।’ 

सकारात्मक सोचले आत्मबल बढ्ने मनोचिकित्सक बताउँछन्। होम आइसोलेसनमा बसेको समयमा पनि खाली नबसी कुनै न कुनै काम गर्न डा. उपाध्यायको सुझाव छ। चिकित्सकहरू होम आइसोलेसन बस्दा कोरोना संक्रमितले संक्रमणमुक्त नहुन्जेल मानसिकरूपमा होम आइसोलेसनमा बस्न तयार हुनुपर्ने सुझाउँछन्।

त्यसैगरी स्वस्थ जीवनशैली अपनाउनुपर्छ। ‘ठिक समयमा सुत्ने र ठिक समयमा उठ्नुपर्छ,’ डा. ओझाले भने, ‘रातिमात्रै सुत्नुपर्छ। ७/८ घण्टा आनन्दले सुत्नुपर्छ।’

बिहान उठेपछि योग, ध्यानजस्ता व्यायाम गर्न चिकित्सकको सुझाव छ। 

अस्पताल वा होम आइसोलेसनमा नै बस्दा पनि तनाव भयो भने वा तनाव व्यवस्थापनका लागि लामो श्वास लिँदै छोड्न डा. ओझाको सुझाव छ। उनले भने, ‘चार सेकेण्ड लगाएर गहिरो श्वास लिनुपर्छ। चार सेकेण्ड लगाएर रोक्नुपर्छ। र, चार सेकेण्ड लगाएर विस्तारै श्वास छोड्न सकिन्छ।’ यसरी एक पटकमा १२ सेकेण्ड लगाएर श्वासप्रश्वास गर्दा पनि तनाव व्यवस्थापन गर्न सकिने डा. ओझा बताउँछन्। 

त्यसैगरी, संक्रमितले प्रशस्त मात्रामा झोलिलो पदार्थ खान चिकित्सकको सुझाव छ। पोषणयुक्त खानपान तथा भिटामिन ‘बी’, ‘सी’ र ‘डी’मा जोड दिनुपर्ने चिकित्सक बताउँछन्। पानी दैनिक तीन लिटरभन्दा बढी पिउन चिकित्सकको सुझाव छ। 

कोरोना संक्रमितले नकारात्मक समाचार धेरै हेर्ने, पढ्ने तथा सुन्ने गर्न नहुने मनोचिकित्सक बताउँछन्। धेरै यस्ता नकारात्मक किसिमका समाचारले संक्रमितमा झन् डर उत्पन्न हुनसक्छ। त्यसैले आधिकारिक किसिमका समाचार मात्रै पढ्न, हेर्न तथा सुन्न ओझाको सुझाव छ। संक्रमणको समस्यामा परेको व्यक्तिले दैनिक दुईपटकभन्दा बढी समाचार हेर्नु उचित नहुने मनोचिकित्सकको सुझाव छ।

कात्तिक १८, २०७७ मंगलबार ०८:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।