असहायलाई घरमै ‘कोसेली’ पुर्याउनेहरू 

असहायलाई घरमै ‘कोसेली’ पुर्याउनेहरू 

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) कहरले मुलुक थलिँदै थियो। लम्बिँदो लकडाउनले हातमुख जोड्न नै समस्या पर्ने अवस्था निम्तिँदै थियो। काम गरेर खानेहरू पनि हात बाँधेर बस्नुपर्ने अवस्था थियो त्यो। 

त्यतिबेला लमजुङ नगरपालिका–१, सानोधिमिरेका १९ वर्षीय अन्सुल लोहनी ‘मनिष बचाउ अभियान’ चलाउँदै थिए। ‘काफल टिप्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएका मनिष लोहनीलाई बचाउन २० लाखभन्दा बढी रकम आवश्यक थियो,’ अन्सुल भन्छन्। 

अभियानमा देशविदेशबाट आवश्यक रकम जुट्दै गएपछि उनी उत्साहित थिए। त्यसबीचमा अन्सुलले धेरै मानिस खानाको अभावमा भोकै बस्नुपरेको थाहा पाए। 

‘अनि हामीले हुनेबाट लिएर नहुनेसम्म पुर्याउन ‘फुड बैंक’ सुरु गर्याैं,’ अन्सुल उत्साहित हुँदै भन्छन्, ‘सुरुमा म एक्लै थिएँ। पछि रविन्द्र परियार र विवेक लोहनी थपिए।’ 

कलिलै उमेरमा सामाजिक काममा लागेको देखपछि उनीहरूको काममा हौसला र साथ दिनेहरू देश र विदेशबाट थपिएका छन्। र, उनीहरू माध्यम बनेका छन्– भोको पेट भर्ने अभियानको। अनि उनीहरूले देशविदेशबाट माया गरेर पठाइएका सहयोगलाई ‘कोसेली’ मानेर बाँडिरहेका छन्।

उनीहरूले अहिलेसम्म अति विपन्न १ सय १७ परिवारलाई ‘कोसेली’ बाँडिसकेका छन्। घरमा कोही नभएका वृद्धवृद्धा र अपांगहरूलाई बढी सहयोग आवश्यक पर्ने गरेको उनीहरूको अनुभव छ। 

फुड बैंक सञ्चालनमा आएपछि टाढाटाढाबाट बूढाबूढीहरू घण्टौं हिँडेर खाद्यान्न लिन आउन थाले। छाक टार्न गाह्रो भएका वृद्धवृद्धाहरूले यस्तो सास्ती पाएको थाहा पाएपछि उनीहरूले घरदैलो अभियान सुरु गरे।

‘मान्छेबाट मान्छे टाढा बस्नुपर्ने समयमा घरमा एक्लै भएका आमाबुबा, अपांगता भएका व्यक्तिलाई धेरै समस्या पर्दो रहेछ। अनि आवश्यक परेकालाई घरमै ‘कोसेली’ पुर्याउन थाल्यौं,’ अन्सुल भन्छन्।

पेटभरी खाएर रमाउने दसैंमा पनि भोको पेट लिएर बस्नुपर्ने अवस्थाले उनीहरूलाई खुवै छोएको छ। 

उनीहरू अहिले जिल्लामा कोही पनि भोकै बस्न नपरोस् भन्ने अभियानका साथ तथ्यांक संकलन गरिरहेका छन्। ‘जिल्लाका हरेक वडाका वडाअध्यक्षहरूसँग समन्वय गरेर विपन्न परिवारको तथ्यांक संकलन गरेर कोशेली वितरण गरिरहेका छौं। एक वडामा पाँच परिवारसम्मको अवश्था विपन्न पाइएको छ,’ अन्सुल आफ्नो अनुभव सुनाउँछन्। 

उनीहरूले परिवारको अवस्था र संख्या हेरेर राहत दिने गरेका छन्। चामल, तेल, चिउरा, भुजा, दाल, मसला, बेसार, चना लगायतका खाद्यान्न कोशेलीका रूपमा वितरण हुन्छ। वितरण गरिएको घरमा कोसेली सकिएपछि आवश्यक परेको अवस्थामा उपलब्ध गराउँदै आएका छन्।

सानै उमेरदेखि बाल क्लबमा संलग्न रहेर सरसफाइसँगै दुव्र्यसनीविरुद्ध अभियान लगायतका सामाजिक काममा सहभागी भएको अन्सुल बताउँछन्। ‘यसैबाट संकटको समयमा सेवामा जुट्ने प्रेरणा मिलेको हो,’ उनी भन्छन्। 

कात्तिक १८, २०७७ मंगलबार ०७:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।