महिना दिनदेखि बेपत्ता ट्याक्टर चालक अझै भेटिएनन्

महिना दिनदेखि बेपत्ता ट्याक्टर चालक अझै भेटिएनन्

जुम्ला  : जिल्लाको चन्दननाथ नगरपालिका–९ बयालकाटियाका २५ वर्षीय धन गिरी गत असोज १५ गतेदेखि बेपत्ता छन्। उनि नगरपालिकाको वडा नम्बर ५, कालेखोलीकी रेणु शाहीको लु ३ त ९६२२ नम्बरको ट्याक्टर चालक हुन्।

गुठीचौर गाउँपालिका–१ मुणिसाँघुका कर्ण बस्नेतको घरमा सामान छोडेर रित्तो ट्याक्टरु लिएर जुम्ला सदरमुकाम खलङ्गा फर्कने क्रममा सोही गाउँपालिका– ५ लामाकार भन्ने स्थानबाट बेपत्ता भएका थिए।


सोही वडाका विमल महत, द्धन्द्धबहादुर शाही, सागर गिरी र विनोद गरीले ट्याक्टर चालक धन गिरीलाई १५ असोज राती हातपात र ढुंगामुढा गरी बेपत्ता पारेको उनका दाई भैरे गिरीेले  आरोप लगाएका छन। उनले भने महिना दिनसम्म नत भाईको लास भेटिएको नत शास नै।


लामो समयसम्म घटनाको छानविन नहुनुमा पीडित पक्षले आपत्ति जनाएका छन्। घटनाको छानविन गरी दोषीमाथि कारवाही गर्न पीडितका आफन्तले माग गरेका छन्।


पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा अपहरण तथा व्यक्ति बेपत्ता सम्वन्धी उजुरी दर्ता गरेको छ। घटनाको कसुरसँग सम्वन्धित जाहेरीमा उल्लेखित व्यक्तिहरुको कल डिटेलसमेत लिई बास्तविकता के कस्तो हो सो को जानकारी प्रष्ट पार्न माग गरेका छन्।


चालक गिरीको अवस्था मृत्यु वा जिवित के कस्तो हो यथाशिघ्र छानविन गरी सोको यथार्थ सार्वजनिक गर्न पनि माग गरेका छन्।


उक्त घटनामा संलग्न रहेको आरोपमा गुठीचौर गाउँपालिका – ५ का विमल महत, द्धन्द्धबहादुर शाही, सागर गिरी र विनोद गिरीलाई नियन्त्रण लिएर अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक माधब प्रसाद काफ्लेले बताए।


त्यसैगरी ट्याक्टर मालिक रेणु शाहीलाई पनि प्रहरी नियन्त्रण लिएर अनुसन्धान गरिरहेको छ। उनले भने प्रहरी निरन्तर घटनाको अनुसन्धानमा खटिएको छ। घटनाको प्रकृती अनुसार अनुसन्धान ढिलोचाँडो हुन्छ तर सत्य तथ्य पत्ता लाग्ने नै विश्वास गरिएको छ।

 

कात्तिक १७, २०७७ सोमबार १६:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।