४०० वर्ष पुरानो कात्तिक नाच अन्योलमा

४०० वर्ष पुरानो कात्तिक नाच अन्योलमा
फाइल तस्बिर।

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीका कारण चार सय वर्ष पुरानो कात्तिक नाच सञ्चालनबारे अन्योल देखिएको छ। 
 

कात्तिक नाच संरक्षण समिति अध्यक्ष किरण चित्रकार नाच सुरु हुने मिति यकिन नभएको बताउँछन्। ‘नाच कहिले सुरु हुन्छ भन्न सकिने अवस्था छैन। यसबारे राज्य पक्षसँग छलफल भइरहेको छ,’ उनले भने। 

नाच सञ्चालन गर्नेमा ललितपुर महानगरपालिका तथा अन्य स्थानीय तह सकारात्मक देखिएको अध्यक्ष चित्रकारको भनाइ छ।त्यसकारण नाच नरोकिनेमा उनी विश्वस्त छन्। ‘सुरक्षायन्त्रको प्रयोग गरेर कोरोना भाइरस (कोभिड–१९) को जोखिम कम गर्दै नाच सञ्चालन गर्नेबारे विभिन्न पक्षासँग निरन्तर अन्तरक्रिया गरिरहेका छौं,’ उनी भन्छन्।  

अध्यक्ष चित्रकार नाच संचालन गर्न समिति तयार रहेको र सरकारको अनुमति पर्खिएको बताउँछन्। उनी कम्तीमा दुई दिनसम्म नाच संचालन गर्ने अनुमति पाउनेमा आशावादी छन्। ‘दुई दिन नाच संचालन गर्ने अनुमति पायौं भने मसिंर ११ र १२ गते हुन्छ। चार दिनको अनुमति पायौं भने मसिंर ९ देखि १२ गतेसम्म गर्छाैं,’ उनले भने। 

लामो समयदेखि चल्दै आएकाले परम्परा जोगाउन सुरक्षा मापदण्ड अपनाएर भए पनि कात्तिक नाच सञ्चालन गर्नुपर्ने संस्कृतिविद् ओम धौभडेल बताउँछन्। ‘समस्या देखाउँदै गर्न पर्व गर्नै छाड्यौ भने हराउने खतरा हुन्छ। त्यसैले पर्वलाई निरन्तरता दिन आवश्यक छ,’ उनी भन्छन्। 

प्रविधिको माध्यमबाट यो नाचलाई घरैबाट हेर्ने माहोल बनाउन समितिले चासो दिनुपर्ने संस्कृतिविद धौभडेल जोड दिन्छन्। 

यसपालि वाद्यवादक तथा कलाकारमा भारी कटौती गरिने भएकाले आर्थिक भार पहिलेजस्तो नपर्ने समिति अध्यक्ष चित्रकार बताउँछन्। ‘साँझ नाच हुने हो, त्यसैले त्यति मानिस नहोलान्। परम्परा धान्न मात्र गर्ने हो,’ उनी भन्छन्। 

नाचको इतिहास 

३७८ वर्षअघि पाटनका राजा सिद्धिनरसिंह मल्लले कात्तिक नाचको प्रचलन चलाएका थिए। निरास र अल्छी भएका प्रज्ञालाई मनोरञ्जन दिन उनले कृष्णलीलामा आधारित नाचको प्रचलन चलाएका थिए। 

त्यसपछि उक्त नाच परिस्कृत हुँदै जान थाल्यो। पछिल्लो समयमा प्रचलनमा रहेको नाच भने विष्णु पुराणको कथामा आधारित नाच हो।

हरेक वर्ष कात्तिकमा नृसिंह नाचका रूपमा पाटन दरबारको पश्चिममा रहेको कात्तिक डबलीमा नाच सञ्चालन हुँदै आइरहेको छ। 

राजा सिद्धिनरसिंह मल्लले पाँच दिनमा  सकिने गरि प्रचलन चलाएको यस नाचलाई पछि उनका छोरा श्रीनिवास मल्लले (बाथः प्याँख) लोक नाटक मिसाएर १० दिन बढाए।

त्यसपछि फेरि श्रीनिवास मल्लका छोरा योगनरेन्द्र मल्लले उषाहरण तथा माधव वानललीला थपेर २७ दिन नाच सञ्चालन गर्ने गरेको बताइन्छ। त्यसपछि हरेक वर्ष कात्तिक कृष्ण प्रतिपदादेखि कात्तिक शुक्ल पूर्णिमासम्म नाच देखाउन थालियो। 

आर्थिक संकट

३० वर्ष अघिसम्म यस नाचको सम्पूर्ण खर्च राज्यले नै व्यहोर्थ्यो। त्यसपछि राज्यले आर्थिक सहायता दिन छाडेपछि कात्तिक महिनाभरि संचालन हुने यो नाच छोट्टिन थालेको जानकार बताउँछन्।  

पछिल्लो केही वर्षदेखि यो नाच कात्तिक शुक्ल षष्ठीदेखि त्रयोदशीसम्म (१२ दिन) छोट्याएर देखाइँदै आइएको छ। त्यस अवधिमा कृष्णलिला, शास्त्रीय नाच, लोक नाटक, उषाहरण लिला, जलशयन, बराह अवतार, नृसिंह अवतार, वस्त्रहरण, दधिलिला लगायतका नाचहरू देखाउने गरिएको छ। 

फाइल तस्बिर। 

एकपटक आर्थिक अभावका कारण २७ दिने उक्त नाचलाई २५ दिन घटाएर दुई दिन सञ्चालन गरिएको थियो। 

नाच मनोरञ्जनमा मात्र सीमित छैन, यसले जनचेतना पनि जगाउँछ। यसको रोचक पक्ष पनि छ। यसमा एक पटक नाचेका कलाकारले १२ वर्षसम्म निरन्तर नाच्नुपर्ने प्रचलन छ। 

नाचले ऐतिहासिक मल्लकालिन संस्कृतिको प्रतिनिधित्वसँगै त्यसबेलाको रहनसहन, व्यवहार, सांस्कृतिक तथा इतिहासलाई समेत समेटेको संस्कृतिविदहरू बताउँछन्। 

कात्तिक १७, २०७७ सोमबार १०:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।