कोरोना संक्रमण : चिसोमा ‘दोस्रो तरंग’ निम्तिने खतरा 

कोरोना संक्रमण : चिसोमा ‘दोस्रो तरंग’ निम्तिने खतरा 
कोरोना भाइरस संक्रमण परीक्षणका लागि नमुना संकलन गरिँदै।

काठमाडौं : नेपालमा जाडो मौसम सुरु भएसँग कोरोना भाइरस (कोभिड-१९) संक्रमणको ‘दोस्रो तरंग’ आउन सक्नेतर्फ चिकित्सकहरूले सचेत गराइरहेका बेला मृत्युदर बढेको छ।

कोरोना भाइरसका कारण नेपालमा केही दिनअघि (कात्तिक ११)को तथ्यांक अनुसार मृत्युदर ०.५ प्रतिशत रहेकोमा अहिले (कात्तिक १२ पछि) त्यो दर बढेर ०.६ प्रतिशत पुगेको छ। 

नेपालमा नौ सयभन्दा बढीको कोरोनाका कारण ज्यान गइसकेको छ। यो रिपोर्ट तयार पार्दासम्म नेपालमा सक्रिय संक्रमित ३८ हजार ९५२ छन्। कोरोना भाइरसका कारण विश्वमा ११ लाख ८७ हजारभन्दा बढीको ज्यान गइसकेको छ भने मृत्युदर २.६ प्रतिशत छ।

चिसो मौसमसँगै डिसेम्बर अन्त्यमा चीनको उहानबाट कोरोना भाइरस फैलिन सुरु भएको थियो। नेपालमा पनि चिसो मौसम सुरु भइसकेको छ। त्यसैले नेपालमा आगामी जाडो मौसममा कोरोना महामारीले दोस्रो तरंग पो लिने हो की भन्नेमा चिकित्सकहरू चिन्तित छन्। 

नेपालमा पहिलो तरंग देखिसकेको छ। विशेषरी युरोप, अमेरिकामा कोरोनाको दोस्रो तरंग देखिएको छ। 

सुरुवाती दिनमा गर्मी मौसममा यो भाइरस कम फैलिने आँकलन गरिए पनि त्यसो भएन। गर्मीको तुलनामा चिसोमा भाइरसको सक्रियताका लागि अनुकूल हुने विषयमा चिकित्सकको एक मत छ।

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन अबको जाडोमा नेपालमा कोरोनाको दोस्रो तरंग आउने सम्भावना रहेकाले सजग हुनुपर्ने बताउँछन्। ‘यो भाइरस जाडो मौसमबाट नै सुरु भएको थियो,’ डा. पुनले भने, ‘पहिलो तरंग देखिसकेका छौं। दोस्रो तरंग आउने सम्भावना छ।’ 

सन् १९१८ मा महामारीको रूपमा फैलिएको स्पेनिस फ्लुको दोस्रो तरंगमा धेरै व्यक्तिहरूको ज्यान गएकाले सजग हुन डा. पुनको सुझाव छ। विश्वमा यो भाइरसका कारण करिव पाँच सय मिलियन व्यक्ति संक्रमित भएको पाइन्छ। 

त्यसो त जनस्वास्थ्यविज्ञ अरूणा उप्रेती पनि वैज्ञानिकहरूको अध्ययन अनुसार जाडो मौसममा यो भाइरस बढी फैलिएर जोखिम बढ्ने देखिएको बताउँछिन्। डा. उप्रेतीले भनिन्, ‘जाडोमा सजग नभए थप जोखिम निम्तन सक्छ।’

चिसोमा बढी सक्रिय

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक वासुदेव पाण्डे पनि जाडोमा कोरोनाको दोस्रो तरंग फैलिन सक्नेतर्फ सजग गराउँछन्। ‘सतहमा पनि जाडोमा यो भाइरस अलि बढी समय बच्न सक्छ,’ निर्देशक डा.पाण्डेले भने, ‘२६ डिग्री सेल्सियसभन्दा बढी तापक्रम भएको बाहिरी सतहमा यो भाइरस धेरैबेर बाँच्न सक्दैन।’ 

बाहिरी वातावरणमा कोरोना भाइरस कति समयसम्म बाँच्छ भन्ने अध्ययनकै विषय भए पनि यो भाइरस करिव १० घण्टा बाहिरी सतहमा रहन सक्ने चिकित्सक बताउँछन्। तर, चिसो मौसममा अझ बढी बस्न सक्ने उनीहरूको भनाइ छ। 

अध्ययनले गर्मी मौसमको तुलनामा जाडोमा कोरोना भाइरसको संक्रमण अझ धेरै सक्रिय रहन सक्ने देखिएकाले जाडोमा विशेष सजगता अपनाउन डा. पुनको सुझाव छ। डा. पुनले भने, ‘जाडो मौसममा चिसोले गर्दा भाइरस बढी सक्रिय रहन सक्छ।’

अध्ययन अनुसार जाडो मौसम सुख्खा वातावरण हुने भएकाले पनि कोरोना भाइरस थप सक्रिय हुने अनुमान छ।

डा. पाण्डले जाडोमा यो भाइरस सतहमा लामो समयसम्म रहन सक्ने भएकाले विशेष सतर्कता अपनाउनुपर्ने सुझाएका छन्। कोरोना भाइरस विशेषगरी श्वासप्रश्वास तथा थुकको छिटाबाट सर्छ। संक्रमित व्यक्तिले  हाछ्यु गर्दा तथा थुकको छिटा कुनै पनि सामग्रीमा पर्न सक्छ। जाडो मौसममा त्यस्ता सामग्रीमा भाइरस लामो समयसम्म रहन सक्ने भएकाले व्यक्तिले संक्रमितले छोएको सामग्रीमा छुँदा अर्को व्यक्तिमा संक्रमणको जोखिम हुन्छ। 

त्यसो त विशेषज्ञहरूले यसअघि नै जाडो सुरु हुनुअघि कोरोना नियन्त्रण नभए जाडो मौसममा कोरोनाले दोस्रो तरंग निम्त्याउने जोखिम भएको बताउँदै आएका थिए। नेपालमा कात्तिकसम्ममा पनि कोरोना नियन्त्रण हुनुको सट्टा फैलने र संक्रमणका कारण मृतकको दर बढिरहेको छ। यसले के देखाउँछ भने तत्काल कोरोना नियन्त्रण नभए जाडोमा कोरोना संक्रमणको स्थिति झन् भयावह हुन सक्छ। 

जोखिम बढ्ने कारण

के कारणले जाडो मौसममा कोरोना संक्रमण बढ्छ भन्ने विशेषज्ञहरूसँग ठोस जबाफ छैन। तर, रुघाखाकी गराउने, रोटा, नोरो, इन्फ्लुन्जा जस्ता भाइरस जाडो मौसममा बढी सक्रिय हुन्छन्। त्यसैले योे मौसममा कोरोना भाइरस बढी सक्रिय हुने डा. पुनको अनुमान छ। 

सामान्यतः चिसो मौसममा व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने चिकित्सकको मत छ। जनस्वास्थ्यविज्ञ डा. उप्रेती भन्छिन्, ‘जाडो मौसममा भाइरसहरूको सक्रियता बढ्ने भएकाले कोरोना संक्रमण भए स्वास्थ्यमा थप जटिलता निम्तने जोखिम हुन्छ।’

चिकित्सकको मतलाई आधार मान्दा जाडो मौसममा विभिन्न किसिमका भाइरसको सक्रियता बढेजस्तै कोरोना भाइरसको पनि सक्रियता बढ्ने भएकाले गर्मीको तुलनामा जाडोमा कोरोनाले बढी आक्रमण गर्ने भएकाले कोरोना भाइरस सर्ने दर बढ्ने जोखिम हुन्छ। त्यसैले कोरोना भाइरसको सर्ने क्षमता पनि जाडो मौसममा बढी हुने चिकित्सक बताउँछन्। 

चिकित्सकका अनुसार जाडो मौसममा रुघाखोकी तथा इन्फ्लुन्जा गराउने भाइरस बढी सक्रिय हुने भएकाले कोरोनाको जोखिम पनि बढ्ने सम्भावना छ। डा. पाण्डेले भने, ‘रुघाखोकी लागेको अवस्थामा कोरोना संक्रमण भयो भने स्वास्थ्यमा थप जटिलता निम्न सक्छ।’ 

इन्फ्लुन्जा भएको अवस्थामा कोरोनाको संक्रमण भएको अवस्थामा स्वास्थ्य समस्याको जोखिम बढ्ने भएकाले चिकित्सकले सचेत रहन आग्रह गरेका छन्। पाका उमेरका व्यक्ति, पाँच वर्षभन्दा कम उमेरका बालबालिका तथा दीर्घ रोगीमा इन्फ्लुन्जाको जोखिम बढी हुने भएकाले यस्ता वर्गले विशेष सावधानी अपनाउन डा. पुनको सुझाव छ। इन्फ्लुन्जा एक प्रकारको भाइरस हो। मौसमी परिवर्तनसँगै देखिने इन्फ्लुन्जका कारण निमोनिया हुने तथा श्वासप्रश्वासमा समस्या आई व्यक्तिको ज्यानसमेत जान सक्छ।

दम, श्वासप्रश्वासमा समस्या भएका व्यक्ति, पाको उमेरका व्यक्ति तथा दीर्घरोगीमा जाडो मौसममा कोरोना संक्रमण भएको अवस्थामा थप स्वास्थ्य जटिलता निम्तन सक्नेतर्फ चिकित्सक सजग गराउँछन्। गर्भवती, सुत्केरी, दीर्घरोगी तथा कुनै रोगको औषधि सेवन गरिरहेका व्यक्तिमा संक्रमण भए स्वास्थ्य जटिलताको जोखिम बढी हुन्छ। 

जाडो मौसममा गुम्म कोठामा बढ्ने, झ्याल, ढोका लगाएर बस्ने भएकाले पनि कोरोनाको बढी जोखिम हुन सक्नेतर्फ डा. उप्रेती सजग गराउँछिन्। कोही संक्रमित भएको अवस्थामा हावा घुमिरहने भएकाले एयर कन्डिसन चलाएको ठाउँमा पनि कोरोना संक्रमणको बढी जोखिम हुने भएकाले एसी नचलाउन डा. उप्रेतीको सुझाव छ। डा. उप्रेतीले भन्छिन्, ‘झ्याल, ढोका खोलेर हावा खेल्ने खुला ठाउँमा बस्नुपर्छ।’

पर्वको प्रभाव

यसपालिको चाडपर्वमा कम भिडभाड देखिए पनि चाडपर्वमा व्यक्तिहरू ओहोरदोहोर गर्दा हुने भिडभाडका कारण कोरोना भाइरस बढ्न सक्नेतर्फ चिकित्सक सजग गराउँछन्। बजार, सवारीसाधनजस्ता ठाउँमा मास्क लगायतका स्वास्थ्य सुरक्षाका उपाय नअपनाउँदा कोरोना फैलने जोखिम रहेको भन्दै डा. उप्रेतीले चिन्ता व्यक्त गरिन्। उनी बजारमा किनमेल गर्न जाँदा पनि अत्यन्तै सचेत हुनुपर्ने सुझाउँछिन्। 

सार्वजनिक सवारीमा यात्रा गर्दा गाडीका ह्याण्डल, सिट वा कुनै ठाउँमा छुँदा तुरुन्तै स्यानिटाइजरको प्रयोग गर्न चिकित्सकको सुझाव छ। यात्रा अवधिमा पनि सम्भव भएसम्म केही घण्टाको फरकमा साबुन पानीले हात धुनुपर्छ। मास्क राम्रोसँग लगाउनुपर्छ। साबुनपानीले हात धुन कन्जुस्याइँ गर्न नहुने डा. पाण्डेको सुझाव छ। कुनै सतहमा छोएपछि राम्रोसँग हात धुन चिकित्सक सुझाउँछन्। चिकित्सकले स्वास्थ्य गाइडलाइन तथा स्वास्थ्य सुरक्षा अपनाएर सवारी साधन सञ्चालन गर्न सुझाएका छन्। यात्रुले त स्वास्थ्य सुरक्षा अपनाउनै पर्यो।

‘यात्रा गर्दा गाडीका सिसा खुला गर्दा राम्रो,’ डा. पुनले भने, ‘यात्रुले कुनै सतहमा छोएपछि स्यानिटाइजरको प्रयोग गर्नुपर्छ।’

चिकित्सकका अनुसार कोरोना भाइरस संक्रमित भएकामा सो भाइरसविरुद्ध लड्ने रोगप्रतिरोधात्मक क्षमताको विकास हुन्छ। तर, सो रोग प्रतिरोधात्मक क्षमता करिव दुई महिनापछि कमजोर हुँदै जान्छ। त्यसैले एक पटक संक्रमित भएका व्यक्ति पुनः संक्रमित भइ संक्रमणका कारण स्वास्थ्य जटिलता निम्तनसक्नेतर्फ चिकित्सक सजग गराउँछन्। यसको अर्थ एक पटक संक्रमित भएका व्यक्तिले फेरि संक्रमण भएर स्वास्थ्य जटिलता निम्तँदैन भनेर ढुक्क भएर बस्ने अवस्था हुँदैन। स्वास्थ्य सुरक्षा अपनाउनुपर्ने हुन्छ। कोरोनालाई कमजोर ठानेर हेल्चेक्रयाइँ गर्न नहुनेतर्फ चिकित्सकको एक मत छ। 
 

कात्तिक १७, २०७७ सोमबार ०८:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।