रात्रिकालीन प्रतियोगिताका लागि तयार हुँदै रंगशाला

रात्रिकालीन  प्रतियोगिताका लागि तयार हुँदै  रंगशाला
विराटनगरस्थित सहिद रंगशाला।

विराटनगर :  रात्रिकालीन खेलकुद प्रतियोगिता सञ्चालन गर्न विराटनगरको सहिद रंगशाला तयार पार्न थालिएको छ।

रंगशालामा स्थायी फ्लड लाइटको व्यवस्था गरि रात्रिकालीन खेलकुद प्रतियोगिता सञ्चालनको तयारी गरिएको हो। फ्लड लाइट जडान थालिएसँगै तराईको गर्मीमा तातो घाममा खेल खेल्नुपर्ने खेलाडीको बाध्यता अन्त्य भएको हुनेछ। 

स्थायी फ्लड लाइट जडान गरेपछि रंगशालामा रात्रिकालीन खेलकुद प्रतियोगिता सजिलै सञ्चालन गर्न सकिने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख देवराज कटुवालले बताए। उनले प्रदेश सामाजिक विकास मन्त्रालयले रंगशलाका लागि स्थायी फ्लडलाइट जडान गर्न लागेको जानकारी दिए।

उनका अनुसार फ्लड लाइट जडानका लागि पोलहरू रंगशालामा ल्याइसकिएको छ। लाइटहरू पनि विराटनगर भन्सारमा आइसकेकाले केही दिनमै रंगशालामा आइपुग्ने छ। कटुवालले फ्लड लाइट जडानको जिम्मेवारी पाएको ठेकदार कम्पनी कार्की बन्धु जेभीले दुई/तीन दिनमै फ्लड लाइट जडान सुरू गर्ने जानकारी दिए। 

कटुवालले भने, ‘सामान आइसकेको र ठेकदार कम्पनीले काम पनि थाल्ने जनाइसकेकाले फ्लड लाइट जडानको काम मंसिरमै सम्पन्न हुने छ।’

सहिद रंगशालाको चारै कुनामा चारवटा फ्लड लाइट जडान गर्ने तयारी गरिएको छ।

फ्लड लाइट जडानका लागि सामाजिक विकास मन्त्रालयले ४ करोड २९ लाख रुपैयाँमा ठेक्का दिएको मन्त्रालयले जनाएको छ । गत वर्ष नै ठेक्का लागेको भए पनि ठेकदार कम्पनीले समयमै काम नगर्दा फ्लड लाइट जडानमा ढिलाइ भएको थियो।

सात महिनामा काम सम्पन्न गर्नेगरि गत वर्षको असोजमा ठेकदार कम्पनी र प्रदेश सरकारवीच सम्झौता भएको सामाजिक विकास मन्त्रालयका युवा तथा खेलकुद शाखाका प्रमुख कोमल खड्काले जानकारी दिए।

सम्झौता अनुसार काम नभएको र कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारीका कारण काम प्रभावित बनाएकाले फ्लड लाइट जडानमा ढिलाइ भएको उनको भनाइ छ। मन्त्रालयले पुस २८ गतेसम्म म्याद थप गरेकाले उक्त अवधिमा काम सकिने उनले दाबी गरे।

उनले भने, ‘मंगलबारदेखि नै काम सुरू गर्ने ठेकदारले बताएकाले थपिएको म्याद अगाडि नै काम सकिनेछ।’

सहिद रंगशालामा जडान गर्न ल्याइएका फ्लड लाइटका सामानहरू। 

सहिद मैदानमा ३२ देखि ३५ मिटर उच्चाइको फ्लड लाइट फ्रेममा १ हजार वाटको २७ वटा बत्ती जडान गरिने छ। मैदानको चार कुनामा जडान हुने १ सय ८ फिट अग्लो मस्टमा १ सय ८ वटा बल्व जडान गरिने ठेकदार गणेश कार्कीले जानकारी दिए।

काठमाडौंबाहिर पहिलोपटक २०७४ चैतमा अस्थायी फ्लड लाइट राखेर विराट गोल्डकप प्रतियोगिता सञ्चालन गरिएको थियो। त्यतिबेला बाँसको खम्बामा फ्लड लाइट राखेर फुटबल प्रतियोगिता सञ्चालन गरिएको थियो।

पहिलोपटक विराट गोल्डकप सञ्चालन गरिएपछि विराटनगरको शहिद रंगशालामा स्थायी फ्लड लाइट जडानको माग राख्दै सरकारलाई दबाब दिन थालिएको थियो।

‘दर्शक अभाव हुँदैन’

विराटनगरमा आयोजना हुने खेलकुद प्रतियोगितामा सधैं दर्शक अभाव हुने गरेको छ। दिउँसो चर्को घाममा खेलकुद प्रतियोगिता आयोजना हुने गरेका कारण सधैं दर्शकको अभाव झेल्नु पर्थ्यो। तर, २०७४ सालमा रात्रिकालिन विराट गोल्डकप प्रतियोगिता आयोजना भएपछि दर्शकको अभाव भएन।

रात्रिकालिन खेलमा दर्शकको चाप थेगिनसक्नु रहेको देखिएको विराटनगरका खेलाडी प्रविण रानामगरले बताए। ‘घाममा तातो फ्याराफिटमा बसेर खेल हेर्न नसकेकै कारण दर्शक नआएका हुन्,’ उनले भने, ‘फ्लड लाइट जडान भएर रात्रिकालिन प्रतियोगिता सञ्चालनमा आएपछि दर्शको अभाव हुने छैन।’ 

विराटनरगरको शहिद रंगशालाको प्याराफिटमा १८ हजार दर्शक अट्ने क्षमता छ।

कात्तिक १७, २०७७ सोमबार ०६:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।