कर्णाली सत्तामा ओलीका हटेर नेपालका आउने, तर कहिले ?
काठमाडौं : कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले आइतबार बिहानै ‘३२ महिना सामाजिक विकास मन्त्रालयको नेतृत्व गरिरहँदा सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु’ भन्ने फेसबुक स्टाटस लेखे।
एकाबिहानै राखेको उनको स्टाटस लामो समयसम्म टिक्न सकेन। प्रधानमन्त्री एव नेकपाका अध्यक्ष केपीशर्मा ओली पक्षका रावलले मध्याह्न नहुँदै फेसकुब स्टाटस डिलिट गरे।
रावलले पोस्ट्याइसकेको स्टाटस हटाउनको राजनीतिक अर्थ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुको गुटबन्दी जुन कर्णालीको राजधानी सुर्खेतमा प्रर्दशन भइरहेको छ, त्यसैको कडी हो।
कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाही विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि दसैं अघि सुरु भएको कर्णालीको किचलो केन्द्रीय अध्यक्षहरु ओली र पुष्पकलम दाहालले काठमाडौंमा ‘मिलाउने प्रयास’ असफल भएर सुर्खेतमा पुगेर झन जटिल बनेको हो।
शीर्षनेताहरु मध्ये प्रधानमन्त्री ओली एकातिर छन् भने अध्यक्ष दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाल अर्कोतर्फ छन्। दसैं सकिएलगत्तै शनिबार दाहाल ओली खेमाले मन्त्रीहरुलाई राजीनामा गराएर नयाँ मन्त्रीमण्डल गठन गर्ने रणनीति मुख्यमन्त्री शाहीलाई सुझाएका थिए।
त्यही सुझाव अनुसार राजीनामा गर्ने मनस्थितिमा रावलले धन्यवाद दिँदै स्टाटस लेखे। यता प्रधानमन्त्री ओलीले आफ्ना पक्षधर मन्त्रीलाई राजीनामा नदिन दबाव दिएपछि रावलले स्टाटस मेटेको अर्थ सुर्खेतमा लगाइदैं छ।
शीर्ष नेताहरुको फरक फरक अडानकाबीच नयाँ मन्त्रीमण्डल गठनमा अवरोध उत्पन्न भएको छ।
संविधान अनुसार मुख्ममन्त्री शाहीलाई मन्त्रीमण्डल पुर्नगठन गर्न कुनै अवरोध नहुनुपर्ने हो। तर, उनी पुर्नगठन गर्न पनि नसक्ने र आफ्ना मन्त्रीहरुबाट राजीनामा गराउन पनि नसक्ने स्थितिमा छन्।
मुख्यमन्त्रीसहित ७ जनाको मन्त्रीमण्डलमा शाही वाहेक दुई जना पूर्वमाओवादी तर्फका र पूर्वएमाले तर्फबाट ओली पक्षधर दुई र नेपाल पक्षका एक जना छन्। एउटा मन्त्रालय खालीनै छ।
ओली पक्षका रावल र नन्दसिंह बुढालाई हटाएर नेपाल पक्षका चन्द्र बहादुर शाही, अमर थापा र करबीर शाही नयाँ अनुहार थप्ने पछिल्लो ‘राजनीतिक सहमति’ तत्काललाई टरेको छ।
मुख्यमन्त्रीविरुद्ध अविश्वाासको प्रस्ताव ल्याएपछि नेपाल समूहका तीनजनालाई पदबहाली गर्ने भन्दै शाहीले आश्वासन दिएका थिए। यही पद बाँडफाँडमा सन्तुलन मिलाउन मुख्यमन्त्रीय शाहीले आर्थिक मामिला तथा योजनामन्त्री मन्त्री प्रकाश ज्वालालाई मन्त्री बाट हट्न आग्रहसमेत गरेका थिए। ज्वाला पनि नेपालनिकट नै हुन्।
मुख्यमन्त्री शाहीले ओली समूहका मन्त्री हटाएर मन्त्रीमण्डल पुर्नगठन गर्दा थप विवाद उत्पन्न हुने भए पछि तत्काललाई पुर्नगठनको काम रोकेको उनी निकट स्रोतले जनायो।
‘तत्काल मन्त्रीमण्डल पुर्नगठन गर्ने सम्भावना छैन्। मन्त्री परिवर्तन गर्दा झनै ठूलो विवाद सिर्जना हुन्छ’, स्रोतले भन्यो, ‘मुख्यमन्त्रीले सोच विचार गरेर आवश्यक निर्णय लिनुहुने छ।’
नेकपा कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो।
मुख्यमन्त्रीविरुद्ध सांसदहरु यामलाल कँडेल, चन्द्र बहादुर शाही, करविर शाही, कर्मराज शाही, अम्मर बहादुर थापा, सुशील कुमरा थापा, मिना सिंह राणासहित १८ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।
उक्त प्रस्ताव प्रदेश सभाको बहुमत सदस्यले अस्वीकृत गरेको थियो।
कात्तिक १६, २०७७ आइतबार १३:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।