चोरी भयो ‘छ माया छपक्कै’

चोरी भयो ‘छ माया छपक्कै’

चलचित्र ‘छ माया छपक्कै’ पाइरेसी(चोरी) भएको छ। गतवर्ष हलमा प्रदर्शनमा आएको चलचित्र ‘छ माया छपक्कै ’ हिजो युटुबमा अपलोड भएको हो।

कहाँ र कसले अपलोड गर्यो भन्ने कुरा बाहिर आएको छैन। अपलोड भएको फिल्म हजार भन्दा बढीले दर्शकले हेरिसकेका छन्। फिल्म हलबाट उत्रिएपछि ‘चलचित्र एप’मा र डीस होममा पनि रिलिज गरिएको थियो।

आमा अग्नी कुमारीसँग रहेको चलचित्रको युटुब राइट्स बाहिरबाट रिलिज भएपछि निर्माण टिम पाइरेसीको खोजीमा रहेको छ।

निर्माता रोहित अधिकारीले चलचित्रको पाइरेसी गर्ने व्यक्तिको खोजी भइरहेको बताए। उकेरा डटकमसँगको कुराकानीमा उनले भने, ‘फिल्म पाइरेसी भएकै हो।

मैले पनि फिल्म पुरै हेरे र फिल्म पाइरेसी भएको थाहा पाए। फिल्म पाइरेसी भएका कारण कानुनी कारवाहीका लागि हनुमान ढोका जाने तयारीमा छौँ।’

अधिकारीले चलचित्र एपबाट डाउनलोड गरेर युटुबमा अपलोड गरेको हुनसक्ने आशंका रहेको बताए। पाइरेसी गर्ने मान्छे पनि चाँडै पत्ता लाग्ने निर्माता अधिकारीले जानकारी दिए।

चलचित्रमा दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ भने निर्देशन दिपेन्द्र लामाले गरेका हुन्।

चलचित्र पाइरेसीका बारेमा निर्देशक दिपेन्द्रले खासै आफुलाई थाहा नभएको र पाइरेसी भयो भन्ने हल्ला सुनेको बताए। उनले भने ,‘चलचित्र पाइरेसी भयो भन्ने कुरा बाहिर आएको छ। आफुलाई यसबारेमा आधिकारीक थाहा छैन।’ यसै टीमले केही हप्ता अघि चलचित्र ‘छ माया छपक्कै २’ को निर्माण गर्ने घोषणा गरेको थियो।

 

 

कात्तिक १६, २०७७ आइतबार १३:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।