कहिले आउला रेल ?
विराटनगर : दुई वर्षपहिले बथनाहा–बुधनगर रेलमार्गको परीक्षणका लागि रेलको इन्जिन नेपाल ल्याइयो। तत्कालै रेल सञ्चालनमा आउने हल्ला पनि फैलियो।
लिक परीक्षणका लागि रेलको इन्जिन ल्याउँदा स्थानीय निकै उत्साहित थिए। रेल हेर्न बुधनगरमा मानिसको भीड जम्मा भएको थियो। स्थानीयले माला लगाएर रेलको स्वागतसमेत गरेका थिए।
दुई वर्षपहिले लिक परीक्षणका लागि रेलको इन्जिन ल्याउँदा रेल हेर्न भेला भएका स्थानीय। फाइल तस्बिर।
लिक परीक्षण सफल भएकाले चाडै रेल सञ्चालनमा आउने बथनाहा–कटहरी रेलमार्ग निर्माण परियोजनाका प्रमुख अश्विनीकुमारले बताएका थिए। उनले कटहरीस्थित रेल स्टेसनको जग्गाको मुआब्जा विवादले निर्माणमा समस्या भएको भन्दै मुआब्जा विवाद टुंगो लागेर परियोजनालाई सरकारले जग्गा हस्तान्तरण गरेको डेढ वर्षमै निर्माण सम्पन्न हुने स्पष्ट पारेका थिए।
अश्विनीकुमारले दुई वर्षपहिले सरकारले जग्गा उपलब्ध गराए डेढ वर्षमै बथनाहा–कटहरी रेल सञ्चालनमा ल्याउन सकिने बताए पनि अझैसम्म जग्गाको मुआब्जा विवाद टुंगो लाग्न सकेको छैन। जग्गाको मुआब्जा विवादकै कारण बथनाहा–कटहरी रेलमार्ग निर्माण दुई वर्षदेखि अवरुद्ध छ।
बथनाहा–कटहरी रेलमार्ग सात वर्षपहिले निर्माण सुरू भएको थियो। निर्माण थालेको तीन वर्षमै सम्पन्न हुने परियोजना जग्गाको मुआब्जा विवादका कारण सात वर्षसम्म पनि निर्माण सम्पन्न हुन सकिरहेको छैन।
भारतको बथनाहादेखि बुधनर स्टेसनसम्मको काम दुई वर्षपहिले नै सकिए पनि त्यहाँदेखि कटहरी स्टेसनसम्मको काम अलपत्र छ। सरकारले निर्धारण गरेको भन्दा बढी मुआब्जा दाबी गर्दै केही जग्गाधनीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि रेलमार्ग निर्माण रोकिएको थियो।
बथनाहा–कटहरी रेलमार्गमा पर्ने जग्गा सरकारले उपलब्ध गराउने र रेलमार्ग भारत सरकारले अनुदानमा निर्माण गर्ने सहमति भइ काम सुरू गरिएको थियो। बथनाहा–कटहरी रेलमार्ग निर्माण गर्न चार अर्ब रूपैयाँ खर्च हुने अनुमान गरिएको छ।
यता मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले रेल स्टेसनको जग्गा विवाद टुंगो लाग्ने क्रममा रहेको बताएका छन्। उनले चाडै मुआब्जा विवाद टुंग्याएर निर्माण कम्पनीलाई जग्गा हस्तान्तरण गरिने जानकारी दिए। रेल्वेको काम सुरू गर्ने विषयमा निर्माण कम्पनीका प्रतिनिधिसँग पनि जिल्ला प्रशासन कार्यालयले छलफल गरेको निरौलाले बताए। चाडवाड सकिएपछि निर्माण सुरू गर्ने तयारी भइरहेको निरौलाले जानकारी गराए।
कटहरीमा निर्माण हुने रेल स्टेसन र रेल स्टेसनसम्म पुग्ने डेढ किलोमिटर लामो रेलमार्गका लागि १४ बिघा जग्गा अधिग्रहण गर्ने सरकारको तयारी छ। विराटनगर–१८, भेडियारीदेखि कटहरीस्थित रंगेली रोडसम्मको जग्गा अधिग्रहण सम्पन्न भइ रेल वेको ट्रयाकसमेत खुलिसकेको छ।
रंगेली रोडदेखि महेशपुरसम्मको डेढ किलोमिटर भागमा मुआब्जा विवादले काम अवरुद्ध बनेको छ। भारतको बथनाहादेखि मोरङको कटहरीस्थित महेशपुरको रेल स्टेसनसम्म १८ किलोमिटर दुरी छ। यही रेलमार्ग विस्तार गरेर मोरङको हात्तीमुडा हुँदै सुनसरीको खनारस्थित प्रस्तावित पूर्व पश्चिम रेल मार्गसम्म विस्तार गर्ने रेल विभागको योजना छ।
आयात–निर्यातमा सहज
बथनाहा–कटहरी रेलमार्ग निर्माण सम्पन्न भए भारत तथा तेस्रो देशबाट हुने आयात तथा निर्यात सहज हुने मोरङका उद्योगी–व्यवसायी बताउँछन्।
रेलबाट सोझै नेपालमा सामान ल्याउन सके ढुवानीको समस्या समाधान हुने र लागत पनि कम हुने मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुण्दडाले बताए। उनका अनुसार हाल रेलबाट आयात गरिएका सामानहरू भारतको बथनाहासम्म मात्रै आउने गरेको छ। बथनाहासम्म रेलमा ल्याइएका सामानहरू त्यहाँबाट ट्रकमा लोड गरेर ल्याउनुपरिरहेको छ।
‘रेलबाट आयात गरिएका वस्तुहरू सोझै नेपाल आए लोड अनलोड, लगायतका खर्चहरू कटौती हुन्छ,’ मुण्दडाले भने।
संसारमा सबैभन्दा सस्तो ढुवानीको साधन पानीजहाजपछि रेल नै भएकाले रेलमार्गबाट सोझै सामान आयात–निर्यात गर्ने अवस्था आए ट्रकको तुलनामा ढुवानी निकै सस्तो पर्ने उद्योगी अविनाश बोहोरा बताउँछन्। उनका अनुसार ट्रकबाट सामान आयात गर्दाभन्दा रेलबाट आयात गर्दा ५० प्रतिशत ढुवानी भाडा कम पर्छ।
लोड–अनलोडको झमेला अन्त्य हुने र ढुवानी भाडा पनि कम पर्ने भएकाले बथनाहा–कटहरी रेलमार्ग चाडो सम्पन्न गरेर सञ्चालनमा ल्याउन मोरङका उद्योगी–व्यवसायीहरूले सरकारलाई दबाब दिँदै आएका छन्।
कात्तिक १६, २०७७ आइतबार ०३:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।