कोरोना बढ्दै, सरुवा रोग घट्दै
काठमाडौं : भनिन्छ, ‘कालो बादलभित्र पनि चाँदीको घेरा हुन्छ।’ कहिलेकाहीँ एउटा पाटो नकारात्मक हुँदा अर्को पाटो सकारात्मक हुन सक्छ। कोरोना भाइरस (कोभिड˗१९) संक्रमणको महामारीको अवस्थामा यस्तै भएको छ।
कोरोना संक्रमणको महामारीले तरंगित बनाइरहेको अवस्थामा नेपालमा अधिकांश सरुवा रोग भने कम भएका छन्। सन् २०१९ को तुलनामा अहिले (२०२०, अक्टोबर)सम्मको तथ्यांक हेर्दा नेपालमा कोरोना बाहेकका सरुवा रोग कम देखिएका हुन्।
यो वर्ष मौसमी फ्लु (इन्फ्लुन्जा), रुघाखोकी, टाइफाइड, निमोनिया, झाडापखाला, आउँ, हैजा, डेंगुजस्ता सरुवा रोगहरू कम देखिएको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनले जानकारी दिए।
‘नेपालमा कोरोना भाइरस सुरु भएपछि धेरैजसो सरुवा रोग कम भएका छन्,’ डा. पुनले भने, ‘जुनदेखि अगस्टसम्ममा धेरै देखिने रुघाखोकी तथा फ्लु यसपाली खासै देखिएन।’
नेपालमा मात्रै होइन, विश्वमा नै रुघाखोकी तथा फ्लु लगायतका सरुवा रोगहरू कोरोना महामारीको समयमा गत वर्षभन्दा कम देखिएको डा. पुनले बताए। उनले भने, ‘यी विषयमा अध्ययन गरिएका मुलुकमा पनि नाटकीयरूपमा फ्लु लगायतका सरुवा रोग कम भएको देखिन्छ।’
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा फ्लुका कारण वर्षेनी करिव साढे ६ लाख व्यक्तिको ज्यान जाने गरेको छ।
त्यसो त इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डे पनि कोरोना भाइरस फैलिरहेको अवस्थामा सरुवा रोग भने कम देखिएको बताउँछन्। गत वर्षभन्दा मौसमी फ्लु, रुघाखोकी, झाडापखाला जस्ता अधिकांश सरुवा रोग कम देखिएको डा. पाण्डेले जानकारी दिए।
मौसम परिवर्तनसँगै फ्लु सक्रिय भएको देखिन्छ। फ्लु सक्रिय हुने दुईवटा मौसम हुन्छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको तथ्यांक अनुसार असारदेखि भदौ (जुलाईदेखि सेप्टेम्बर)मा फ्लु संक्रमितको चाप बढेको देखिन्छ। माघको अन्त्यदेखि वैशाख ( जनवरीदेखि अप्रिल)मा फ्लुको परीक्षण गराउनेको चाप बढी नै हुन्छ। नेपालमा यी मौसम परिवर्तन हुने महिना हुन्।
नेपालमा विगतका वर्षहरूमा जुनदेखि अगस्ट र जनवरीदेखि मार्चसम्म फ्लुको समस्या बढी देखिने भए पनि यो वर्ष जुनदेखि अगस्टमा फ्लु कमै देखिएको चिकित्सक बताउँछन्।
डा. पाण्डेले भने, ‘यसपालीको जुनदेखि अगस्टसम्ममा गत वर्षभन्दा इन्फ्लुन्जाको समस्या कमै देखियो।’
सन् २०१४ देखि २०१८ सम्मको प्रयोगशालाको तथ्यांक अनुसार फ्लुको परीक्षण गराउनेमध्ये करिव २५ देखि ४० प्रतिशतसम्म व्यक्तिमा फ्लुको संक्रमण (पोजेटिभ) देखिन्छ। यो वर्ष भने यो संख्या निकै कम भएको चिकित्सक बताउँछन्।
मार्चको तुलनामा अगस्टमा फ्लु बढी देखिन्छ। तर, अगस्टमा कम देखिनुले कोरोना निरन्तर रहिरहँदा आउने जाडो मौसममा पनि मौसमी फ्लु कम देखिने हो की भन्ने एकथरी चिकित्सकको आँकलन छ। तर, आउने जाडो मौसममा मौसमी फ्लुले कस्तो रूप लिन्छ भन्ने विषय भने अहिले नै यकिनरूपमा भन्न अलि हतार हुने चिकित्सक बताउँछन्।
यद्यपि, चिसो मौसममा कोरोनाले दोस्रो तरंगको रूप लिन सक्ने अनुमान गरिएको छ। फ्लुबाट बच्नको लागि भ्याक्सिन तथा औषधि पनि छन्।
यो वर्ष डेंगुको समस्या पनि कम भएको चिकित्सक बताउँछन्। गत वर्ष डेंगुले विभिन्न ठाउँमा महामारीको रूप लिए पनि यो वर्ष डेंगु कमै देखिएको डा. पाण्डेले जानकारी दिए। उनले भने, ‘अरु रोग पनि कम भएको तथ्यांकले देखाउँछ।’
महाशाखाको तथ्यांक अनुसार यो वर्षको कात्तिकसम्म (सन् २०२० को जनवरी देखि अक्टोबर)सम्ममा चार सय १२ जनामा डेंगुको संक्रमण देखिएको छ, जुन गत वर्षभन्दा न्यून हो।
महाशाखाकै वरिष्ठ स्वास्थ्य प्रशासक तथा किटजन्यरोग शाखा प्रमुख डा. प्रकाश साह पनि गत वर्षको तुलनामा यो वर्ष सरुवा रोगमा कमी आएको बताउँछन्। ‘मलेरिया त गत वर्षभन्दा कम भएकै हो,’ डा. शाहले भने, ‘यो वर्ष हैजा देख्दै देखिएन।’
उनका अनुसार यो वर्ष (कात्तिकसम्ममा)मलेरिया ७६ जनामा देखिएको छ।
झाडापखाला पनि अत्यन्तै कम देखिएको उनी बताउँछन्। डा. शाहले कालाजार, स्क्रबटाइफस जस्ता सरुवा रोग भने गत वर्षकै हाराहारीमा देखिएको बताए।
गत वर्ष करिव दुई सय ५० जनामा कालाजार देखिएको उनी बताउँछन्। कालाजार यो वर्ष (कात्तिकसम्ममा) एक सय ८२ जनामा देखिएको छ भने स्क्रब टाइफस एक हजार ४७० जनामा देखिएको छ।
कम देखिनुको कारण
एकातर्फ कोरोनाका कारण परीक्षण नै कम भएर पो यस्ता सरुवा रोग कम देखिएका हुन् की भन्ने प्रश्न उब्जिन्छ। रुघाखोकी, फ्लु लगायतका सरुवा रोग विश्वमा नै यो वर्ष कम देखिएकाले नेपालमा पनि कम देखिनुलाई डा. पुनले अनौठो मानेका छैनन्। तर, कोभिडको समयमा किन रुघाखोकी तथा फ्लुजस्ता सरुवा रोग कम देखियो भन्ने बिषयमा चिकित्सकहरूमाझ बहसको विषय बनेको छ।
फ्लु र कोरोना दुवैको सर्ने तरिका उस्तै छ। दुवै भाइरसको श्वासप्रश्वास तथा थुकको छिटाबाट सर्छन्। कोरोना भाइरसको संक्रमण अहिले पनि फैलिरहेको छ।
उस्तै प्रकृतिले सर्ने भए पनि कोरोना सर्ने तर फ्लुचाहिँ कम हुनु अध्ययनको विषय रहेको डा. पुन बताउँछन्। भौतिक दूरी कायम गरेकाले पनि फ्लु लगायतका सरुवा रोग कम सरेको हुनसक्ने चिकित्सकको मत छ।
त्यसो त कोरोनाका कारण व्यक्तिहरूको स्वास्थ्य सचेतना बढेकाले यस्ता रोग कम देखिएको चिकित्सकको अनुमान छ। तर, नेपालमा के कारणले यो वर्ष सरुवा रोग कम देखिए भन्ने विषयको यकिन अध्ययन नभएको डा. पाण्डे बताउँछन्। उनले भने, ‘हाम्रो त अहिले अध्ययनभन्दा पनि बिरामीहरू गनेर मात्रै बस्ने अवस्था भएको छ।’
कोरोना महामारीको समयमा व्यक्तिले मास्क लगाउने, हातखुट्टा धुने, सरसफाइमा ध्यान दिएकाले पनि झाडापखाला लगायतका रोग यो वर्ष कम भएको चिकित्सक बताउँछन्। धेरै किटाणु हातबाटै शरीरभित्र प्रवेश गर्ने भएकाले राम्रोसँग हात धुँदा रुघाखोकी, झाडापखाला, कोरोनालगायत धेरै रोगबाट बच्न सकिन्छ। डा. पाण्डे भन्छन्, ‘राम्रोसँग हात धुँदा धेरै रोगबाट बच्न सकिन्छ।’
मास्क लगाउनाले रुघाखोकीजस्ता श्वासप्रश्वाससम्बन्धी रोग पनि कम देखिएको डा. शाहले बताए।
कोरोनाका कारण व्यक्तिगत सरसफाइमा राम्रो ध्यान पुगेकाले रुघाखोकी, झाडापखाला लगायतका सरुवा रोग कम भएको चिकित्सक बताउँछन्। ‘कोभिडका कारण पर्सनल हाइजिन राम्रो मेन्टेन भयो,’ डा. शाहले भने, ‘साबुन˗पानीले हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने जस्ता व्यक्तिगत सरसफाइमा ध्यान दिँदा सरुवा रोग कम देखियो।’ टाइफाइड, हेपटाइटिस तथा झाडापखालामा हात धुँदा विशेष फाइदा पुग्ने डा. पुन बताउँछन्।
महामारीका कारण घरमा बस्दा घर वरपर सफा गर्ने तथा खाल्डाखुल्डी पुरेकाले पनि डेंगु फैलिनबाट रोकिएको चिकित्सकको तर्क छ।
कोरोनाका कारण घरैमा बसेर व्यवस्थितरूपमा खानपान गर्ने तथा व्यवस्थित जीवनशैली अपनाएकाले पनि यस्ता रोग यो वर्ष कम देखिएको हुनसक्ने डा. पाण्डेको आँकलन छ। घरबाहिर धुलोधुवाँमा हिँडडुल कम गर्ने, मद्यपान तथा धुमपान कम गरेकाले पनि सरुवा रोग कम लागेको हुनसक्ने चिकित्सकको आँकलन छ।
कुकुरले टोक्नेको संख्या पनि गत वर्षको तुलनामा यो वर्ष आधाभन्दा कम भएको निर्देशक डा. पाण्डेले जानकारी दिए। कोरोना संक्रमणको डर तथा लकडाउनका कारण मानिसहरू घरबाहिर कमै निस्कँदा कुकुरले टोक्नेको संख्यामा कमी भएको देखिन्छ।
भनिन्छ,‘अन्धकारमा सानो दियो बल्दा आशाका पालुवा पलाउँछन्।’
त्यसैले कोरोना महामारीको अवस्थामा अन्य सरुवा रोग कम भएर आशाको नयाँ पालुवा फिरेको पो हो की भन्ने आशा गर्न सकिन्छ।
कात्तिक १६, २०७७ आइतबार ०२:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।