मायारूपी मन
कात्तिक मासको एक रात। रात्रिकालीन चिसो छेक्न सिरक ओढेर सुतेको थिएँ। तर, पटक्कै निद्रा लागेन। निद्रादेवीको काख नपाएपछि मन यताउता भड्किरहेको थियो। मनमा अनेक कुरा खेल्दै थिए।
त्यसपछि मनको बहाबलाई कलमको सहायताले मसीरूपी लेखमा परिवर्तन गर्ने अठोट गरें। र, कोठाबाट बाहिर निस्किएँ।
पूर्णिमाको रात थियो त्यो। त्यसैले चन्द्रमाकोे सौन्दर्यमा केही कमी थिएन। तर, चञ्चल मनले त्यो शालिनताको कदर गर्न जानेन। र, तथानाम भत्भताइरह्यो। रोकिने कुनै संकेत दिएन।
त्यसपछि सोही साँझको घटना सम्झिएँ।
त्यो साँझ मनको वह प्रकृतिलाई सुनाउँछु भन्दै घरपारि उत्तर दिशामा अवस्थित गाउँतर्फ लागें। यसो त म बेलाबखत मनको भेल रोक्न प्रकृतिसँगको स्पर्शमा रमाउने गर्छु। मलाई गाउँको शान्त वातावरणमा आनन्द लाग्छ। सहरी कोलाहलबाट राहत महसुस गर्छु म।
केही समयपछि गाउँमा रहेको ठूलो पीपल र वरको बोटनजिक पुगें। बाल्यकाल छँदा आमाले वर र पीपल प्रेमीप्रेमिका हुन भन्नुहुन्थ्यो। त्यसपछि मनमनै लजाएर आफ्नै प्रेमिकालाई सम्झिएँ।
अलिक पर हिँड्दै गएँ। तर, केही पाइला हिँडेपछि म डगमगाए। स्वतः रोकिन पुगें। त्यहाँ एउटा सानो छाप्रो थियो। छाप्रामा मान्छेहरूको खुब चहलपहल देखिन्थ्यो।
अलि अगाडि गएँ। त्यहाँको एक भट्टीमा अधबैंसे आइमाई थिइन्। भट्टीमा राखिएका काठको टेबल कुर्सीहरूमा हरेक उमेरका पुरुषहरू थिए। कोही धुवाँमा रमाउँदै थिए त कोही नसामा झुम्दै। कोही ‘साहुनी साहुनी...’ भन्दै ती महिलालाई छुँदै थिए। साहुनी भने मुस्कुराइरहेकी थिइन्।
आँखा अझ डुलाएँ। त्यहाँ एक कुनामा एक अधबैंसे पुरुष भुइँमा लडेका थिए। नसामा झुम्म ती पुरुष तिनै साहुनीका श्रीमान थिए।
मैले साहुनीलाई हेरें। उनी मुस्कुराइरहेकी थिइन्। तर, उनको मुस्कानमा पीडा देखिन्थ्यो।
ती महिलालाई घरखर्चको जिम्मेवारी पनि थियो। ती साहुनीकी एक छोरी छिन् अरे। उनी सामुदायिक क्याम्पसमा विज्ञान संकायमा पढ्छिन्।
एकछिनपछि भट्टीमा एक महिला पुगिन्। ती चिनेजानेकै थिइन्। उनका श्रीमान त्यो भट्टीको सदावहार ग्राहक। उनले श्रीमानलाई ‘घर जाऔं’ भनिन्। श्रीमानले मोबाइलले उनको टाउकोमा बजारे। उनी भुइँमा लडिन्। त्यो भट्टीमा यसरी लड्नेहरू धेरै छन् भन्दै थिए साथीहरू !
मन थाम्दै अलिक पर पुगेँ। २२० सिसीका चार वटा पल्सर बाइक देखेपछि फेरि अडिएँ। यताउता हेरे। कान्ला तल सात केटाहरू कागजमा केही बेर्दै थिए।
सुनेको थिएँ– त्यहाँ सहरका ‘ट्यापे’ केटाहरू गाँजा–चरेस सेवन गर्न र सुई हान्न आउँछन् अरे।
अस्ति एउटाले बाइक एक पसलभित्रै छिरायो अरे। त्यो अहिले केएमसीमा भर्ना भएको छ अरे। धन्न बाँचेछ !
घरतिर फर्किने सोच बनाएँ। र, पाइला डोर्याएँ।
घर तल, पसल छ प्रख्यात ! त्यहाँ व्यासी र दरबार स्क्वायरका ठिटाहरूको मात्रै बास हुन्छ। प्रहरीको घर पो हो भन्दै थिए, केही मान्छेहरू। त्यहाँ हल्काफुल्का ‘यताउता’ हुन्छ रे भन्ने हल्ला छ बजारमा।
त्यहाँ आउनेहरू पसलमा बसेर आउने जाने केटीलाई दुःख दिने गर्छन्। त्यति मात्रै होइन, पोर्ट र लुडो खेल्दै धुवाँमा समेत उड्छन्।
म भने ‘नयाँ नेपालका नयाँ पुस्ता’ यस्तै रहेछन् भन्ने सोच्दै घरतिर छिरें।
मलाई प्रश्नहरूको भेलले पिरोल्न थाल्यो। गाउँपारिको भट्टी। साहुनीको विवशता। जड्याहा लोग्ने। स्वास्नीको पीडा। कान्लामा बसेका केटाहरू अनि घर तलको पसल। जवानीको जोशमा होश हराउन पुगेका ती ठिटाहरू !
मानिसको जीवनमा टार्न नसकिने कुरा हो, दुःख। यो सबैले भोग्नै पर्छ। पीडा सबैलाई हुन्छ। मन सबैको रुन्छ। अनि वेदनाको महाभारत हरेकले पार गर्नै पर्छ। तर, यी सबै क्षणिक हुन्। समयको भेलले यिनलाई बगाएर लान्छ।
हरेक कालरात्रिलाई बिहानीको सुनौलो किरणले स्वागत गर्छन्। हरेक घाउमा मल्हम लाग्छ अनि हरेक कष्ट जीवनको एक नयाँ अनुभवमा सीमित हुन्छ।
मरणतुल्य माटो˗पानीको शरीरमा अप्ठयारा परिस्थितिमा भट्टीमा घिस्रिनु, धुवाँका कणमा उड्नु, लागुऔषधमा डुब्नु अनि औचित्यहीन कार्यमा लिप्त हुनु पक्कै नै मानव जातिको निम्ति श्राप हो।
हरेक समस्यामा नडगमगाइकन, सही र गलत पैलाएर अघि बढेमा सायद कसैले पनि भट्टी साहुनी बन्नुपर्ने थिएन। मोबाइलको झट्टी खानु पर्ने थिएन।
सृजनाको उमेरमा धुवाँ, रक्सी तथा अनैतिक कार्यमा लाग्नुभन्दा परिकल्पना, अशल र संकल्प लिएर अघि बढे कसो होला ?
म दार्शनिक त होइन। तर, मानव जीवनलाई सदैव जिवन्त राख्नुपर्छ भन्ने सोच राख्छु। सत्मार्गमा लागे त्योे भट्टीमा महाऋषि वेदब्यास र बुद्ध भेट्छु। त्यो कान्लामा आइनस्टाइन र स्टिभ जब्स देख्छु। अनि त्यो पसलमा नेल्सन मन्डेला र बीपी कोइराला देख्छु।
मायाद्वारा सञ्चालित मन न हो। आकांक्षा उत्पन्न गराउँछ। मोहरूपी आशा जागृत गराउँछ।
कात्तिक १५, २०७७ शनिबार १८:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।