निबन्ध : चरा-चिरिबिरी

निबन्ध : चरा-चिरिबिरी

चराको चञ्चलता। चराको सुन्दरता। चराको गतिशीलता। चराको मित्रता। र, चराको प्रेममय एकता। चरा तिमीहरू जति सुन्दर र स्वतन्त्र छौ, त्यत्तिकै तिम्रा अनुकरणीय पक्षहरू पनि छन्।

चरा तिम्रा चिरबिर हामी सदा सुनिरहन्छौं। चराको चिरिबिरीमा जिन्दगीको मिठास। चराको चिरिबिरीमा संगीतको आभास। चराको स्वतन्त्रतामा खुसियालीको स्वाद।

प्रभाती किरणले धर्ती चुमेपछि चराचुरुङ्गीका स्वर गुञ्जेपछि, मन कति रमाइलो प्रकृति नै जागेपछि, यस्तो स्वर्णिम क्षणमा खुसी भलिभाँती। शरदको याम आफैंमा रङ्गीन। फूलहरुका मुसुमुसु मुस्कानमा सजिएको। कोरोना कहरले थलिए पनि ज्यानमा खुसियालीको बहार छ। यसो हुनु चरा चञ्चलता वा चरा चरित्रकै चिनारी हो। यति नभए ज्यान जीवन्त हुनै सक्दैन। मृत्युतुल्य आँसुमा डुबेर बाँच्नुको के मज्जा?

चरा तर तिमी विचरा! हामीले देख्दा उडेका छौ निस्फिक्री तिमी आकाशमाथि–माथि। तिम्रो स्वच्छन्द उडान देखेर डाहा गर्नेहरू पनि छन्। तिम्रो स्वतन्त्रतामा आरिस गर्नेहरू पनि छन्। तर तिमीलाई कसैले सोधेको छ तिमीले के खायौ चरी, कस्तो छ चरी तिमीलाई? भनेर।

हो, तिम्रो खानपानको पीडा, बस्ने र बचेरा हुर्काउने समस्या तिमीलाई नै थाहा छ। तै पनि तिमी आफू रोएर अरूलाई हँसाउँदै उडानको बेग मार्न छोडेका छैनौ। धन्य, तिम्रो सन्तोषी जीवन! धन्य तिम्रो उडानको बेग! धन्य, धन्य! विचरा चरा! चरा विचरा!

झरना, खोलाखहरे र चराहरूले गन्तव्य भेट्न बेग हानिसके। हामी अलमलमा छौं किन? कहिले पुग्ने गन्तव्यमा? यी प्रकृति र परिवेशबाट पनि हामीले शिक्षा लिन सक्छौं। अन्यथा जहाँको त्यहीँ। भावनामै बगिरहे त कसरी सागर भेट्न पुगिन्छ र!

बिहान नभई चराचुरुङ्गी पनि कहाँ बेग मार्छन् र! प्रकृतिले पनि जाँगर जगाउँछ बिहानैदेखि। जिन्दगीको समय तालिका पनि यही हो, यस्तै हो।

बिउँझिँदै प्रकृति पुनः रात्रि अन्धकारबाट मुक्त हुँदै बल्ल। जीवात्मालाई जीवनको घमाइलो शुभदिन भिœयाउँँदै अब। शुभप्रभातको मिर्मिरेमा सन्देश सुमधुर बाँड्दै शुभकामनाका शुभेच्छाहरू।

विचरा चरा मात्र होइन यिनको पहिचान। मित्रता, मितव्ययिता, स्वाभिमान सबै छ यी चराहरूमा। मिलेर बस्ने, मिलेर खाने अनि मिलेर उडानको बेग मार्ने। कुनै लोभ, मोह छैन। तर डर छ हामीदेखि। मायाको भोको यी चरा तथापि हामीसँग विश्वास गर्दैन। हामीले यिनलाई दानापानी दिए पनि हामीसँग तर्किरहन्छ, डराइरहन्छ। विश्वासको संकट छ सबैलाई सबैतिर !

भालेको बाससँगै बिहान हुनु। भालेको डाक्मै बिउँझिनु जिन्दगी। सरलताको चिनारी। सुन्दरताको निशानी। सक्रियताको सूचक। चित्रमा संयोजन भए जस्तै आफैँमा परिपक्व र पूर्णविश्वासका रङ–प्रवाह र रङ–प्रक्षेपणको मिठास। जीवन यस्तै सरल, सरस, सुन्दर र समृद्ध भइदियोस्। आफैँमा आफ्ना कर्महरूमा नित्य निरन्तर!

उदाउन लागिरहेको र डुब्न लागिसकेको घामको यात्रा विचारौं न। यिनको रूपरङ बदलिन्छ। यौटाले उज्ज्वल दिन भित्र्याउँछ। अर्काेले अन्धकारको रात निम्त्याउँछ। यसलाई जिन्दगीसँग तुलना गरौं न। रातपछि दिन अवश्यं आउँछ। दुःखपछि सुख पनि अवश्य हुन्छ। सक्रियता, निस्क्रियता, उठान, बिसानका नियमित सिलसिलाहरू। तर यसको सबल पक्ष भन्नु अँध्यारो रातपछि उदाउने उज्यालो बिहानको उपस्थिति।

यही सन्देश ग्रहण गरी हामीले पनि पीडा, तनाव, दुःखका कैयौं उतार–चढावहरूलाई बिर्सौँ। त्यसलाई रातमै रित्याएर बिहानी आगमनको प्रतीक्षा गरौँ। अनि उज्यालो दिनमा अर्काे नवजीवनको अध्याय प्रारम्भ गरौँ। यसो गर्नु शुभदिनको सदुपयोग पनि हो।

चरा यो दिन हाम्रै हो। यो बिहानी हाम्रै हो। यो हाम्रो शुभबिहानी दिनलाई सकारात्मक सोंच र सामथ्र्यले सदुपयोग गरौं। जसमा कसैको मन दुख्नु हुँदैन। कसैको मन रुनु हुँदैन। हाँस्नु, हँसाउनु र मिठो मुस्कानको आदान–प्रदानमा जिन्दगी जिउनुको सुदीर्घ सार्थकता सन्निहित हुन्छ। शान्तिको सुस्केरा नै पर्याप्त हुन्छ। सन्तोषी मन नै पूर्ण हुन्छ। शान्ति, सुन्दरता र समृद्धि नै सन्तुष्टि हो। सुखमय अनुभूतिको अध्याय हो। यिनै चित्रकला जस्तै आँखामा नबिझ्ने। बरू आँखाले हेरेर नअघाइने!

चराको चिरबिरले बिउँझिँदै गर्दा सपना–संसारबाट आँखा। विराट प्रकृतिको काखमा नतमस्तक हुन्छ। र, प्रार्थना गर्न थाल्दछ। शुभ–प्रभात! शुभ–संकल्प! शुभ–कर्म! शुभ–यात्रा! शुभ–दिन! शुभ–लाभ! 

सुस्वागतम् न्यानो–न्यानो, चिसो–चिसो बिहानीमा। चिरबिर चीत्कार चराका गुञ्जनसँगै बिउँझिएर सपना–संसारबाट। दिनको कामधाममा क्रियाशील हुन प्रेरित गर्दै यी विचरा चराले सुखद सन्देश प्रवाह गरिरहे छन्। तिनलाई आत्मसात् गर्दै हामी पनि जिन्दगीको सत्कर्ममा संलग्न होऔँ। 

चरा तिम्रै गुञ्जनसँगै मैले मेरो जिन्दगीको सुन्दर र सुमधुर बिहानी निम्त्याउँछु। तिम्रै गुञ्जनहरूमा रमाउँदै जीवनको पाइला चाल्छु। तिम्रो भाषा बुझिँदैन तर त्यही भाषामा मैले अपार सांगीतिक रागको रहस्यमय आनन्द महसुस गर्ने गरेको छु। तिम्रो फुरफुर र फुर्रर, भुर्रर उडाइ अनि चखिलो बोली जिन्दगीकै एक अनुपम स्वर हो। तृप्तिको एक पल। संगीतसँगको साक्षात्कार। चरासँगको चिनारी।

चराका चिरिबिरीमा आहा कति सुमधुर सांगीतिक गुञ्जन। बुझिँदैन केही कुरा तर सुनिरहँदाको आनन्द कति प्रीतिकर। कति मायालु। कति करुणामय। आकाशमा स्वतन्त्र उडेका चराको आफ्नै उडान। अनि पिँजडामा पालिएका चराको अर्कै बन्धन–वेदना। जे भए पनि जहाँ रहे पनि चिरिबिरी चर्तिकलामा गुञ्जिरहन्छ जिन्दगीका गीतहरू। ती गीति स्वरलहरीहरू पीडाकै हुन् अथवा प्रेमका तिनैमा भेटिन्छ यथार्थ अनुभूति समय र समाजका।

चराका चिरबिर र चुलबुल। चराका अनेक रङ र रूप। सुन्दरताको बिहानी बोकेर नाचिरहेका छन्। रमाइरहेका छन्। कुनै पीडा छैन। लोभ, मोह र डाहा छैन। कति पवित्र, कति स्वतन्त्र, कति निःश्चल, निःस्वार्थ चरित्र। अनि चराका चिरबिरमा कति आनन्दको सांगीतिक अनुगुञ्जन !

यो त्राशदीको। यो महामारीको बेला हामी पनि सिकौं न चराबाट चरित्र निर्माणका कुरा। सिकौं न चराबाट जीवनमय गतिशीलताका भाषा र भाखाहरु। जो मरेर पनि बाँचिरहेका छन्। जो रोएर पनि हाँसिरहेका छन्। जो जससँग केही छैन, कोही छैन र पनि जिन्दगीको रमाइलोपन महसुस गरिरहेका छन्।

हामीले पनि यो एक्लोपनको बेला, यो भेटघाट र निकटताबाट टाढिने समयमा साँचौँ न अलिकति सद्भाव। बाँढौँ न अलिकति प्रेम। जहाँ रहोस् निःस्वार्थ सद्भावका पवित्र बोली र व्यवहार छन्। निर्भय बाँच्नुको आनन्द जस्तै। चरा जिन्दगीका पलहरु फर्किएर हेरौं। चराको चिरिबिरीमा जीवनको मिठास महसुस गरौँ।

कात्तिक १५, २०७७ शनिबार १४:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।