यात्रा : साइकलमा जहरसिंह पौवा
हिन्दू धर्मावलम्बीको मुख्य चाड बडादसैं कोरोना भाइरस (कोभिड-१९) संक्रमणको कहरले विगतभन्दा फिक्का भयो। संक्रमण न्यूनीकरणका लागि अधिकतम नागरिकले घरमै सीमित भएर दसैं मनाउन बाध्य भए। मनग्ये फुर्सद मिल्यो होला धेरैलाई। फुर्सदको समय सदुपयोग गर्ने तरिका आ-आफ्नै हुन्छ।
शीतल बिहानी। स्वच्छ हावा। कलिलो घाम। सफेद आकाश। चम्किला पहाड। साइकल यात्राका शौखिनहरुका लागि यो भन्दा अरु बाहना के चाहियो। धैर्यको बाँध थाम्नै मुश्किल। मन सम्हाल्न हम्मे हम्मे भएपछि मित्र मनोजकुमार ढुंगानाले टीकाको भोलिपल्टै बिहान जहरसिंह पौवा उक्लने निम्तो दिए।
मनोजकुमार ढुंगाना गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष तथा नगरपालिकाका प्रवक्ता हुन्। साइकलका शौखिन यी जनप्रतिनिधिलाई फुर्सद मिल्दैन।
आक्कलझुक्कल फुर्सद निकालेर बिहान छोटो दूरीको साइकलमा निस्कन्छन्। जुनसुकै समयमा पनि आकस्मिक काम आउन सक्ने भएकाले उनकै अनुरोधमा सबेरै साइकल यात्रा सुरु भयो। जहरसिंह पौवा हाल शंखरापुर नगरपालिकामा पर्छ।
शंखरापुर नगरपालिका
साँखुका स्थानीय संरक्षण अभियन्ता प्रकाशमान श्रेष्ठका अनुसार मणिशैल महावदन (मणिशैल पुराण)मा शंखरापुरबारे विस्तृत उल्लेख छ। जसअनुसार कलिगत संवत् १८०१ बज्रयोगिनी माईको निर्देशनमा पुजारी जोगदेवले सहरको परिकल्पना गरे।
दाहिने शंखको आकारमा निर्मित सहरको नाम शंखरापुर र राजाको नाम शंखदेव राखियो। सोही प्राचीन नगरको नामबाट साविकका नाङ्लेभारे, लप्सेफेदी, पुखुलाछी, सुनटोल, बज्रयोगिनी र इन्द्रायणी गाविसहरु समेटेर शंखरापुर नगरपालिका घोषणा गरियो। यसको कुल ६०.२१ वर्ग किलोमिटर क्षेत्रफल छ।
शंखरापुर नगरपालिका बागमती प्रदेशको काठमाडौं जिल्लाको उत्तर-पूर्वमा पर्छ। यस नगरपालिका नौ वटा वडामा विभाजित छ। यस नगरपालिकाको दक्षिणतर्फको सिमाना भक्तपुर, दक्षिणपूर्वतर्फ काभ्रेपलाञ्चोक र पूर्व तथा दक्षिण-पूर्वतर्फको सिमाना सिन्धुपाल्चोक जिल्लासँग जोडिएको छ। पश्चिमतर्फ काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिकासँग जोडिएको छ।
बज्रयोगिनी र शालीनदीजस्ता दुई प्रसिद्ध धार्मिक स्थलहरु यस नगरपालिकामा पर्दछन्। जहरसिंह पौवा जाँदा साँखु बजारलाई छुटाउन सकिँंदैन। करिब ३३०० वर्षअगाडि नै बस्ती विकास भएको प्राचीन समृद्ध सहर एकपटक घुम्नु राम्रो हुन्छ। भूकम्पले खण्डहर बनेको साँखु बिस्तारै पुनर्निर्माण हुँदै छ। पुराना मौलिक कलाकृति ध्वस्त भएका छन्।
जोरपाटी–साँखु
हाम्रो साइकल यात्रा गोकर्णेश्वर नगरपालिकाको जोरपाटी, नारायणटार हुँदै साँखुतर्फ बढ्यो। जोरपाटी साँखु खण्डको सडक स्तरोन्नति हुँदै छ। बाटोमा सवारी साधनले निकै धुलो उडाउँछ। धुलो छल्न कागेश्वरी मनोहरा नगरपालिकाको मूलपानी, मनोहरा नदीको किनारबाट इन्द्रायणी, सलम्बु हुँदै साँखु निस्कियौं।
शिवपुरी, मणिचूड र चाँगु नारायणको डाँडाको फेदीको मनोहरा फाँट वास्तवमा निकै मनमोहक छ। मनोहरा नदीले सिंचेको यो उर्वर फाँटमा मनग्ये धान, गहुँ, आलु उत्पादन हुन्छ। तर यो उर्वर फाँटका बीच–बीचमा बस्ती विकास भइरहेको छ। केही वर्षमै भरिने निश्चित छ। मनोहराको सुन्दरता कुरुप हुनेमा शंका छैन। यो भेगको पुरानो स्मृति अझै ताजै छ। हिउँदमा हाँसका जत्था स्थानान्तरण हुँदै जाडो छल्न अस्तिसम्म यता आउने गरेको याद पस्कँदै, गफिँंदै हामी साँखु नगरको दक्षिण–पश्चिमतर्फको प्रवेश द्वार पुग्यौँ। यहाँसम्म आइपुग्दा करिब १० किलोमिटर दूरी काटियो।
साँखु बजारलाई एक फन्को मारेर हामी जहरसिङ पौवातर्फ लाग्यौँ। साँखुबाट जहरसिंह पौवा जाने विभिन्न रुट चयन गर्न सकिन्छ। छोटो रुट भने साविकको लप्सेफेदीबाट छ। पहाडको फेदफेदै बगेकी शालिनदीको पुल तरेर करिब ४ किलोमिटर नागबेली उकालो बाटो छिचोलेपछि जहरसिंह पौवा चोक पुगिन्छ। हाल यो रुटबाट सवारी आवागमन निकै बाक्लो छ। सडकको अवस्था निकै खराब। सहयात्री मनोजले स्वस्थानी माताको मन्दिर, पालुवारी, विश्वम्भरा, कात्तिके, ढोक्सान हुँदै जहरसिंह पौवा जाने बाटो रोजे। बाटो कालो पत्रे छ र सवारी साधनको चाप पनि निकै कम।
बाटोको छेवैमा ढकमक्क सयपत्री फुलेको। खेतका गरामा लटरम्म फुलेका आलुका फुल। हरिया चम्किला जंगल। निलो आकाश। यहाँको सुन्दरताले निकै आह्लादित बनायो। सुन्दरतामा रमाउँदै कात्तिके पुग्याँै। उकालो बाटो अलि चुनौतीपूर्ण भए पनि निकै रोमाञ्चक छ। कात्तिके समुद्र सतहबाट करिब १७२० मिटरको उचाइमा छ। यहाँबाट उत्तरतर्फ हिमालको लर्कन नै देखिन्छ। कात्तिकेबाट तीन किलोमिटर उकालो लागेपछि नगरकोट पुगिन्छ। बायाँतर्फको कच्ची बाटोबाट करिब चार किलोमिटर दूरी तय गरेपछि जहरसिंह पौवा पुगिन्छ।
उत्तरतर्फको हिमाली दृश्यमा रमाउँदै हामी जहरसिंह पोवातर्फ मोडियौँ। हामी जति अघि बढ्यौँ हिमाल निकै नजिकिएको भान भयो।
जहरसिंह पौवा
जहरसिह पौवा शंकरापुर नगरपालिकाको वडा नं. ३ मा पर्छ। ऐतिहासिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण गन्तव्य हो।
भोटबाट उपत्यका छिर्ने प्राचीन व्यापारिक नाका। भृकुटि घर–माईती गर्ने बाटो। स्थानीयका अनुसार २०४८/४९ सालसम्म पनि मेलाम्ची, चौतारा, हेलम्बुदेखि मकै कोदो, धान, चामलका भारी बोकेर खुब आवतजावत गर्थे। सडक सञ्जालबाट अरु सहर पनि जोडिएपछि भने यतातिरको चहल–पहल कम भएको छ।
केही वर्षयता जहरसिंह पौवाको स्वरुप निकै फेरिएको छ। बजार बाक्लिएको छ। कालिका शरण उच्च माध्यमिक विद्यालयको पछाडि प्राचीनता झल्काउने एउटा माने थियो। अहिले त्यो मानेको अस्तित्व बिलाएको छ। पहिले–पहिले उपत्यकाबाट तिब्बत जाने दूत, भाइ भारदार, व्यापारिक घरानाका परिवार आफन्त यहाँसम्म बिदाइ तथा स्वागत गर्न आउँथे। बिदाइ गर्दा बत्ती बाल्थे। मानेमा बत्ती बालेर छुट्टिएपछि पछाडि नहेरी फर्कन्थे। फर्किएर हेरे अनिष्ट हुन्छ भनेर डराउँथे। बत्ती बाल्ने मानेको भग्नावशेष अहिले देखिएन। स्वागतमा आएकाहरु आफन्तहरु फर्किएपछि भोज भतेर गरेर खुसियाली मनाउँथे। पौवा नजिकै पुरानो थानाको भग्नावशेष अझै देख्न पाइन्छ।
जहरसिंह पौवाको नामकरण
यो ठाउँको नाम कसरी जहरसिंह पौवा भयो भन्ने कौतुहल भने धेरैमा हुन सक्छ। जिज्ञासा मेटाउन इतिहासको पाना पल्टाउनु पर्छ। इतिहास शिरोमणि बाबुराम आचार्यले श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी नामक पुस्तकमा एकीकरणको समयमा यो ठाउँको प्रसंग उल्लेख गर्नुभएको छ।
नुवाकोट गोर्खा राज्यको अधिनमा आएपछि श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह यसका पूर्वतर्फका सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, तामाकोशीदेखि पूर्व दूधकोशीसम्मका क्षेत्र एकैपटक आफ्नो अधिनमा ल्याउने रणनीतिमा लागे। यी क्षेत्र आफ्नो अधिनमा आएपछि मल्ल राजाको शासन उपत्यकामा मात्र सीमित रहन्थ्यो। त्यसैले साँखुमाथिको साँगा चोक, नाल्दुम गढीलगायतका क्षेत्र आफ्नो अधिनमा ल्याउन आवश्यक थियो।
त्यस समयमा चार काजीमध्ये मूल काजी कालु पाँडे थिए। पृथ्वीनारायण शाहले नजिकबाट चिनेका, युद्ध कौशलमा निपुण, निडर शिवरामसिंह बस्न्यात भने सेनापति। उक्त रणनीतिअनुसार १८०३ कात्तिकमा शिवरामसिंह बस्न्यात नौ सय गोर्खाली सैनिकको नेतृत्व गर्दै हालको जहरसिंह पौवाभन्दा दुई किलोमिटर उत्तरतर्फ द्वारे टोलमा मोर्चा कसे।
फागुन ५ गते काजी तौढिकले नेतृत्व गरेको काठमाडौं र ललितपुरको करिब तीन हजार संख्याको संयुक्त फौजले मध्यरातमा गोर्खाली सेनालाई आक्रमण गर्याे। त्यसबखत भक्तपुरका राजा रणजित मल्लले गोर्खाली सेनालाई मद्दत गर्ने सहमति थियो तर उनको सेनापतिले धोका दिए। यस लडाइँमा शिवरामसिंहले वीरगति प्राप्त गरे। यो खबरले पृथ्वीनारायण शाह निक्कै दुःखी भए।
इतिहास खोतल्ने क्रममा काजी अभिमानसिंहका सातांै पुस्ताका डा. निरञ्जनमानसिंह बस्न्यातसँग संवाद भयो। डा. निरञ्जनमानसिंह का अनुसार शिवरामसिंहकी एक श्रीमती सुरप्रभा तथा नाहरसिंह, केहरसिंह अभिमानसिंह तथा गर्भमा रहेका धौकलसिंह सहित चार छोरा थिए। शिवरामसिंहका माहिला छोरा केहरसिंहका जेठा छोरा हुन् जहरसिंह।
केहरसिंहले विसं १८२८ पुस पाँच गते सतहुँको लडाइँमा वीरगति प्राप्त गरे। जहरसिंहले विसं १८४५ मा नेपाल भोटसँगको लडाइँमा कप्तानको हैसियतले सम्मिलित थिए। विसं १८४८-४९ मा चीनविरुद्धको लडाइँमा सहभागी थिए। बहादुर शाहले दार्जिलिङ, सिक्किमको लडाइँमा जहरसिंहकै नेतृत्वमा सेना खटाए । दुवै लडाइँमा नेपाली सेनाले जित हात पारे। जहरसिंहको मृत्यु विसं १८६३ जेठमा भएको अनुमान छ।
सेनापति शिवरामसिंहले वीरगति प्राप्त गरेको ठाउँमा उनको स्मृतिमा विसं १८५२ मा जहरसिंह बस्न्यातले पाटी निर्माण गरे। हजुर बुवाको सम्झनामा। यस पौवालाई काजी जहरसिंहकै नामबाट जहरसिंह पौवा भनिन थालियो। युद्ध स्थलको बारेमा स्थानीयहरुले बताउने गरेको पाइन्छ।
पौवा ल्हासा, तिब्बत काठमाडौं यात्रा गर्ने यात्रीका लागि बास बस्न, विश्राम गर्न, खाना खुवाउनका लागि बनाइएको थियो। पौवा संचालनका लागि करिब १६ रोपनी जग्गा गुठीको नाममा थियो। हाल करिब तीन आना मात्र बाँकी छ। चोकैमा रहेको तत्कालीन पौवा रहेको ठाउँमा अहिले महिला भवन बनाइएको छ। भवनको तल्लो तलामा भने पसल रहेछ।
समयको पर्याप्तता हेरेर यहाँबाट लामो दूरीका गन्तव्य छान्न सकिन्छ। चोकबाट तीनवटा बाटा छन्। उत्तर–पश्चिमको बाटो भएर भोटेचौर, काहुले दोभान हुँदै बाहुने पाटी पुगिन्छ। बीचको बाटो मेलम्ची र दक्षिण पूर्वतर्फ लागे नगरकोट। लप्सेफेदीमा केही वर्षअघि पुल बन्यो। त्यसपछि आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढ्यो। चोकमा बजार बाक्लियो।
खाना र बास पाइने थुप्रै होटल खुले। समय छैन भने २ किलोमिटर पर चौकी भञ्ज्याङबाट बायाँतर्फको बाटो भएर पुनः लम्सेफेदी पुल निस्कन सकिन्छ। शालीनदीसँग समानान्तर भएर ६ किलोमिटर दूरीको बाटो साइकल कुदाउन असाध्य रमाइलो छ। समय उपलब्धताअनुसार एक बिहान वा आधा दिनको घुम्ने योजनामा राख्न सकिन्छ।
हामी इतिहास स्मरण गर्दै लप्सेफेदीतर्फ लाग्यौं। साँखुबाट धुलो छल्न हामी भद्रबास, आलापोट, सुन्दरीजल हुँदै पुनः जोरपाटीमा यसपटकको यात्रा बिसायौं।
कात्तिक १५, २०७७ शनिबार १२:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।