आइपिएल प्लेअफ : कसको सम्भावना कति? 

आइपिएल प्लेअफ : कसको सम्भावना कति? 

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)को जारी सिजनमा मुम्बई इण्डियन्स प्लेअफ पुगिसकेको छ। अब प्लेअफका लागि तीन टोलीको टुंगो लाग्न बाँकी छ।

यसका लागि सात वटै टोली दौडमा छन्। तीमध्ये बैंग्लोर, दिल्ली र पञ्जाबको सम्भावना बढी छ। 

अहिलेको स्थितिमा बैंग्लोर र दिल्लीलाई प्लेअफ पुग्न एक जित आवश्यक छ भने पञ्जाबलाई दुई जित। किनकि अहिले प्लेअफ पुग्न बाँकी टोलीमध्ये यी तीनले मात्रै अंकतालिकामा १६ अंक बनाउन सक्ने सम्भावना छ। मुम्बईले भने यसअघि नै १६ अंक जोडिसकेको छ। 

बाँकी टोलीले प्लेअफ पुग्न बाँकी खेल जितेर मात्रै हुँदैन, अन्य टोलीको नतिजामा निर्भर रहनुपर्ने छ। तीमध्ये चेन्नईको सम्भावना भने सबैभन्दा कम छ।

आज हुन लागेको किंग्स इलेभन पञ्जाब र राजस्थान रोयल्सबीचको खेलमा पञ्जाबले जित निकाले चेन्नईसँगै राजस्थान पनि प्लेअफ दौडबाट बाहिरिनेछ। 

राजस्थानले खेल जितेमा भने चेन्नईसँगै राजस्थानको सम्भावना पनि कायमै रहनेछ। 

त्यसकारण आइपिएलको प्लेअफ दौड रोमाञ्चक हुने देखिन्छ। 

कस्तो छ अंकतालिका?

लिग चरणका ४९ खेल सकिँदा मुम्बई इण्डियन्स १६ अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा छ।

त्यसपछि रोयल च्यालेन्जर्स बैंग्लोर, दिल्ली क्यापिटल र किंग्स इलेभन पञ्जाब क्रमशः दोस्रोबाट चौथो स्थानमा छन्। बैंग्लोर तथा दिल्लीको समान १४ र पञ्जाबको १२ अंक छ। यी टोलीले लिग चरणका दुई/दुई खेल खेल्न बाँकी छ।    

यसैगरी, कोलकाता नाइट राइडर्स, सनराइजर्स हैदरावाद, राजस्थान रोयल्स र चेन्नई सुपर किंग्स क्रमशः पाँचौंबाट आठौं स्थानमा छन्। कोलकाताले १२ अंक हासिल गर्दा अन्य टोलीको समान १० अंक छ। तर, कोलकाता र चेन्नईले अब एक/एक खेल खेल्न मात्रै बाँकी छ। 

कात्तिक १४, २०७७ शुक्रबार १४:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।