वेब सिरिज ‘मिर्जापुर २’ विवादमा
काठमाडौं : अमेजन प्राइमबाट प्रसारण हुने भारतीय वेब सिरिज ‘मिर्जापुर २’ विवादमा परेको छ।
वेब सिरिजको एक दृश्यमा फरक पात्र घुसाएको भन्दै साहित्यकार सुरेन्द्र मोहनले आपत्ति जनाएका हुन्। सुरेन्द्रले वेब सिरिजमा आफ्नो उपन्यास ‘धब्बा’सँग जोडिएको एक दृश्य भ्रामक बनाइएको भन्दै त्यसलाई हटाउन निर्माण टिमलाई आग्रह गरेका छन्।
उनले उक्त दृश्य नहटाइए कानुनी प्रक्रियामा जाने चेतावनीसमेत दिएका छन्। उनले निर्माता फरहान अख्तर र रितेश सिधवानीका साथै अमेजन प्राइमलाई समेत यसबारे पत्र पठाएका छन्।
सिरिजको तेस्रो एपिसोडमा सत्यानन्द त्रिपाठी (कुलभूषण खरबंदा) नामको पात्रले ‘धब्बा’को केही हरफ पढिरहेको देखाइएको छ। ती हरफमा ‘बलदेवराज’ नामको चरित्र घुसाइएको छ।
यो कुरा आफ्नो उपन्यासमा नरहेको सुरेन्द्रको भनाइ छ। यसले आफ्नो पाँच दशकको साहित्यिक करियर ध्वस्त बनाउन खोजिएको सुरेन्द्रको आरोप छ।
वेब सिरिजमा अलि फजल, स्वेता त्रिपाठी, दिवयेंदु शर्मा, पंकज त्रिपाठी, रसिका दुग्गल, कुलभुषण खरबंदा, अन्जुम शर्मा, राजेश तैलंग, हर्षिता शेखर गौर, ईशा तलवार, विजय वर्मा, प्रियांशु पेनुली, अमित सियाल, अंजना शर्मा लगायतको अभिनय छ।
सिरिजलाई गुरमित सिंह र मिहिर देसाईले निर्देशन गरेका छन्।
एजेन्सीको सहयोगमा
कात्तिक १४, २०७७ शुक्रबार ११:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।