ओभरलोडले बेलहिया–बुटवल सडक उच्च जोखिममा

ओभरलोडले बेलहिया–बुटवल सडक उच्च जोखिममा

भैरहवा : सडकको भार क्षमताभन्दा तेब्बरसम्म ओभरलोड बोकेर ढुवानीका गाडीहरू ओहोरदोहोर गर्दा बेलहिया–बुटवल व्यापारिक मार्गअन्तर्गतको सडक जोखिममा छ। 

भारतबाट नेपाल भित्रिने मालबाहक सवारी र पाल्पालगायत विभिन्न जिल्लाबाट चुनढुंगा बोकेर आउने टिपरले क्षमताभन्दा बढी ओभरलोड बोक्ने गरेका छन्। 

नियमक निकायले ओभरलोड बोक्ने गाडीलाई नियन्त्रण नगर्दा व्यापारिक मार्ग धुजाधुजा भएको छ। खासगरी बेलहियादेखि अंचलपुरसम्मको करिब ६ किलोमिटरको वायाँतर्फ र बुटवल क्षेत्रको ठाउँठाउँमा सटक धुजाधुजा भएको हो।

‘ओभरलोडकै कारण सडक दबेको छ। यसको अन्य कारण पनि हुन सक्छ। तर, हामीले प्रारम्भमा अनुसन्धान गर्दा सडक बिग्रिनुको कारण ओभरलोड नै देखिएको छ,’ डिभिजन सडक कार्यालय, रूपन्देहीका प्रमुख जयलाल मरासिनीले भने। 

रूपन्देहीको बेलहिया नाका हुँदै दैनिक ४ सयको हाराहारीमा मालवाहक गाडी नेपालतर्फ भित्रिन्छन्। तीमध्ये ६० प्रतिशतभन्दा बढी मालबाहक गाडीले ओभरलोड बोक्ने गरेका छन्।

सडक क्षमताअनुसार ६ चक्के गाडीले ९.६ टन, १० चक्केले १६.५ टन, १२ चक्केले २१ टन र १६ चक्केलाई ३०.२ टन मात्र ढुवानी गर्न सक्ने प्रावधान छ। तर, बेलहिया नाकाबाट भित्रिने मालबाहक गाडीले १२० टनसम्म ओभरलोड बोक्ने गरेको पाइएको व्यापारिक मार्ग आयोजनाको रेकर्डमा छ।

‘यो मार्गको क्षमता बढीमा ३०.२ टन मात्रै हो। तर, मालबाहक गाडीले अत्यधिक ओभरलोड बोक्ने गरेका छन्। सडक जोगाउन कसैको ध्यान गएको पाइँदैन,’ मरासिनीले भने।

ओभरलोड बोकेर आउने गाडीकै कारण नेपालकै नमूना भनिएको बेलहिया–बुटवल व्यापारिक मार्गको सडक धुजाधुजा भएको छ।

सडकमा खाल्डाखुल्डी परेका छन्, कतै भत्किएको छ भने कतै सडक नै दबेको छ। चुरे पहाडका खानीबाट कच्चा पदार्थ ढुवानी गर्ने टिपर, बेलहियाबाट आयात हुने औद्योगिक कच्चा पदार्थसहितका भारतीय मालवाहक गाडीले ओभरलोड बोक्ने गरेका छन्।

ओभरलोडको अनुगमन र नियमन गर्नेतर्फ न प्रहरीको ध्यान गएको छ न त डिभिजन सडक कार्यालयको।

कम्तीमा एक दशक पुनःमर्मत गर्न नपर्ने गरी डिजाइन गरेर निर्माण भइरहेको भनिएको सडक नै निर्माण सम्पन्न नहुँदै पुनःनिर्माण गर्नु परेको छ। 

छोटो समयमै ओभरलोडका कारण सडक भत्किएपछि लामो समय टिकाउन ओभरलोड नियन्त्रण वा यसको पुनः डिजाइन गरेर निर्माण गर्ने मात्रै विकल्प देखिएको व्यापारिक मार्ग विस्तार आयोजना इन्जिनियर शुभेच्छा सारू बताउँछिन्।

भन्छिन्, ‘डिजाइनमा पनि केही त्रुटि हुनसक्छ। भैरहवा क्षेत्रमा पानीको मात्रा पनि बढी छ, पानीको मात्रा बढी हुँदा पनि सडक भत्कने खतरा उत्तिकै हुन्छ। तर, मुख्य कारण ओभरलोड नै हो। अब ओभरलोड रोक्ने वा रि–डिजाइन गरी सडक बनाउने विकल्प छ।’

ओभरलोड नियन्त्रण भन्दै ठाउँठाउँमा ट्राफिक प्रहरीको युनिट नै राखिएको छ। तर, ट्राफिकले ओभरलोड नियन्त्रणमा ध्यान दिएको छैन। ओभरलोड बोक्ने मालबाहक गाडीबाट जरिवाना काट्दै निर्वाध चल्न दिइएको छ। जरिवाना काटेकै भरमा ओभरलोडेड गाडी छाडिँदा सडक जीर्ण बनेको हो।

‘नेपाल भित्रिने अधिकांश गाडीहरू पल्ट्री गर्न नमिल्ने भएकाले जरिवाना काटेर छाडिएको हो। यस विषयमा के गर्दा उचित हुन्छ भनेर हामी छलफल गरिरहेका छौं। एउटा निष्कर्षमा पुग्छौं,’ रूपन्देही प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) प्रवीण पोखरेलले भने। 

भारतबाट आयात हुने फलाम, जिप्सम, फलामे एमएस ब्लेड, वायर, खरानी, उद्योगका चिम्नी बोकेका गाडी बढी मात्रामा ओभरलोड हुने गर्छन्। यस्तै, नेपालका विभिन्न ठाउँबाट यो सडक प्रयोग गरेर आउजाउ गर्ने दैनिक ५ सय बढी चुनढुंगा बोकेका टिपरले ओभरलोड बोक्ने गरेका छन्। यस्ता गाडीको ओभरलोड नियन्त्रणमा कसैको ध्यान गएको पाइँदैन।

अस्फाल्ट क्रंकिट प्रविधि प्रयोग गरी २०६९ सालबाट निर्माण सुरु भएको व्यापारिक मार्ग विस्तार अझै सम्पन्न भएको छैन। आयोजना नसकिँदै पुनर्निर्माणमा आयोजनाले १० करोड ३५ लाख रूपैयाँभन्दा बढी खर्च गरिसकेको छ।

ओभरलोड नियन्त्रणमा ध्यान नदिने हो भने आयोजना नै नसकिँदै पुनःनिर्माणमा राज्यकोषबाट अझै कति करोड रूपैयाँ खर्च गर्नु पर्ने हो भन्न सक्ने अवस्था छैन। 
 

कात्तिक १४, २०७७ शुक्रबार १०:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।