चलचित्रकर्मीमा कोरोना संक्रमण देखिँदै
काठमाडौं : नेपाली चलचित्रकर्मीमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिन थालेको छ।
कोरोना संक्रमित भएपछि चलचित्र संघका पूर्वअध्यक्ष एवं निर्माता प्रदीपकुमार उदय ग्राण्डी अस्पतालको आइसियुमा उपचारत छन्। सातादेखि उपचार गराइरहेका उनले आफू खतरामुक्त रहेको र केही दिनमा कोरोनामुक्त हुने विश्वास व्यक्त गरेका छन्।
चलचित्र निर्माता तथा एफडी कम्पनीका एमडी सुशील पोखरेलमा कोरोना संक्रमण पुष्टि भएको छ। सुशीलले आफूमा कोरोना संक्रमण देखिएकाले होम आइसोलेसनमा बसिरहेको जानकारी दिए। कोरोना संक्रमणको आशंका भएपछि आफू घरबाहिर ननिस्किएको उनले बताएका छन्।
चलचित्र निर्देशक तथा निर्माता मिलन चाम्समा पनि कोरोना संक्रमण भएको छ। कलाकार विजय लामाले उनलाई कोरोना संक्रमण भएको पुष्टि गरे।
कलाकारमा पनि
कलाकार मनोज गजुरेलले पनि कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। अत्यधिक ज्वरो आएपछि पिसिआर टेस्ट गर्दा कोरोना पोजेटिभ देखिएको उनले बताए।
हाल आफू होम आइसोलेसनमा बसेको र आफूलाई स्वास्थ्यमा समस्या नभएको उनले जानकारी दिए। उनले आफूसँग सम्पर्कमा आएकालाई सजगता अपनाउन अपिल गरे।
कलाकार लामाले चलचित्र निर्देशक मिलनलाई कोरोना संक्रमण भएको भन्दै स्वास्थ्यलाभको कामना गरेका थिए।
निको पनि भए
कलाकार लामा केही दिनअघि मात्रै कोरोना संक्रमणमुक्त भएका थिए। यस्तै, हास्य कलाकार हरिवंश आचार्य र उनकी पत्नी रमिला आचार्य कोरोना संक्रमणमुक्त भएका छन्।
यसैगरी, कलाकार देवीराम पराजुली (भोक लाग्यो), सुवास कार्की (बेलासे)ले पनि कोरोनालाई जितिसकेका छन्।
संगीतकार टंक बुढाथोकीले पनि कोरोनालाई जितिसकेको बताएका छन्। उनले कोरोनाबाट मुक्त भएपछि मात्रै आफूले कोरोना जितेको सामाजिक संजालमार्फत जानकारी दिए।
कात्तिक १४, २०७७ शुक्रबार १०:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।