बाढीबाट जोगिन स्थानीयले बनाए अस्थायी ड्याम

बाढीबाट जोगिन स्थानीयले बनाए अस्थायी ड्याम

धनगढी : केही ट्याक्टरबाट माटो खनिँदै छ त केहीबाट माटो संकलन गरिँदै छ। त्यहाँ आएका अन्य मानिस भने फरुवा लिएर माटो मिलाउन व्यस्त छन्।

यो दृष्य हो– कैलालीको भजनी नगरपालिका–५, लालबोझीस्थित कान्द्रा नदीमा अस्थायी चेक ड्याम निर्माण गर्दाको।

गत साउनमा कान्द्रा नदीमा आएको बाढी लालबोझी गाउँ पसेपछि डुवान र कटान भएपछि स्थानीय अस्थायी चेक ड्याम निर्माण गरेका हुन्। स्थानीय जनश्रमदान तथा रकम उठाएर चेक ड्याम बनाएका छन्। 

गत साउनमा आएको बाढीका कारण भजनी नगरपालिकासँगै टीकापुर नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकाका वडा बढी प्रभावित भएको थिए। 

भलमन्सा रामकिशन चौधरीको अगुवाईमा स्थानीयहरूले चेक ड्याम निर्माण गर्ने निर्णय गरेको जनाइएको छ।

भलमन्सा रामकिशनले स्थानीयहरूले आफूसँग भएका स्रोत साधनको प्रयोग गरि चेक ड्याम निर्माण गरेको बताए। 

उनले भने, ‘स्थानीय तह र प्रदेश सरकारसँग ड्याम निर्माणको माग गर्दा पनि कुनै सुनुवाई भएन। त्यसैले हामी आफै यो (चेक ड्याम) निर्माण गरेका हौं।’ 

उनले ड्याम बनाउनका लागि स्थानीयको ट्याक्टर प्रयोग गरेको बताए। डिजेल भने स्थानीयबाट नगद संकलन गरेको रकमबाट किनेको उनको भनाइ छ। 

उनका अनुसार करिब पाँच सय मिटर लामो र पाँच फिट उचाई भएको ड्याम निर्माण गरिएको छ। उनले चेक ड्याम बनाउन २१ वटा ट्याक्टर र १६० जनाले श्रमदान गरेको बताए। 

हरेक वर्ष डुवान समस्या

मोहना र कान्द्रा नदीको टापुमा पर्छ, लालबोझी। दुवैतिर नदीले घेरिएकाले लालबोझीमा हेलिकप्टरबाट मात्रै उद्धार गर्नुको विकल्प नहुने स्थानीय बताउँछन्। २०६६ को बाढीमा यो ठाउँ पूरै डुबेको थियो। रूख र घरको छतमा बसेका स्थानीयलाई हेलिकप्टरबाट उद्धार गरिएको थियो। 

स्थानीय सुनाराम डगौरा बाढीबाट बच्न सजग भइरहनुपर्ने बताउँछन्। ‘चुरेमा कालो बादल मडारिँदा निद्रा र भोक हराउँछ,’ उनले भने 

बाढीकै कारण लालबोझीबाट थुप्रै परिवार विस्थापितसमेत भइसकेका छन्। ‘बाढीको दुःखले बर्सेनि यहाँबाट स्थानीय विस्थापित हुँदै गएका छन्,’ भलमन्सा रामकिशनले भने, ‘कतै जान नसक्ने विपन्न परिवारले सधैं पीडा सहेर बस्नुपरेको छ।’  

गाउँ पसेको बाढी घट्दै जाँदा घरखेत कटान गर्ने गरेको उनले बताए।

जोखिम बस्ती स्थानान्तरण गर : संसदीय समिति

सुदूरपश्चिम प्रदेशसभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले बाढी, पहिरो, डुवान तथा नदी कटानको उच्च जोखिममा रहेका मानव बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सुझाव दिएको छ। 

समितिको स्थलगत अनुगमन तथा निरीक्षणमा आधारित मानवीय तथा भौतिक क्षति र प्रभाव प्रतिवेदन २०७७ मा तत्काल र दीर्घकालीनरूपमा प्रदेश सरकारले अघि बढाउनुपर्ने सुझाव दिइएको छ। 

प्रतिवेदनमा भनिएको छ, ‘नदी कटान तथा पहिरोबाट उच्च जोखिममा परेका विमानस्थल, बजार, मानव बस्ती, धार्मिक तथा ऐतिहासिक क्षेत्र तथा अन्य क्षेत्रमा तटबन्न लगायतका रोकथामका उचित प्रबन्ध तत्काल अघि बढाऊ।’

प्रतिवेदनमा बाढी तथा पहिरो र नदी कटानको उच्च जोखिममा रहेका भौतिक संरचनाको संरक्षणका लागि तटबन्ध, पर्खाल निर्माण लगायतका कार्य अघि बढाउनुपर्ने सुझाव दिइएको छ। 

प्रतिवेदनमा भनिएको छ, ‘प्रायः मानव वस्ती नदी खोला नजिक रहेको तथा पहाडी जिल्लाहरूमा प्रायः खेतीयोग्य समथर जमिन (खेत) नदी तथा खोला किनारमा रहेकाले सम्भाव्य जोखिम क्षेत्रको पहिचान गरी दीर्घकालीन तटबन्ध, नदी नियन्त्रणका कार्यक्रम अघि ल्याऊ।’ 

समितिले कैलाली, कञ्चनपुरमा निर्माण भएको तथा निर्माणाधीन हुलाकी सडकले दुबै तिरको मानव बस्ती डुवानको समस्या भोगिरहेको निष्कर्ष निकाल्दै विज्ञहरूद्धारा यसबारे अध्ययन गराएर दीर्घकालीनरूपमा समस्याको समाधान खोज्नेतर्फ पहल गर्न सुझाव दिएको छ। 

कात्तिक १४, २०७७ शुक्रबार ०९:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।