कोजाग्रत पूर्णिमा : महालक्ष्मीको आराधना र कार्तिक व्रतको आरम्भ
हर्षोल्लासपूर्वक बडादसैं मानेर यसलाई बिदा गर्ने दिन आश्विन शुक्लपक्षको पूर्णिमा हो। यसलाई कोजाग्रत पूर्णिमा वा कोगाजर पूर्णिमा पनि भनिन्छ।
भारतीयहरू यसलाई कोजागरा उत्सवका रूपमा मान्ने गर्छन्। कोजाग्रत पूर्णिमालाई कौमुदी महोत्सव पनि भनिएको छ। दुर्गापक्षको अन्तिम दिन कोजाग्रत पूर्णिमा हो। महालक्ष्मीको पूजा हुने र आकाशदीपदान एवं कार्तिक व्रतको आरम्भ पनि यसै दिनबाट हुने भएकाले यस दिनको महत्त्व छ।
सनातन धर्मावलम्बी नेपाली समाजमा नवरात्रभरि नवदुर्गाको आराधना गरेर दसैंका दिन आफन्त र मान्यजनबाट देवीको प्रसादस्वरूप टीका–आशीर्वाद ग्रहण गरिन्छ। रीति फरकफरक भए पनि दसैं अधिकांश नेपालीहरूले मान्छन्। यो नेपालीहरूको सबैभन्दा ठुलो चाड हो। नेपालका लुम्बिनी–गण्डकी लगायतका क्षेत्रमा दसैंका दिन मात्र टीका लगाउने गरिन्छ भने पूर्वी क्षेत्रमा दसैंका दिनदेखि पूर्णिमाका दिनसम्म नै यसरी टीका लगाउने प्रचलन छ।
घटस्थापनाका दिन कलश स्थापना गरेर आवाहन गरिएकी दुर्गा देवीको दसैंका दिन विसर्जन हुन्छ, तर फूलपाती, जमरा लगायतको विसर्जन पूर्णिमाका दिन गरिन्छ। पूर्णिमाका दिन परिवारका सबै सदस्य भेला भएर टीका–जमरा लगाउने र बाजागाजासहित नाचगान गर्दै देवीपूजामा उपयोग गरिएका पूmलपाती, जमरा आदि जलाशयमा लगेर विसर्जन गर्ने प्रचलन छ। दसैंका दिन मात्र टीका लगाउने क्षेत्रमा भने दसैंका दिन नै अथवा पूर्णिमासम्मका कुनै दिन पूmलपाती सेलाउने चलन छ। अर्घाखाँची–गुल्मी लगायतका क्षेत्रमा पूmलपाती सेलाउन लैजाँदा बाजागाजा र कोट (देवीमन्दिर)का हातहतियारसमेत नचाउँदै सराञे जात्राका साथ जाने चलन छ। यसरी यो दुर्गाविसर्जनको अन्तिम दिन हो।
कोजाग्रत पूर्णिमा पौराणिक कालदेखि नै फरक फरक ढंगले मनाउँदै आएको कुरा विभिन्न पुराणहरूका सन्दर्भबाट थाहा हुन्छ। भागवत महापुराणमा कोजाग्रत पूर्णिमालाई कौमुदी महोत्सव भनिएको छ। कौमुदी भनेको चाँदनी हो। पूर्णिमाको चाँदनीयुक्त यसै रातमा गोकुलमा गोपिनी र कृष्णले रासलीला गरेको कथा त्यहाँ सविस्तार वर्णन गरिएको छ।
कोजाग्रत पूर्णिमा महालक्ष्मीको पूजा–आराधना गर्ने दिन हो। यस दिन घरको भित्र–बाहिर बाटोघाटो आँगन–चोक सबैतिर सरसफाइ गरेर साँझ सबैतिर बत्ती बाली झिलिमिलि पारिन्छ। राति पूजास्थलमा महालक्ष्मीको विधिपूर्वक पूजा हुन्छ।
कोजाग्रत पूर्णिमाको नाम र यसको महत्त्वबारे ब्रह्मपुराण, लिंगपुराण, सनत्कुमार संहिता आदि पौराणिक ग्रन्थमा पनि चर्चा पाइन्छ। लिंगपुराणको प्रसंगअनुसार आश्विन शुक्लपक्षको पूर्णिमा तिथिका रातमा लक्ष्मी को जागा छ, त्यसलाई धन–सम्पत्ति दिन्छु भनेर मत्र्यलोकमा आएकी हुन्छिन्। ‘को जागर्ति’ को जागा छ भनेर लक्ष्मीले हेर्ने भएकाले यसको नाम कोजाग्रत रहन गएको हो। त्यसैले त्यस रात जाग्राम बसेर लक्ष्मी, इन्द्र र ऐरावत हात्तीको पूजा गर्ने, अखण्ड दीप बाल्ने, जुवा खेल्ने गर्नुपर्छ। राति महालक्ष्मीका साथै देवता र पितृहरूलाई नरिवल र चिउराको भोग लगाउने, आफूले पनि सोही प्रसाद खाने गरिन्छ। त्यस रात जुवा खेल्नाले लक्ष्मीको कृपाले धनवान् भइन्छ भन्ने कुरा पनि लिंगपुराणमा उल्लेख भएको छ।
सनत्कुमार संहितामा कोजाग्रत पूर्णिमाको रातमा महालक्ष्मीको पूजा गरी नागकन्याहरूसँग जुवा खेल्दा धनहीन बलित नामका ब्राह्मणले महालक्ष्मीका कृपाले ठूलो वैभव प्राप्त गरेको कथा वर्णन गरिएको छ। पूर्णिमाको मध्यरातमा महालक्ष्मीको पूजा गरिने हुनाले मध्यरातव्यापी आश्विन शुक्लपूर्णिमामा यो व्रत गर्नू भन्ने विधान पनि त्यहाँ बताइएको छ।
चान्द्रमान अनुसार कोजाग्रत पूर्णिमापछि कार्तिक महिना सुरु हुन्छ। कार्तिक चतुर्मासको अन्तिम महिना, यमपञ्चक, लक्ष्मीपूजाजस्ता पर्वको समय, तुलसीको सेवा गर्ने समय र राधादामोदरको पूजा गर्ने महिना भएकाले पनि यसको धार्मिक महत्त्व छ। आषाढ शुक्लपक्षको हरिशयनी एकादशीदेखि सुरु भएको चतुर्मास व्रत कार्तिक शुक्लपूर्णिमामा समाप्त हुन्छ। यसै बीचमा कार्तिक शुक्ल हरिबोधिनी एकादशी पनि पर्छ। यी सबै कुराले गर्दा कार्तिक महिनाको ठूलो महत्त्व बताइएको छ। सम्भव हुनेले कार्तिकमा प्रत्येक दिन गंगास्नान गर्ने विधान छ। कोजाग्रत पूर्णिमादेखि कार्तिकस्नान पनि सुरु हुन्छ। कार्तिक महिनाभरि कार्तिक माहात्म्य भन्ने सुन्ने गर्नाले भगवान् दामोदरको कृपा प्राप्त हुने विश्वास छ।
कोजाग्रत पूर्णिमाकै दिनदेखि आकाश दीपदान सुरु हुन्छ। यसका लागि तुलसीको मठ लिपपोत गरी तुलसीको पूजा गर्ने र मठको छेउमा आकाशदीप तयार गरेर प्रत्येक साँझ आकाशदीप बाल्ने विधान छ। आकाशदीप राधा–दामोदरलाई अर्पण गरिने भएकाले तुलसीका मठमा राधा–दामोदरको पूजा गरी उनैलाई आकाशदीप दान गरिन्छ। आकाशदीप दान गर्दा गरिने प्रार्थना यस्तो छ–
दामोदराय नभसि तुलायां दोलया सह ।
प्रदीपं ते प्रयच्छामि नमोऽनन्ताय वेधसे ।।
कार्तिक महिनाभरि तुलसीको पूजा–आराधना गरी अन्त्यमा तुलसी–विवाह गर्ने (तुलसीको होम हाल्ने) र चतुर्मास व्रत समाप्त गर्ने अनुष्ठानको आरम्भ पनि कोजाग्रत पूर्णिमादेखि नै आरम्भ हुन्छ।
कोजाग्रत पूर्णिमा शक्तिको उपासना गर्ने दुर्गापक्ष र महालक्ष्मीसहित तुलसीको आराधना गर्ने कार्तिक महिनाको बीचमा पर्ने महत्त्वपूर्ण दिन हो। प्राकृतिक रूपमै सफा, स्वच्छ र उज्यालो शरद् ऋतुको यो रात शक्तिका उपासक सनातन धर्मावलम्बीहरूका लागि बाहिर पनि भित्र (मनमा) पनि दीप प्रज्ज्वलन गर्ने उज्यालोको पर्व हो।
कात्तिक १४, २०७७ शुक्रबार ००:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।