अनुमतिबिनै धमाधम सुटिङ
काठमाडौं : चलचित्र ‘ए मेरो हजुर ४’ को केही दिनयता राजधानीका विभिन्न स्थानमा छायांकन भइरहेको छ।
झरना थापा निर्देशित फिल्ममा अनमोल केसी र सुहाना थापाले अभिनय गरिरहेका छन्।
लकडाउनअघि चलचित्र छायांकन ५० प्रतिशत सकिएकाले चाडै नै काम सकिने निर्माता सुनिलकुमार थापाले जानकारी दिएका छन्। उनका अनुसार चलचित्रको गीतबाहेक सबै छायांकन सक्ने तयारी छ।
अघिल्लो साताबाट चलचित्र ‘आई एम ट्वान्टी वान’ले पनि छायांकन गरिरहेको छ। रेनशा वान्तवा राइले निर्देशन गरेको चलचित्रको छायांकनमा तीव्रता दिइएको छ।
निर्देशक राईले छायांकनमा सुरक्षा सावधानी अपनाइएको बताएका छन्। उक्त चलचित्र दुई वर्षअघि नै छायांकन गर्ने बताइएको थियो।
कोरोना कहरमै छायांकन थाल्ने अर्काे चलचित्र हो, ‘चोर र पुलिस’। छायांकनका लागि हेलिकोप्टर चार्टर गरेर काठमाडौंबाट दोलखा पुगेको टोलीले चलचित्रमा समावेश गीत ‘कुन देश कि परी...’गीतको छायांकन गरेको छ।
यी त उदाहरण मात्रै हुन्, कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारीबीच चलचित्रकर्मीले छायांकन सुरु गरेका छन्। सरकारले चलचित्र छायांकनमा रोक लगाए पनि चलचित्रकर्मीले अटेरी गरिरहेका छन्।
यद्यपि, चलचित्रकर्मी भने आफूहरूले सुरक्षाका मापदण्ड अपनाएर चलचित्र छायांकन गरिरहेको बताउँछन्। ‘हामी कोरोना संक्रमणबाट जोगिनेमा सचेत छौं,’ ‘ए मेरो हजुर ४’का निर्माता थापाले भने, ‘त्यसैले सुरक्षाका सामग्री सेनिटाइजर, माक्स प्रयोग गरेर काम गर्छाैं।’
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल चलचित्र छायांकन अनुमति र फिल्म हल सञ्चालनका लागि पहल भइरहेको बताउँछन्। ‘अहिले सबै क्षेत्र खुलेका चलचित्र क्षेत्रलाई पनि खुलाउनु पर्छ भन्ने हाम्रो माग हो,’ उनले भने।
हवाई यातायात, होटल तथा अन्य व्यापार एवं व्यवसाय खुलेकाले चलचित्र क्षेत्रलाई रोक्न नहुने उनको भनाइ छ।
‘कोरोना महामारीका कारण चलचित्र क्षेत्र पनि धरापमा परिसकेको छ। त्यसैले यसलाई चलायमान बनाउन चलचित्र निर्माण हुन आवश्यक छ,’ दाहालले भने।
कात्तिक १३, २०७७ बिहीबार १८:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।