अस्पताल भरिँदा संक्रमितको ज्यान जोखिममा
काठमाडौं : नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीलाई कोरोना भाइरस (कोभिड-१९) सक्रमितको उपचारका लागि अस्पतालहरूमा बेड मिलाइदिन दिनहुँजसो फोन आउँछ।
उनी आफूले चिनेजानेका र सहकर्मीहरूसँग प्रयास पनि गर्छन्। तर, कहिँबाट पनि बेड, भेन्टिलेटर तथा आइसियु खाली छन् भन्ने जवाफ पाउँदैनन्।
कार्की भन्छन्, ‘सरकारका जिम्मेवार व्यक्तिहरू नै उपचारका लागि बेडहरू छन् भनेर ढाँटिरहेका छन्।’
काठमाडौं उपत्यकामा मात्रै हैन, उपत्यकाबाहिर पनि कोरोना संक्रमितको उपचारका लागि बेड अभाव भएको उनले बताए।
‘मलाई बेड मिलाइदिनु भनेर धेरै व्यक्तिले फोन गर्नु हुन्छ,’ डा. कार्कीले भने, ‘तर, बेड नै पाइँदैन।’
पैसा तिरेर पनि बेड नपाउने अवस्था रहेको उनको भनाइ छ।
जनस्वास्थ्यविज्ञ डा. अरूणा उप्रेतीले पनि अक्सिजनको अभावमा चिनेका एक ६२ वर्षीय पुरुषको ज्यान गएको बताइन्। उनका अनुसार ती पुरुषलाई गत आइतबार कोरोना पोजेटिभ भयो। सोमबार स्याँस्याँ हुन थालेपछि काठमाडौं उपत्यकाकै कोरोनाको उपचार गर्ने एक मेडिकल कलेजमा उनलाई भर्ना गरियो।
‘अस्पतालमा भर्ना भए पनि मंगलबार राति अक्सिजन नै नपाएर मृत्यु भयो,’ डा. उप्रेतीले भनिन्, ‘अक्सिजन पाएको बाँच्नु हुन्थ्यो।’
कुनै दीर्घरोगको समस्या नभए पनि कोरोना संक्रमणका कारण अक्सिजन अभावमा ती पुरुषको मृत्यु भएको डा. उप्रेतीले सुनाइन्। उनका अनुसार कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा आइसियु तथा भेन्टिलेटर र अक्सिजन अभाव छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकै एक कर्मचारी उपत्यकाका अस्पतालहरूमा बेड, आइसियु तथा भेन्टिलेटरको अभाव भएकोे बताएका छन्। ती कर्मचारीले उकेरासँग भने, ‘तथ्यांकमा बेड अझै खाली भएको जस्तो देखिन्छ। तर, वास्तविकतामा खाली देखिँदैन। फोन गर्दा कहीँ पनि बेड भेट्दिनँ।’
ती कर्मचारीले संक्रमितको उपचारका लागि खाली बेड (आइसियु र भेन्टिलेटर) नपाइएको जानकारी दिए।
क्षमता नै कम
काठमाडौं उपत्यकामा बेड अभाव देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिनअघि सार्वजनिक गरेको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा १०९ जना कोरोना संक्रमित बिरामी आइसियुमा उपचाररत थिए। जसमध्ये ६६ जना सरकारी अस्पताल र ४३ जना निजी अस्पतालको आइसियुमा भर्ना भएका थिए।
उपत्यकाका अस्पतालमा २४१ आइसियु छन्। तीमध्ये सरकारी अस्पतालमा १२४ छन् भने निजीमा ११७।
मन्त्रालयको केही दिनअघिको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा ४२ जना कोरोना संक्रमित बिरामी भेन्टिलेटरमा उपचाररत छन्, जसमध्ये २० जना सरकारी अस्पताल र २२ जना निजी अस्पतालको भेन्टिलेटरमा उपचाररत छन्। उपत्यकाका अस्पतालमा १०७ वटा भेन्टिलेटर क्षमता छ, जसमा सरकारी अस्पतालमा ६७ र निजीमा ४० छन्।
तथ्यांकलाई आधार मान्ने हो भने आधाभन्दा बढी भेन्टिलेटर अझै खाली देखिन्छ। तर, उपत्यकामा आइसियु तथा भेन्टिलेटरको अभावमा कोरोना संक्रमित बिरामी भौतारिनुपरेको संघका अध्यक्ष डा. कार्की बताउँछन्।
कात्तिक ११ गतेको तथ्यांक अनुसार नेपालमा ४० हजार ६८१ सक्रिय संक्रमित छन्, जसमध्ये काठमाडौं उपत्यकामा मात्रै २० हजार ५८६ सक्रिय संक्रमित छन्। यसरी हेर्दा उपत्यकामा मात्रै आधा हाराहारी सक्रिय संक्रमित छन्।
दसैंमा परीक्षण नै कम भएकाले सक्रिय संक्रमित पनि केही दिनअघिको तुलनामा अहिले कम देखिएको हो। तर, दसैंअघिको तथ्यांक हेर्ने हो कोरोना संक्रमणको दर बढिरहेको थियो। नेपालमा एक लाख ६० हजार ४०० मा कोरोना पोजिटिभ देखिसकेको छ। नेपालमा मृत्युदर ०.५ प्रतिशत छ भने निको हुनेको दर ७४.१ प्रतिशत छ।
यस्तो छ अवस्था
स्वास्थ्य मन्त्रालयको कात्तिक ११ गतेको तथ्यांक अनुसार नेपालमा जम्मा २८१ संक्रमित आइसियुमा उपचाररत छन् भने ७१ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन्, जसमा बाग्मती प्रदेशमा सबैभन्दा बढी संक्रमित उपचाररत छन्।
सरकारको कुरा पत्याउने हो अझै भेन्टिलेटरसहितका आइसियु खाली छन्। तर, व्यवहारमा स्वयं अस्पतालहरूले बेड खाली नभएको जानकारी दिएका छन्।
त्यसो त केही महिनाअघि सरकारले सार्वजनिक गरेको तथ्यांक अनुसार पनि नेपालमा निजी र सरकारी अस्पतालमा गरि २६ हजार ९३० बेड छन्, जसमा १ हजार ५९५ वटा आइसियु छन्। भेन्टिलेटरको संख्या आठ सय ४० छ।
मुलकभरका १९४ वटा अस्पतालमा भेन्टिलेटर सेवा उपलब्छ छ। त्यसैगरी तीन हजार ७६ वटा आइसोलेसन बेड छन्। तर, संक्रमितले उपचारको अभावमा ज्यान गुमाउनु पर्ने अवस्था देखिसकेको तितो यथार्थ छ।
कात्तिक ११ गतेको तथ्यांक अनुसार स्वास्थ्य मन्त्रालयले ३२ हजार ४६४ संक्रमित त होम आइसोलेसनमा नै रहेको जनाएको छ। अस्पताल खचाखच हुन थालेपछि सरकारले यसअघि नै संक्रमितलाई होम आइसोलेसनमा बस्न आग्रह गरिसकेको छ। सरकारले अस्पतालमा सहज सेवा उपलब्ध भएर घरैमा बस्नु भनेको हैन। अस्पतालमा उपचार सेवा नहुँदा सरकारले यसो भनेको हो।
बेड अभावका कारण अस्पतालमा गएर पनि सबै संक्रमित आइसोलेसनमा बस्न सम्भव देखिँदैन।
भरिभराउ अस्पताल
उपत्यकाका अस्पतालमा सम्पर्क गर्दा पनि कोरोना संक्रमितका लागि छुट्याइएका बेड संक्रमितले भरिएको पाइएको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सम्पर्क गर्दा संक्रमितले बेड भरिएको अस्पतालले जानकारी दिएको छ।
अक्सिजन चाहिनेसम्म बिरामी राख्न सक्ने भए पनि आइसियु तथा भेन्टिलेटर आवश्यक पर्ने बिरामीलाई भर्ना गर्न नसक्ने अवस्था रहेको टेकु अस्पतालका प्रवत्ता डा. अनुप बास्तोलाले जानकारी दिए।
टेकु अस्पतालको कोभिड वार्डमा ३४ वटा बेड छन्, जसमा पाँच वटा क्याबिन बेड छन्।
अस्पतालमा २० आइसियु बेड र ७ भेन्टिलेटर रहे पनि सबै भरिएको उनको भनाइ छ।
ललितपुरस्थित पाटन अस्पतालमा पनि कोरोना संक्रमित बिरामीका लागि छुट्याइएको बेड, आइसियु तथा भेन्टिलेटर भरिभराउ भएका छन्।
अस्पतालका निर्देशक प्रा.डा. रवि शाक्यले कोरोना संक्रमितका लागि छुट्याइएका बेड, भेन्टिलेटर तथा आइसियु भरिँदै गएको जानकारी दिए।
प्रा.डा. शाक्यका अनुसार पाटन अस्पतालमा जम्मा ६ सय बेड छन्। जसमध्ये २५० बेड कोभिड उपचारका लागि छुट्याइएको छ।
अस्पतालमा कोभिडको लागि २७ वटा आइसियु छुट्याइएको छ, जसमा २१ बयस्क र ६ वटा बालबालिकका लागि छन्।
कोभिड संक्रमितको उपचारका लागि २० वटा भेन्टिलेटर छुट्याइएको छ, जसमा १५ वयस्क र ५ वटा बालबालिकाको लागि छुट्याइएको हो।
बालबालिकाको लागि छुट्याइएको आइसियु र भेन्टिलेटरबाहेक अन्य सबै भरिएको निर्देशक प्रा. डा. शाक्यले जानकारी दिए। तर, आवश्यकता अनुसार कोभिड संक्रमितका लागि थप बेड, आइसियु तथा भेन्टिलेटर छुट्याउन सकिने उनले बताए।
सरकारी मात्रै हैन, निजी अस्पतालमा पनि कोभिडको लागि छुट्याइएका बेड अभाव हुन थालेको छ। सरकारले २० बाट बढाएर ५० प्रतिशत बेड कोभिडको उपचारका लागि छुट्याउन निजी अस्पताललाई निर्देशन गरिसकेको छ।
काठमाडौंको ग्राण्डी इन्टरनेसनल अस्पतालमा पनि आइसियु तथा भेन्टिलेटर कोरोना संक्रमित बिरामीले भरिएको अस्पतालले जानकारी दिएको छ। अस्पतालकी एक कर्मचारिले भनिन्, ‘फोन आको आकै गर्छ तर, बेड छैनन्।’
ग्राण्डीमा जम्मा ३० वटा आइसीयु–भेन्टिलेटर छन्। जसमध्ये कोभिडको लागि छुट्याइएका १८ वटा आइसीयू–भेन्टिलेटर संक्रमितले भरिएको अस्पतालले जानकारी दिएको छ। त्यसैगरी १० वटा क्याबिन र २२ वटा वार्डका बेड पनि कोरोना संक्रमितले भरिएको अस्पतालले जानकारी दिएको छ।
काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालले पनि कोरोना संक्रमितका लागि छुट्याइएका बेड, आइसियु र भेन्टिलेटरको अभाव हुँदै गएको जनाएको छ।
अस्पतालका अनुसार विशेषगरी आइसियु र भेन्टिलेटरको अभाव हुँदै गएको हो। सिनामंगलस्थित केएमसी अस्पतालमा कोरोना संक्रमितका लागि ७ बेड आइसोलेसन, आइसियु पाँच र दुई वटा भेन्टिलेटर छुट्याइएको छ। तर, सबै बिरामीले भरिएको अस्पतालले जानकारी दिएको छ।
अस्पतालले दिएको जानकारी अनुसार दुवाकोटमा कोरोना संक्रमितका लागि सय बेड छुट्याइएको छ।
सरकारको गफ
एकातर्फ कोरोना संक्रमित बिरामीले बेड अभावका कारण उपचारै नपाई ज्यान जाने जोखिम छ। अर्काेतर्फ सरकारले संक्रमित बिरामीको उपचारमा कमी हुन नदिने दाबी गर्न छोडेको छैन।
केही दिनअघि स्वास्थ्यमन्त्री भानुभक्त ढकालले देशभरी भेन्टिलेटरसहितको २६ सय आइसियु तयारी अवस्थामा रहेका दाबी गरेका छन्।
थप चार सय निर्माण भइरहेको उनको दाबी छ। तर, कोरोना संक्रमितको उपचारका लागि बेड, भेन्टिलेटर तथा आइसियुको अभाव देखिएको छ।
अक्सिजन र मनिटर सहितको तीन हजार पाँच सय हाइ डिपेन्डेन्सी युनिट थप्ने कार्य तीब्ररूपमा अगाडि बढाएको स्वास्थ्यमन्त्री ढकालको दाबी छ। यसले कोरोना संक्रमित सिकिस्त बिरामीका लागि उपचारमा सहयोग मिल्ने दाबी गरिए पनि कहिले निर्माण भएर बिरामीले उपचार पाउँछन् भन्ने शंकाको विषय बनेको छ।
संक्रमितले तत्काल सहजै उपचार नपाउने तितो अवस्था छ। अस्पताल नभएका ६ सय ४९ स्थानीय तहमा पनि पाँच बेडका अस्पताल स्थापना गर्ने सरकारको दाबी छ।
अस्पताललाई स्तरोन्नति गर्दै सरकारले ६ हजार २०२ बेड थप्ने काम अगाडि बढाएको मन्त्रालयले जनाएको छ।
कोभिडको लागि ७० वटा अस्पतालमध्ये १७ निजी रहेको मन्त्रालयले जानकारी दिएको छ। सरकारले निजि अस्पताल तथा मेडिकल कलेजलाई कम्तीमा ५० प्रतिशत बेड कोरोना संक्रमित बिरामीको उपचारका लागि छुट्याउन निर्देशन दिएको छ।
कात्तिक १३, २०७७ बिहीबार ०९:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।