दशकैपिच्छे फेर्नुपर्छ गहुँको बीउ

दशकैपिच्छे फेर्नुपर्छ गहुँको बीउ

भैरहवा : राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम, भैरहवाले ४६ वर्षदेखि गहुँको जातीय विकास, त्यससँग सम्बन्धित प्रविधिको विकास र त्यसको स्रोत तथा बीउको विकासमा अनुसन्धान गर्दै आएको छ। यो अवधिमा ४७ जातका गहुँ अनुसन्धान भइसकेको छ। तर, अनुसन्धानपछि नयाँ विकास गरिएको जात बढीमा दशकभन्दा लामो समय नटिक्ने गरेको पाइएको छ।

‘त्रिवेणी’, ‘भाष्कर’, ‘लुम्बिनी’, ‘सिद्धार्थ’लगायत गहुँको नयाँ जात विकासपछि किसानले प्रयोग गरे। यो जातको गहुँको उत्पादन र उत्पादकत्व पनि राम्रो भयो। तर, १० वर्षमै यी जातको गहुँ विस्थापित गरियो।

राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम, भैरहवाले ४६ वर्षमा ४४ जातको गहुँको बीउ अनुसन्धान गरि प्रयोगमा ल्याइसकेको छ। पछिल्लो पटक आर्थिक वर्ष २०७६/०७७ मा तराई क्षेत्रमा प्रयोगका लागि ‘एनएल १३०७’, ‘एनएल १३२७’ र ‘एनएल १३६९’ गरि नयाँ तीन जातको गहुँ अनुसन्धान गरी कार्यान्वयनका लागि कृषि मन्त्रालयमा सिफारिस गरिएको छ।

कृषि वैज्ञानिकहरूका अनुसार गहुँको नयाँ जात ८/१० वर्षभन्दा लामो समय प्रयोगमा ल्याइए यसले उत्पादन र उत्पादकत्व बढाउन सकिँदैन। त्यसैले नयाँ जातको विकास गरिरहनुपर्छ। 

‘निश्चित अवधिपछि गहुँमा रोग र किराको प्रकोप बढ्छ। यसलाई रोक्ने उपाय भनेकै नयाँ जातीय विकास नै हो,’ राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम, भैरहवाका संयोजक वरिष्ठ वैज्ञानिक रोशन बस्नेतले भने, ‘त्यसैले हामीले हरेक दशकमा रोग, किरा कम लाग्ने नयाँ–नयाँ जातको विकास गर्छौं, पुरानोलाई विस्थापित गर्दै जान्छौं।’

नेपालमा गहुँको जातको विकास गर्दा अन्तर्राष्ट्रिय संस्थाहरूबाट ल्याएर परीक्षणपश्चात् हावापानी सुहाउँदो जातको छनोट गरिन्छ। यस्तै, विभिन्न गहुँको जातको क्रसबाट नयाँ र उपर्युक्त जातको विकास तथा अनुसन्धान हुँदै आएको छ। गहुँको जात विकास गर्दा पूर्व–पश्चिमसम्म रहेका नार्कका स्टेसनहरूमा जाँचसमेत गरिन्छ।

कतिपय किसानलाई खेती गर्न लगाएर उत्पादन र उत्पादकत्वसमेत परीक्षण गरिँदै आएको राष्ट्रिय गहुँबालीका वरिष्ठ वैज्ञानिक बाली प्रजनक दीपक पाण्डेले जानकारी दिए।

‘हामीले जातीय विकासका लागि धेरै शुद्धीकरण गर्छौं। विभिन्न चरणमा छनोट गर्दै गएपछि बल्ल नयाँ जात विकास हुने हो,’ उनले भने। 

नेपालमा करिब २० वटा अनुसन्धान कार्यालयले गहुँको मूल बीउ उत्पादन गर्दै आएका छन्। गहुँको जात विकास गर्दा उत्पादन र उत्पादकत्व वृद्धि हुनसक्ने एवं जिंक तथा आइरन बढी भएका जातहरू अनुसन्धान र उन्मोचनका लागि सिफारिस गर्ने गरिन्छ। तर, गहुँमा लाग्ने रोग र पछिल्लो समय किराको प्रकोपले पनि गहुँबाली नष्ट गर्दै आएको छ।

राष्ट्रिय गहुँबालीकी किटविज्ञ विनिता शर्माले खासगरी पछिल्लो समय गहुँमा पहेंलो र खैरो सिन्दुरे, डढुवा जस्ता रोग र लाई, सलह, गवाँरो, फौजी, धमिरा जस्ता किराहरूको प्रकोप बढिरहेको बताइन्।

‘यसले गहुँबालीमा ठूलो क्षति हुने गरेको छ,’ उनी भन्छिन्, ‘सुधारिएको जातहरू लगाउने, खेतबारी वरीपरी सरसफाइ गर्ने, मलजलको सही व्यवस्थापन गर्ने, बाली चक्रलाई ध्यान दिने, माटोलाई असर नगर्ने गरि सामान्य विषादी प्रयोग गर्ने र बेलाबखत प्रांगारिक मलको पनि राख्नुपर्छ। यसो गरिएमा धेरै हदसम्म रोग, किराबाट बचाउन सकिन्छ।’

कार्यालयका अनुसार तराईमा १८, पहाडमा १२ र उच्च पहाडमा २ जातको गहुँको खेती हुन्छ। १२ जातको गहुँमा रोग र किराकोे प्रकोप तथा उत्पादन र उत्पादकत्वसमेत राम्रो नभएका कारण विस्थापित गरिएको छ भने अहिले अनुसन्धान गरिएका तीन जात कार्यान्वयनको प्रक्रिया अघि बढाइएको छ। 

नेपालमा सन् १९६० बाट गहुँको जातीय विकाससम्बन्धी अनुसन्धान सुरु भएको थियो। भौगोलिक हिसावले खेती गर्न तराईका लागि ‘एनएल ९७१’, ‘बाणगंगा’, ‘बीएल ४३४१’, ‘भृकुटी’, ‘गौतम’ जातको गहुँ उत्तम मानिन्छ। यस्तै, पहाडका लागि ‘स्वर्गद्वारी’, ‘धवलागिरी’, ‘डब्लुके १२०४’ लोकप्रिय जात हुन् भने उच्च पहाडमा ‘डाँफे’, ‘पासाङ ल्हामु’ लगायत जात उत्तम मानिन्छ। 

नेपालमा ९५ प्रतिशतभन्दा बढी किसानले स्वदेशमै उत्पादित विभिन्न जातको गहुँको बीउ प्रयोग गर्ने गर्छन्। मुलुकभर ७ लाख ६ हजार ८४३ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ। उत्पादनका हिसाबले यो धान र मकै पछिको तेस्रो बाली हो।
 

कात्तिक १२, २०७७ बुधबार ००:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।