यसरी मनाए कलाकारले दसैं 

यसरी मनाए कलाकारले दसैं 
दसैंको टीका ग्रहण गर्दै अभिनेत्री पूजा शर्मा।

अभिनेता अनमोल केसीले बुबा भुवन केसीको हातबाट टीका लगाएका छन्। उनले बुबा र हजुरबुबाको हातबाट टीका ग्रहण गरेका हुन्।

टीका लगाउँदा दुवैजनाले माक्स लगाएका छन्। कोरोना संक्रमणको जोखिमबाट बच्न  माक्स लगाइएको निर्माता तथा निर्देशक भुवन केसीले बताए। 

कलाकार दीपकराज गिरीले काठमाडौंस्थित निवासमा टीका लगाएका छन्। उनले घरमा पाँच जनाले मात्रै टीका लगाएको बताए। उनले भने, ‘पहिले हाम्रो घरमा टीका लगाउने ४० जनाको हुल हुन्थ्यो। यो वर्ष ५ जनाले मात्रै टीका लगाएका छौं।’

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले परिवारका साथ टीका लगाएकी छन्। उनले परिवारका साथ विराटनगरमा टीका लगाएको बताइन्। 

गायक रामकृष्ण ढकालले पनि आफ्नै निवास भैंसेपाटीमा दसैंको टीका लगाएका छन्। उनले परिवारका केही सदस्यका साथ टीका ग्रहण गरेको बताएका छन्।  

गायक प्रमोद खरेलले ६ वर्षपछि बुबाको हातको टीका लगाएका छन्। सधैं कार्यक्रममा व्यस्त रहँदै आएका प्रमोदले यस वर्ष कोरोनाका कारण बुबाको हातको टीका लगाउन जुरेको बताए। कोरोनाका कारण पनि घरको बसाईले बुबाको हातको टीका लगाउन पाएको बताए। तर, आमाले उनलाई टीका लगाइदिन पाइनन्। कारण– उनकी आमालाई जुठो परेको छ। 

अभिनेता पल शाहले पनि घरमा नै परिवारका साथ टीका लगाएका छन्। टीका लगाएपछि सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिरमा उनी खुसी मुद्रामा देखिएका छन्। 

सदाबहार अभिनेत्रीका रूपमा परिचित करिश्मा मानन्धरले परिवारका केही सदस्यका साथ टीका लगाएकी छन्। अघिल्ला वर्ष जमघटमा बसेर टीका लगाउँदै आएकी करिश्माले यस वर्ष भने थोरैसँग मात्रै टीका लगाएको बताइन्। 

परिवारका साथ टीका ग्रहण गर्नेहरूमा अभिनेता निखिल उप्रेती, प्रदीप खड्का, पुष्प खड्का, प्रशान्त ताम्राकार, जितु नेपाल, सन्दिप क्षेत्री, दीपकराज गिरी, वर्षा शिवाकोटी, पुजा शर्मा, सञ्चिता लुइँटेल, क्रिष्टिना गुरुङलगायत छन्। 

कन्सर्टमा व्यस्त गायक शिव परियारले यस वर्षको दसैं परिवारका साथ मनाएका छन्। 

यस्तै, अभिनेत्रीहरू आँचल शर्मा, प्रियंका कार्की, वर्षा राउत, अनु शाह र ऋचा घिमिरे, संगीतकार अर्जुन पोखरेल, गायिका दुर्गा खरेल लगायतले विवाह पछिको पहिलो दसैं मनाएका छन्। 

विजयादशमीमा (हिजो) सुरु भएको दसैंको टीका कोजाग्रत पूर्णिमासम्म लगाउने प्रचलन छ। 

कात्तिक ११, २०७७ मंगलबार १९:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।