‘दसैं समावेशी राष्ट्रिय पर्व’ 

‘दसैं समावेशी राष्ट्रिय पर्व’ 

दसैंमा पहिलो त ऋतु नै परिवर्तन हुन्छ। वर्षा ऋतु सकिएर सरद ऋतु आउँछ। वर्षाको समयमा धान रोप्ने, खेतीपाती गर्ने चलन छ।

दसैंबारे कवि शिरोमणि लेखनाथ पौडेलले कवितामै वर्णन गरेका छन्-

हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा
भवानीको भयो पूजा चयो आनन्दको वर्षा...  

कवितामा यी हरफमा भनेजस्तै दसैंमा सवै कुरा भुलेर मान्यजनबाट टीका र आशीर्वाद थाप्ने चलन छ। अघिपछि शत्रु भए पनि यो समयमा वैमनस्यता नराखेर हर्षोल्लासका साथ खुसी साँट्ने गरिन्छ। 

२००७ सालपछि राष्ट्रप्रमुखले विजयादशमीको शुभकामना दिने चलन सुरु भयो। यही समयदेखि बर्मामा बसेका नेपाली साथै विश्वभर छरिएका नेपालीको सुस्वास्थ्य र दीर्घायुको कामना गरिन्छ। जसको जन्मभूमि, पितृभूमि र कर्मभूमि जेसुकै भए पनि पुख्र्यौली नाता नेपाली भएकै कारण शुभकामनामार्फत यस्तो कामना गरिन्छ। 

दसैं नमान्ने पनि छन्। तर, अधिकांशले राष्ट्रिय चाडको रूपमा मान्ने गर्छन्। दसैंलाई राष्ट्रिय पर्वको रूपमा मान्यता दिँदै सरकारले पहिले पेश्की चुक्ता गर्ने चलन थियो। अहिले दसैं बोनस दिने चलन छ। दसैं नमान्ने समुदायले पनि बिदा लिने र शुभकामना आदानप्रदान गर्छन्। यसले सबैलाई एकताको सूत्रमा बाँधेको छ। जसकारण दसैं समावेशी पर्वको रूपमा छ।

नेवार समुदायमा कालो टीका लगाउने, रातो–सेतो धागो बान्ने चलन छ। जमरा शिरमा राखिन्छ। जमराले प्रकृतिका शक्तिको संकेत गरेको हुन्छ। यसलाई पछिल्लो समय औषधीको रूपमा पनि प्रयोग गर्न थालिएको छ। यो समयमा सबैलाई घर नै प्यारो हुन्छ। र, देशविदेशबाट दसैं मान्न घर फर्किन्छन्।

दसैंमा पहिले सूचीकारबाट लुगा सिलाउने र चामल, चिउरा ढिकीमै तयार गर्ने गरिन्थ्यो। नेवार समुदायले घरमै रक्सी तयार पार्ने चलन थियो। अहिले सबै तयारी सामान नै बाहिरबाट ल्याउन थालिएको छ। पछिल्लो समय दसैं मान्ने शैली फेरिएको छ।

भोटेहरूले रानीपोखरीको डिलमा आएर भेँडाच्यांग्रा बेच्ने चलन थियो। यी व्यापारीहरू समूहमा आउँथे। रानीपोखरी नजिकको सोह्रखुट्टे पाटीमा बस्थे। भेडाको पाँच रूपैयाँ र च्यांग्रा चार रूपैयाँमा मोल लगाइन्थ्यो। अहिले च्यांग्रा महँगो भयो, भेँडा सस्तो भएको छ। उनीहरू पुच्छर, सिङ लगाायतका स्थानमा रातो, हरिया, पहेंलोे रङ लगाएर आफ्नो भेँडा च्यांग्रा चिन्थे। उनीहरू त्यहीँ पकाएर खाने र भेँडा च्यांग्रा बेचेर घर फर्किन्थे।

दसैंमा मालश्री गाइन्छ। यसमा भवानीको चर्चा गर्ने गरिन्छ। मालश्रीमा देवीको शक्तिको चर्चा गरिन्छ। मालश्रीमा देवीको मन्त्र समावेश भएको हुन्छ।  

या देवी सर्वभूतेषु शक्ति–रूपेण संस्थिता 
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः

यसमा शक्तिको चर्चा गरिन्छ। दसैं विशेषतः शक्तिलाई विश्वास गर्ने समुदायसँग सम्बन्धित छ। शक्तिबिना कुनै पनि कुरा सम्भव हुँदैन भन्ने सन्देश दसैंले दिन्छ। 

(संस्कृतिविद् तथा शताब्दी पुरुष जोशीसँग उकेराकर्मी केशवप्रसाद पाण्डेले गरेको कुराकानीमा आधारित)

कात्तिक १०, २०७७ सोमबार १४:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।