विजया दशमी : अपराजिताको आराधना र देवी-विसर्जन

विजया दशमी :  अपराजिताको आराधना र देवी-विसर्जन

नेपालीहरूको महान् चाड बडादसैँ नौ दिनसम्म शक्तिको उपासना गरेर दसौँ दिन देवी–विसर्जन गर्ने दिन हो । आश्विन शुक्लपक्षको प्रतिपदाका दिन घटस्थापना गरेर नौ दिनसम्म दुर्गा भवानीको आराधना गरी दशमीका दिन दुर्गा–विसर्जन गरिन्छ र धूमधामसँग दसैँ मनाइन्छ।  

दसैँको सामाजिक महत्त्व एकातिर छ । देश–परदेश पुगेका परिवारका सदस्य घर फर्कन्छन्, आफन्तसँग भेटघाट हुन्छ, मान्यजनबाट टीका र आशीर्वाद लिइन्छ, नयाँ कपडा लगाइन्छ, मिठामिठा खानपान गरिन्छ, गाउँ–सहर, टोल–छिमेक सबैतिर मानिसको बाक्लो आउजाउ हुन्छ, छिमेकी, आफन्त, नातागोता, मान्यजन, साथीसँगाती धेरैसँग भेट हुन्छ यी सबै कुराले गर्दा दसैँ रमाइलो हुन्छ । तर यसको मुख्य विशेषता भने हर्षोल्लासपूर्वक गरिने नवरात्रोत्सवको समापन र देवी–विसर्जन नै हो। 

विजया दशमीको अघिल्लो दिन महानवमीका दिनसम्म दुर्गा देवीका नौ रूपको पूजा अर्चना गरी अनुष्ठानका मुख्य कामहरू सकिन्छन् । विजया दशमीका दिन देवी अपराजिताको पूजा–आराधना गरिन्छ र देवी–विसर्जन गरिन्छ।

अपराजिता शब्दको अर्थ कसैले जित्न नसक्ने स्त्री भन्ने हो । यो दुर्गा देवीको सर्वशक्तिसम्पन्न रूप हो। यिनलाई विजया पनि भनिएको छ । मार्कण्डेय पुराणअन्तर्गतको सप्तशतीको पाँचौँ अध्यायमा देवताहरूले अपराजिताको स्मरण गरेको कुरा उल्लेख छ । तिनै अपराजिता प्रकट भएर असुरसेनासहित निशुम्भ र शुम्भको वध गरेको कथा त्यहाँ वर्णन गरिएको छ । अपराजिता पुष्पविशेषको नाम पनि हो, यो देवी अपराजिताको अत्यन्त प्रिय पुष्प हो। अपराजिताको स्वरूप यसरी वर्णन गरिएको छ-

नीलोत्पलनिभां देवीं निद्रामुद्रितलोचनाम् ।
नीलकुञ्चितकेशाग्य्रां निम्ननाभिवलित्रयाम् ।।
वराभयकराम्भोजां प्रणतार्तिविनाशिनीम् ।
पीताम्बरवरोपेतां भूषणस्रग्विभूषिताम् ।।
वरशक्त्याकृतिं सौम्यां परसैन्यप्रभञ्जिनीम् ।
शंखचक्रगदाभीतिरम्यहस्तां त्रिलोचनाम् ।।
सर्वकामप्रदां देवीं ध्यायेत् तामपराजिताम् ।

स्तोत्रमा वर्णन भएअनुसार अपराजिता नीलकमलजस्तो श्याम वर्णकी छिन् । यिनका तीन नेत्र छन्, नेत्रहरू अर्धमुद्रित अवस्थामा छन् । यिनका काला र घुम्रिपरेका केश छन् । त्रिवलिसहित गहिरो नाभि छ । यिनले पहेँला सुन्दर वस्त्र, आभूषण र माला लगाएकी छिन् । यिनको मुखाकृति शक्तियुक्त तर सौम्य छ । यिनका चार हातमा शंख, चक्र, गदा र अभयमुद्रा रहेका छन् । शत्रुसेनालाई परास्त गर्ने यिनले भक्तहरूका पीडा हरण गरिदिन्छिन् र सबै कामना पूरा गरिदिन्छिन् । यिनको वाहन सिंह हो। 

मोक्ष र विजयको कामना गर्नेले दशमीका दिन अपराजिताको पूजा गर्नुपर्ने विधान स्कन्दपुराणमा उल्लेख भएको पाइन्छ । विजयका लागि देवी विजया/अपराजिताको पूजा गरिने हुनाले नै आश्विन शुक्ल दशमीलाई विजया दशमी भनिएको हो। देवीभागवत, तृतीयस्कन्धमा आएको प्रसंग अनुसार नारदका उपदेशले रामचन्द्रले आश्विन शुक्ल प्रतिपदादेखि देवीको आराधना गरेका थिए । देवी प्रसन्न भएर रावणको वध गर्न समर्थ भए भन्ने वरदान दिइन् । रामचन्द्रले दशमीका दिन विजया÷अपराजिताको पूजा गरेर रावणसँगको युद्धका लागि वानरसेनासहित प्रस्थान गरे । देवीका कृपाले उनले विजय प्राप्त गरे । देवीले महिषासुर र शुम्भमाथि विजय प्राप्त गरेको दिन पनि यही दिनलाई मानिन्छ। 

पूजाविधि 

प्रतिपदाका दिन घटस्थापना गरी नवरात्रभरि नवदुर्गाको पूजा गरेकै कलशमा दशमीका दिन अपराजिताको पूजा गरिन्छ । अपराजिताको पूजा गर्दा पनि सधैँजस्तै दीप, कलश, गणेश, अन्य आवाहित–स्थापित देवीदेवताको पूजा गरी प्रधान देवताका रूपमा अपराजिताको पूजा गर्नुपर्छ । अपराजितालाई सम्भव भएसम्म अपराजिताको पुष्प अर्पण गर्नु उत्तम हुन्छ। यिनलाई अरू मन्त्रका अतिरिक्त ‘ॐ अपराजितायै नमः’ भनेर पूजा गर्न सकिन्छ । अपराजिताको पूजा गर्दा यिनका दायाँपट्टि जया र बायाँपट्टि विजयाको पनि पूजा गर्नुपर्छ । यिनका वाद्य एवं आयुध शंख, चक्र, गदाको अनि वाहन सिंहको पनि पूजा गर्नुपर्छ । नवरात्रभरि पूजा गरेका देवीको पनि विसर्जन नगरेकाले तिनीहरूको पनि पूजा गर्नुपर्छ । देवीपूजाको क्रममा आआफ्ना कुलदेवताको पनि स्मरण र पूजन गरिन्छ । बलिदान, कुमारीपूजा, सप्तशती पाठ आदि कर्म भने नवमीका दिन नै समाप्त हुन्छन्।

देवी विसर्जन 

देवीपूजाको सबै काम सकिएपछि देवीलाई विदा गर्ने काम हुन्छ । यसका लागि भगवतीसँग क्षमा–प्रार्थना गरिन्छ अनि एउटा पहेँलो वस्त्र बिछ्याएर त्यसमा सस्र्यूं र अपराजिताको पात राखी ‘ॐ क्रियासिद्ध्यै अपराजितायै नमः’ ‘ॐ दुर्गायै नमः’ भनेर पूजा गरी त्यसलाई कुटुरो पारेर देवीको दाहिने हातमा बाँधिदिएको कल्पना गरी उनका नजिकै राखिन्छ । अनि देवीको प्रदक्षिणा गरी शंखजल घुमाएर ‘हे देवी प्रसन्न हुनुहोस्, मेरा सबै अपराध क्षमा गर्नुहोस्’ भनेर अर्घ दिइन्छ। यसपछि अक्षता, पुष्प चढाएर देवीको विसर्जन गरिन्छ । देवीलाई विदा गर्ने मन्त्र यस्तो छ- 

दुर्गे देवि जगन्मातः स्वस्थानं गच्छ पूजिते ।
संवत्सरे व्यतीते तु पुनरागमनाय वै ।। 

देवीविसर्जन गरेपछि घटस्थापनाको कलश, शान्तिकलश र कर्मपात्रको जलले अभिषेक लिने, देवीका पार्षदहरूलाई र कुलदेवतालाई फूल–प्रसाद चढाउने गरी मान्यजनबाट शुभ साइतमा टीका ग्रहण गरिन्छ। 

देवीको सवारी 

देवीको वाहन सामान्यतया सिंह हो तर अवस्थाअनुसार यिनका फरकफरक वाहन मानिन्छन् । विजया दशमी कुन वार पर्छ त्यस आधारमा देवी कुन वाहनमा चढेर जान्छिन् भन्ने परम्परागत मान्यता छ । यसअनुसार यसपल्ट सोमवार विजया दशमी परेको छ । त्यसैले देवीको वाहन भैँसी हुने भएको छ । देवी भैँसीको वाहन चढेर जानु रोगको संकेत मानिन्छ । देवीपूजन, मन्त्रजप, सप्तशती पाठहरू गरिएको छ भने देवीले रोगव्याधिहरूलाई नाश गर्नेछिन्। 

टीका ग्रहणका लागि शुभ साइत 

यसपल्ट २०७७ कार्तिक १० गते सोमवार दसैँको टीका छ । हिमाल पञ्चाङ्गअनुसार यस दिन बिहान ६ः११ देखि ७ः३५ बजेसम्म अमृत बेला र ८ः५९ देखि १०ः२३ बजेसम्म शुभबेला छन् । यी टीका ग्रहण गर्नका लागि शुभ समय हुन् । दिवा ११ः२४ देखि १२ः९ सम्म अभिजित् मुहूर्त छ । यो अत्यन्त शुभ समय हो । चन्द्रमा पश्चिम दिशामा भएकाले पश्चिम मुख गरी टीका थाप्नु शुभ हुन्छ ।

दसैँ–टीकामा प्रयोग हुने केही आशीर्वादात्मक श्लोकहरू

आयुद्र्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे,
ऐश्वर्यं नहुषे गतिश्च पवने मानश्च दुर्योधने ।
शौर्यं शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते,
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।

तिम्रो आयु अश्वत्थामाको जस्तो होओस् । दशरथको जस्तो सम्पत्ति होओस् । रामका जस्तो शत्रु नाश होऊन् । नहुषको जस्तो ऐश्वर्य होओस् । वायुको जस्तो गति होओस् । दुर्योधनको जस्तो मान होओस् । भीष्मको जस्तो पराक्रम होओस् । बलरामको जस्तो बल होओस् । युधिष्ठिको जस्तो सत्यता होओस् । विदुरको जस्तो ज्ञान होओस् । नारायणको जस्तो कीर्ति होओस् ।

लक्ष्मीस्ते पंकजाक्षी निवसतु भवने भारती कण्ठदेशे
वद्र्धन्तां बन्धुवर्गाः सकलरिपुगणाः यान्तु पातालमूलम् ।
देशे देशे च कीर्तिः प्रसरतु भवतां कुन्दपुष्पेन्दुशुभ्रा
जीव त्वं पुत्रपौत्रैः सकलसुखयुतैर्हायनानां शतञ्च ।।

तिम्रो घरमा कमलजस्ता नेत्र भएकी लक्ष्मी बसून् । कण्ठमा सरस्वती बसून् । बन्धुहरू बढून् । सबै शत्रुहरू पातालमा पुगून् । तिम्रो स्वच्छ कीर्ति देशदेशान्तर फैलियोस्। छोरा–नातिहरूसमेत सबै सुख पाएर तिमी सय वर्ष बाँच ।

निवसतु तव गेहे निश्चला सिन्धुपुत्री
प्रविशतु भुजदण्डे कालिका शत्रुहन्त्री ।
तव वदनसरोजे भारती भातु नित्यं
न चलतु तव चित्तं पादपद्मान्मुरारेः ।। 

तिम्रा घरमा अचल लक्ष्मीको वास होओस् । भुजामा शत्रु हनन गर्ने कालिका प्रवेश गरून् । तिम्रा मुखरूपी कमलमा सधैँ सरस्वती प्रकाशित होऊन् । तिम्रो चित्त भगवान् विष्णुका चरणकमलमा निश्चल भएर लागोस् । 

जयन्ती मंगला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ।।

जयन्ती, मंगला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा, स्वधा आदि नाम भएकी हे देवि तिमीलाई नमस्कार छ ।

आयुर्वृद्धिर्यशोवृद्धिर्वृद्धिप्रज्ञासुखश्रियाम् ।
धर्मसन्तानयोर्वृद्धिः सन्तु ते सप्तवृद्धयः ।।

तिम्रो आयु बढोस् । कीर्ति बढोस् । ज्ञान, सुख र सम्पत्तिको वृद्धि होओस् । धर्म र सन्तानको वृद्धि होओस् । तिम्रा यी सात कुराको वृद्धि होओस् ।

मन्त्रार्थाः सफलाः सन्तु पूर्णाः सन्तु मनोरथाः ।
शत्रूणां बुद्धिनाशोऽस्तु मित्राणामुदयोऽस्तु वः ।।

तिम्रा लागि मन्त्रहरू सार्थक होऊन् । मनका इच्छाहरू पूरा होऊन् । शत्रूहरूको बुद्धि नाश होओस् । मित्रहरूको उदय होओस्।

कात्तिक १०, २०७७ सोमबार ०५:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।