९ पानी उद्योग सिल

९  पानी उद्योग सिल
फाइल तस्बिर।

धनगढी : सुदूरपश्चिमका नौ वटा प्रशोधित पानी उद्योगलाई कारवाही गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढीले कैलाली र कञ्चनपुरका नौ वटा प्रशोधित पानी उद्योगलाई कारवाही गरेको हो।

कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ५ स्थित कैलाली वाटर इण्डष्ट्रिज, टीकापुर नगरपालिका वडा नम्बर १ स्थित न्यू एभरेष्ट अनुज उद्योग, अनुज एभरेष्ट उद्योग, लम्की चुहा नगरपालिका वडा नम्बर १ स्थित एक्वा कर्णाली अमृत एण्ड बेभरेज इण्डष्ट्रिज र लम्की चुहा नगरपालिका वडा नम्बर ३ स्थित एनकेडिजे बेभरेज एण्ड प्याकिङ उद्योगलाई कारवाही गरेको जनाएको छ।

यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ स्थित डेली ड्रिकिङ वाटर एण्ड मल्टी प्रोडक्सन उद्योग, शुक्लाफाँटा नगरपालिका वडा नम्बर ३ स्थित कौशल कञ्चन मिनरल्स, भीमदत्त नगरपालिका वडा नम्बर ४ स्थित ब्लु वर्ड वाटर ट्रिटमेन्ट एण्ड सप्लायर्स र भीमदत्त नगरपालिका वडा नम्बर २ स्थित शिवशंकर बाटर एण्ड मल्टि प्रोडक्सनलाई कारवाही गरेको हो।

कार्यालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत एवं कार्यालय प्रमुख नवराज दाहालले प्रशोधित पानी उद्योगले अपनाउनु पर्ने स्वच्छता मापदण्ड पालना नगरेको पाइएको जानकारी दिए। उनका अनुसार मापदण्ड सुधार नगरेसम्मका लागि  ती उद्योगलाई सिलबन्दीसहित उत्पादन रोक्का राखिएको छ। दाहालले भने,  ‘उद्योगहरुले अटेर गरी उत्पादन गरे खाद्य ऐनबमोजिम कारवाही गरिने छ।’

उनले धनगढी उपमहानगरपालिका वडा नम्बर ५ को कैलाली वाटर इण्डष्ट्रिज उद्योगले मापदण्डविपरीत १ लिटर बोतलमा समेत पानी उत्पादन गरेको पाइएको जानकारी दिए ।

म्याद नाघेका वस्तु बिक्री वितरण

हरेक वर्ष कैलालीमा दसैं तिहार तथा छठ पर्वलाई लक्षित गरेर बजार अनुगमन हुने गरेको छ। स्थानीय प्रशासन, सम्बन्धित स्थानीय तह, वाणिज्य कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका पदाधिकारी लगायतले संयुक्त बजार अनुगमन गर्ने गरेका छन्। 

 

कात्तिक ९, २०७७ आइतबार १६:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।