‘मन्दिरमा पूजाआजामा रोक लगाउनु धर्ममाथिको प्रहार हो’

‘मन्दिरमा पूजाआजामा रोक लगाउनु धर्ममाथिको प्रहार हो’
मोरङ, विराटनगरस्थत काली मन्दिरमा सडकबाट दर्शन गर्दै श्रद्धालु। कोरोना भाइरस संक्रमणको महामारीका कारण मन्दिरको मूल ढोका बन्द गरिएको छ। फाइल तस्बिर।

यो वर्षको दसैं अघिल्ला वर्षजस्तो हुने देखिँदैन। कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारीका कारण दसैं मनाउने तरिकासमेत बदलिएको छ/बदलिने छ।

दसैंमा आशीर्वाद आदानप्रदानसँगै भेटघाट र खानपिन गरिन्छ। यो वर्ष भने दसैंमा प्रविधिको माध्यमबाट आशीर्वाद लिन सकिन्छ। खानपिन तथा भेटघाट त अर्काे वर्ष भइहाल्छ। 

कोरोना संक्रमण नियन्त्रण गर्ने भन्दै राज्यले दसैंमा मन्दिर दर्शन गर्न रोक लगाएको छ। महामारी भन्दै चलिआएको धार्मिक परम्परा रोक्नु ठिक होइन। यो धर्ममाथिको प्रहार हो। मन्दिरमा पूजा गर्न रोक लगाइएपछि संस्कार छाड्नु पर्ने बाध्यता छ। 

आफूलाई मन नहुँदा वा पायक नपर्दा मात्रै संस्कृतिको विरोध गर्नु कदापी ठिक होइन। मन नलागे नअपनाए पनि हुन्छ। तर, अर्काको आस्थामाथि कुतर्क राख्दै प्रचार गर्नु राम्रो होइन। 

राज्यले दसैंलाई पहिलेझैं महत्त्व दिएको छैन। दसैंमा सरकारी तवरबाट पहिले उत्साह हुन्थ्यो। पछिल्ला वर्ष भने यो उत्साह हराउँदै गएको छ। यो दुःखद् हो। 

दसैं साझा चाड हो। र, नेपालीको पहिचान पनि। त्यत्तिकै दसैंलाई यतिका वर्षदेखि जोगाइएको होइन होला। 

दसैं लिच्छवीकालदेखि मनाउँदै आइएको छ। दसैं सम्बन्धमा लिच्छवीकालका केही अभिलेखहरू भेटिएका छन्। पूर्वमध्यकालयता दसैंको महत्त्व बढेको इतिहास छ।

लिच्छवीकालदेखि अनवरत चल्दै आएको रित फेरेर हामी कुन अपनत्व खोज्दै छौं ? प्रश्न तेर्सिएको छ।

दसैं नेपाल मात्र होइन, दक्षिण एसियाका अन्य देशमा पनि मनाइन्छ। नेपालमा दसैं विजयोत्सवको रूपमा मनाइन थालिएको छ। भारत, पाकिस्तान र श्रीलंकामा दसैंलाई ज्ञान तथा शक्ति आर्जनको लागि दसैं मनाउने गरिएको पाइन्छ।

घर फर्काउने पर्व 

दसैं नेपालीलाई एकसूत्रमा बाँध्ने पर्व हो। यो पर्वले धुलोमैलोबाट मुक्ति पाएर परिवार तथा साथीभाइ भेट्ने, दुःख–सुख साट्ने अवसर दिन्छ। 

यो मानिसलाई घर फर्काउने पर्व पनि हो। मानिस जहाँ भए पनि यो पर्वमा घर आउने गर्छन्। लाग्छ– फलामले चुम्बकलाई आकर्षण गरेजस्तो घरले मानिसलाई आकर्षण गरिरहेको छ। त्यसकारण यो पर्व मनाउन पाउँदा हामीले गर्व गर्नु पर्छ। 

आस्थामाथि प्रहार

कोरोना महामारीको बहानामा दसैंमा पूजाआजामा रोक लगाउनु उचित होइन। 

तीन सय वर्षअघि काठमाडौंमा भयानक महामारी फैलिएको थियो। त्यतिबेला १८ हजार घरधुरी रहेको काठमाडौंमा १८ हजारभन्दा बढी मान्छेले ज्यान गुमाएका थिए। महामारी बेलाबखत आइरहन्छ। तर, हामीले आफ्नो रितलाई छाड्नु हुँदैन। 

मन नलागे दसैं नमाउँदा पनि हुन्छ। तर, चाडपर्व मान्नेलाई मनाउन दिँदा फरक पर्दैन। यद्यपि, चाडपर्व मनाउनेले परिस्थिति भने बुझ्नु पर्ने हुन्छ। 

पछिल्लो समय गोरेबहादुर खपांगीको नक्कल गर्दै दसैंको विरोध गर्नेहरू पनि देखिएका छन्।  त्यतिबेला तत्कालीन राजाले मन्त्री बनाएपछि खपांगी चुप लागेका थिए। 

सीमित लोभमा दसैंको विरोध गर्नेहरूको पछि लागेर लामो समय अपनत्वका साथ मनाइरहेको पर्वलाई कसैले सहजै बहिष्कार गर्न सक्दैन। 

चाडपर्व रमाएर मनाउने हो। दसैं मनाउन नचाहनेले नमनाए पनि हुन्छ। दसैं मान्नै पर्छ भन्ने कानुन कतै छैन। व्यक्ति आत्मनिर्णय गर्न सक्षम छ। तर, अरुको आस्था र भक्तिमाथि प्रहार गर्नु राम्रो होइन। 

(कुराकानीमा आधारित) 
 

कात्तिक ९, २०७७ आइतबार ११:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।