‘म्हेनिङ’ मनाउँदै तामाङ  

‘म्हेनिङ’ मनाउँदै तामाङ  

काठमाडौं : बाग्मती प्रदेशमा रहेका तामाङ जातिले ‘म्हेनिङ’ पर्व धुमधामसँग मनाइरहेका छन्।

तामाङको बोन परम्परा अनुसार यो पर्व असोज शुक्लपक्षको फूलपाती तिथिबाट सुरु हुन्छ । यो पर्व कृषि र प्रकृति कुलपूजासँग सम्बन्धित छ।

युवा संस्कृतिविद् एवं लेखक खोजराज गोलेका अनुसार तामाङहरूले पुर्खाहरूलाई खुसी पार्न तथा अन्नबाली सफल भएको खुसीयालीमा म्हेनिङ मनाउने गरेका छन्। 

उनले म्हेनिङ र दसैं एउटै पर्व हो कतिपयमा भ्रम रहेको सुनाए। उनले भने, ‘म्हेनिङ असोजमा पर्ने भएकाले यसलाई दसैं भन्ने भ्रम छ। तर, म्हेनिङ र दसैंलाई एउटै भन्नु गलत हो।’ 

तामाङहरूले हरेक वर्ष चैतमा अन्नबाली राम्रो गरिदेऊ भनेर पुर्खा एवं प्रकृतिको पूजा गर्छन्, त्यसैलाई ‘सेरगेम’ भनिन्छ। यस्तै, वैशाखमा ‘ह्युलरे’ पूजा गरिन्छ। 

त्यसपछि मकै उत्पादन राम्रो भएको खुसीयालीमा साउनमा जनै पूर्णिमाको दिन अर्थात ‘गोनी न्हा’मा मकै चढाउने चलन छ। त्यसपछि असोज र कात्तिकको बीचमा म्हेनिङ मनाइन्छ। 

समाजशास्त्री बुद्धि तामाङ नयाँ अन्न बाली उत्पादन भएको खुसीयालीमा आफ्ना पुर्खाहरूलाई धन्यवाद दिन म्हेनिङ मनाइने गरिएको बताए।

यही दिन ‘टापोले म्हेन्दो’ अर्थात सयपत्री फूल भित्र्याउने चलन पनि छ। यस दिन केहीले बौद्ध परम्परा अनुसार पूजा पनि गर्छन्। 

बोन परम्परा अनुसार यो पर्वमा ढ्यांग्रो बजाउने गरिन्छ। उनले भने, ‘बोन परम्परा अनुसार पहिलो दिन ‘तोरमो’ बनाएर ‘सगुन’ राखेर पूजा गरिन्छ। पर्वको दोस्रो दिन इष्ट देवताको, तेस्रो दिन ‘छोरेलोप्मे’ पूजा र अन्तिम दिन ‘र्खोलो क्लाङ्बा’ अर्थात पिङ खेल्ने चलन छ।’
 

कात्तिक ९, २०७७ आइतबार ०६:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।