नवरात्रको नवौँ दिन : सिद्धिदात्रीको उपासना
शारदीय नवदुर्गाको नवौँ दिन आश्विन शुक्ल नवमी हो। यसलाई महानवमी पनि भनिन्छ । यो दुर्गापूजाको अन्तिम दिन हो। यस दिन नवदुर्गाका नौ शक्तिमध्ये नवौँ अर्थात् अन्तिम शक्ति सिद्धिदात्रीको उपासना गरिन्छ।
सिद्धिदात्रीको अर्थ सिद्धि दिने भन्ने हो। मार्कण्डेय पुराणमा बताइएअनुसार सिद्धि आठ प्रकारका छन् । ती हुन्— अणिमा, महिमा, लघिमा, गरिमा, प्राप्ति, प्राकाम्य, ईशित्व र वशित्व । इच्छाअनुसार सानो रूप बनाउन सक्नु अणिमा हो।
त्यस्तै ठुलो रूप बनाउन सक्नु महिमा हो । हलुका रूप बनाउन सक्नु लघिमा हो भने भारी÷गह्रौँ रूप बनाउन सक्नु गरिमा हो। इच्छाअनुसारको प्राप्ति गर्नुलाई प्राप्ति भनिन्छ भने इच्छाअनुसार जस्तोसुकै रूप लिन सक्नुलाई प्राकाम्य भनिन्छ । ईशित्व भनेको शासन गर्ने क्षमता हो भने वशित्व भनेको अरूलाई वशमा पार्न सक्नु हो।
ब्रह्मवैवर्त पुराणमा यीबाहेक सर्वकामावसायिता (सबै कामना पूरा गर्न सक्नु), सर्वज्ञत्व (सबै कुराको ज्ञान), दूरश्रवण (टाढाको पनि सुन्नु), परकायप्रवेशन (अरूको शरीरमा प्रवेश गर्नु), वाक्सिद्धि (बोलेअनुसारको हुनु), कल्पवृक्षत्व (सोचेअनुसारको उत्पन्न गर्न सक्नु), सृष्टि (निर्माण क्षमता), संहार (विनाशको क्षमता), अमरत्व (कहिल्यै नमर्नु), सर्वन्यायकत्व (सबैलाई न्याय गर्ने क्षमता) र भावना (अनुभव, कर्म र तुलनाबाट उत्पन्न हुने विशिष्ट प्रकारको ज्ञान) गरी अठार प्रकारका सिद्धि बताइएको छ। यी सबै सिद्धि दिने देवी भएकाले यिनको नाम सिद्धिदात्री रहन गएको हो।
देवीपुराणमा उल्लेख भएअनुसार भगवान् शिवले सिद्धिदात्रीको कृपाबाट यी सबै सिद्धि प्राप्त गरेका थिए । त्यसैले उनले अद्र्धनारीश्वर (आधा नारी र आधा पुरुषको) रूप बनाएका हुन्।
सिद्धिदात्री चतुर्भुजा देवी हुन् । यिनका दायाँतर्फका हातमा चक्र र गदा छन् भने बायाँतर्पmका हातमा शंख र कमलपुष्प छन् । सुन्दर वस्त्र र अलंकारले सुसज्जित यिनी दिव्य तेजले युक्त छिन्। यिनी कमलको आसनमा बस्छिन् । यिनको वाहन सिंह हो । यिनलाई वरिपरिबाट सिद्ध, गन्धर्व, यक्ष, देवता, असुर आदिले पूजा गरिरहेका हुन्छन्।
सिद्धिदात्रीको कृपा प्राप्त गर्ने उपासकले सबै सिद्धि प्राप्त गर्दछन्। उनीहरूका लागि कुनै कामना बाँकी नै रहन्न । सिद्धि प्राप्त गरेका भक्त संसारका सबै इच्छा र आवश्यकताभन्दा माथि उठेर मानसिक रूपले जगज्जननी भगवतीको दिव्य लोकमा विचरण गर्दछन् भन्ने शास्त्रीय कथन छ।
पूजाविधि
नवदुर्गाका अरू रूपको जस्तै महानवमीका दिन माता सिद्धिदात्रीको पूजा हुन्छ । यिनलाई पवित्र मनले अरू मन्त्रका अतिरिक्त ‘ॐ सिद्धिदाœयै नमः’ भनेर पूजा गर्न सकिन्छ। सिद्धिदात्रीको पूजा गर्दा उनको आसन कमल, वाहन सिंह, आयुध गदा र चक्र एवं वाद्य शंखको पनि पूजा गर्नुपर्छ। अरू पूजासामग्रीका अतिरिक्त घटस्थापनाका दिन राखिएका जमरा आजकै दिन देवीलाई चढाएर पूजा गरिन्छ । सिद्धिदात्रीको पूजा गर्दा सप्तमीमा भित्रप्रवेश गराइएका नवपत्रिकाको पूजन, अष्टमीमा स्थापना गरिएका दुर्गाको पूजन, स्थापित र आवाहित अरू देवीदेवताको पूजन र शस्त्रअस्त्रको पूजन पनि गर्नुपर्छ। महानवमी दुर्गापूजाको अन्तिम दिन भएकाले नित्यपूजापछि घटस्थापनादेखि नित्य गर्दै आएको मन्त्रजप, सप्तशती, देवीभागवत आदिको बाँकी पाठ पूरा गर्नुपर्छ।
महानवमीका विशेष कर्म
महानवमीको दिन दुर्गापूजाको अन्तिम दिन र बडादसैँको अघिल्लो दिन भएकाले ठुलो हर्षबढाइँका साथ देवीको विशेष पूजा–अर्चना गरिन्छ । मार्कण्डेय पुराणअनुसार देवी चामुण्डाले रक्तबीजको वध गरेको दिन आजैको दिन हो। त्यसैले पूजामा चामुण्डा देवीको पनि स्मरण–पूजन गर्नुपर्छ।
नवरात्रका सबै दिन महाकाली, महालक्ष्मी र महासरस्वती शक्तिसहित दुर्गा भवानीको पूजा–अर्चना हुन्छ तापनि सप्तमीका दिन महासरस्वती, अष्टमीका दिन महाकाली र नवमीका दिन महालक्ष्मीको विशेष पूजा हुन्छ । अष्टमीका दिन हातहतियार, कलपूर्जा र सवारी साधनको पूजा नगरेकाहरूले यी सबैको र विश्वकर्माको पूजा पनि नवमीकै दिन बिहान गर्दछन् र बलि चढाउँछन्।
महानवमीका दिन नेपालका सबै शक्तिपीठहरूमा धूमधामसँग देवीको पूजा–अर्चना हुन्छ । काठमाडौँको हनुमान्ढोकास्थित तलेजु भवानीको मन्दिर नवमीका दिन मात्र सर्वसाधारणलाई दर्शनका लागि खुला गर्ने परम्परा छ। यस दिन नेपाली सेना लगायत सुरक्षा निकायमा कोतमा हातहतियारको र निशानको पूजाआजा गरी हर्षबढाइँ गर्ने परम्परा रहेको छ । नेवार समुदायमा महानवमीकै दिन भीमसेनको पूजा गरी बलि दिने परम्परा रहेको देखिन्छ।
महानवमीको पूजाविधि
महानवमीका दिन बिहान पहिले अघिल्ला दिनहरूमा जस्तै देवीको नित्यपूजा गरी बाँकी पाठहरू पूरा गरिन्छ। त्यसपछि दुर्गा देवीको पूजाका लागि संकल्प गरी अष्टमीका राति विशेष पूजाका लागि थालीमा वा केराका पातमा स्थापना गरिएका नौदुर्गाको पूजा गरिन्छ । अनि त्यहीँ वरिपरि ब्रह्माणी, माहेश्वरी, कौमारी, वैष्णवी, वाराही, नारसिंही, ऐन्द्री र शिवदूतीको पूजा गरिन्छ। पूजाको अन्त्यमा देवीलाई आफ्नो प्रवृत्ति र परम्पराअनुसारको बलि दिइन्छ भने देवीका अनुचरहरूका लागि पनि फल, हलुवा, पायस वा मासचामलको बलि दिइन्छ।
देवीको पूजा गरिसकेपछि हवनको काम सुरु हुन्छ । यसका लागि त्रिकोण आकारको अग्निकुण्ड वा अग्निवेदी बनाई पायस र घिउले अग्निस्थापनाको विधिपूर्वक होम हुन्छ। होमको विशेष कर्मका रूपमा नवार्ण मन्त्रले सात सयपटक ‘ॐ देव्यै स्वाहा’ भनेर होम, त्यसको दशांश तर्पण र त्यसको दशांश मार्जन गरिन्छ। देवीभागवत पारायण गरिएको हो भने १८ हजार हवन वा सप्तशतीका प्रत्येक श्लोकले हवन र त्यसै अनुसारको तर्पण–मार्जन गरिन्छ अनि अग्निस्थापनाको बाँकी काम पूरा गरिन्छ।
घटस्थापनादेखि प्रत्येक दिन कन्यापूजा गर्न सम्भव नभए महानवमीमा एकै दिन नौवटी कन्याको पूजा गर्ने विधान छ । सबै दिन कन्या पूजा गर्नेले पनि नवमीका दिन एकैचोटि नौवटी कन्याको पनि पूजा गर्न सकिन्छ। नवमीका दिन १० वर्षकी कुमारीको पूजा हुन्छ। यिनलाई सुभद्रा भनिएको छ । सुभद्रालाई ‘ॐ सुभद्रायै नमः’ भनेर पूजा गर्न सकिन्छ। नौ कन्याको सँगै पूजा गर्ने हो भने कुमारी, त्रिमूर्ति, कल्याणी, रोहिणी, काली, चण्डिका, शाम्भवी, दुर्गा र सुभद्रा नामले सबैको एकै किसिमले पूजा गर्नुपर्छ। कन्याको पूजा गर्दा पहिले सबैका हात–पाउ धोएर उनीहरूको प्रार्थना गरी टीका लगाइदिने, भोजन गराउने, दक्षिणा, वस्त्र, गहना आदि दिने गरिन्छ।
देवीको विसर्जन दशमीका दिन मात्र हुने भएकाले नवमीका साँझ पनि सधैँको जस्तो विधिले देवीको एवं स्थापित देवताहरूको पूजा गर्नुपर्छ।
कात्तिक ९, २०७७ आइतबार ०५:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।