यो नपढ्नु होला !

यो नपढ्नु होला !

कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारी समुदायमा फैलियो भने यसलाई रोक्न कठिन हुन्छ र त्यसले पार्ने प्रभाव पनि भयावह हुन्छ भन्नेमा म पहिलेदेखि नै जानकार छु।

त्यसैले महामारीको सुरुवातदेखि नै हामीले सरकारलाई यसको नियन्त्रणका लागि उपयुक्त योजना बनाउन र सर्वसाधारणलाई यसबाट बच्न गर्नु पर्ने उपायबारे लगातार सचेत गराउँदै आएका छौं। तर, न सरकारले महामारी नियन्त्रणका लागि भरपर्दो योजना बनायो न त सर्वसाधारणले नै हामीले भनेका उपायबारे ध्यान दिइरहेका छन्।

सिंगो सरकारी संयन्त्र नै भ्रष्टाचार र कमिसनको लोभमा अल्मलिएको यो संकटपूर्ण समयमा हामी आफैले नै आफ्नो र परिवार तथा समाजलाई यो महामारीबाट जोगाउन लागि पर्नुको अर्को विकल्प छैन।

महामारीको समयमा सरकारले त उपचारको कुरै छाडौं कोरोना परीक्षणको दायित्वबाट समेत भाग्ने निर्णय गरेको छ। सर्वोच्च अदालतले परीक्षण र उपचार नि:शुल्क गर्नु भनेर दिएको आदेशको समेत यो सरकारले धज्जी उडाएको छ।

यसबाट थाहा हुन्छ की हाम्रो सरकार कति नालायक छ भनेर। संविधानले दिएको स्वास्थ्यसम्बन्धी मौलिक अधिकारसमेत यो सरकारले सर्वसाधारणबाट खोसेको छ। त्यसैले अब हामीले नै यो महामारीबाट जोगिन सक्दो प्रयास गर्नु पर्छ।

सामान्य उपायहरु, जस्तै : भिडभाड हुने स्थानमा जाँदा सामाजिक दूरी कायम गर्ने, मास्कको प्रयोग गर्ने, नाक, मुख र आँखामा स्यानिटाइज नगरी हात नलगाउने र धेरैभन्दा धेरै पटक साबुन पानीले हात धुने, जसले तपाईंलाई यो महामारीबाट बचाउन सक्छ। यी उपायहरु अवलम्बन गरी आफू र परिवारलाई सुरक्षित राखौं।

यस्तो संकटपूर्ण समयमा दसैं, तिहार, छठजस्ता चाडवाड पनि आएका छन्। चाडवाड आयो भनेर बसिरहेको स्थानबाट आफ्नो घरगाउँको यात्रा नगर्न अनुरोध गर्छाैं। घरमै बसेर दसैंलगायत अन्य आउँदै गरेका चाडवाड मनाऔं। 

एउटा डाक्टरको मुख्य काम नै जीवन बचाउनु हो। त्यसैले हाम्रो कुरा सुन्नुहोस्, किनकी तपाईं हाम्रो जीवन हाम्रो आफ्नै हातमा छ।

कात्तिक ८, २०७७ शनिबार १७:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।