साइकल यात्रामा ३३ सय वर्ष पुरानो साँखु नियाल्दा
पश्चिमतर्फ ढल्कँदो घाम। २०७२ सालको भूकम्पले ध्वस्त सहर साँखु बजारको बढ्दो चहलपहलले बडादसैंको रौनक दिँदै थियो। बिस्तारै पुनर्निर्माणको लय समात्दै छ साँखुले। पुनर्निर्माण हुँदै गरेका सहरका घरभित्र अँध्यारो कोठामा सुस्तरी जमरा बढ्दै होला।
सबैलाई चाडपर्वको चटारो छ। कोभिड महामारीको संक्रमण उकालो लागेको लाग्यै छ। तैपनि सबै निस्फिक्री देखिन्छन्। साँखुका मित्र बबिन राज श्रेष्ठ सामाजिक अभियन्ता हुन्। त्यसैले होला निकै चिन्तित देखिन्थे मानिसहरुको असावधानीप्रति।
मणिचूड पर्वतको काखको साँखु सहर, भूकम्पपछि करिब खण्डहर भएको छ। हजारौं वर्ष पुरानो यो सहरको आरोहअवरोह, सङ्ग्रह, विग्रह, उन्नति अवनति मणिचूड पर्वतबाहेक कसले बढी देख्यो होला र ? शैल नदीभन्दा बढी कसले भोग्यो होला र ? प्राचीन सहरको टोलको डबलीमा अडिएर मनमनै गमेँ।
हाम्रो केहीबेर बजार डुल्ने योजना बन्यो। बजार घुम्दा बबिनजीले प्रकाशमान श्रेष्ठ दाइलाई पनि बोलाए। मेरा लागि यो भेट अनुपम नै भयो। प्रकाशमान दाइ साँखुको सम्पदा, धर्म संस्कृति, इतिहासका बारे विशेष जानकार व्यक्तित्व हुनुहुन्छ। प्रकाशमान दाइले स्वाध्यायन गरेरै विभिन्न लिपि पढ्ने, उल्था गर्ने विशेषज्ञता हासिल गर्नुभएको छ। साँखुको पुरातात्विक खोजमा अनवरत खटिरहनु भएको छ। प्रकाशमान दाइ र बबिनजीको मुखबाट साँखुको ऐतिहासिक कुरा जान्ने उत्सुकता जाग्यो।
मेरो जिज्ञासा मेटाउन प्रकाश दाइ शालीनदी जस्तै सलल्ल बग्नु भयो। ल सुन्नु होस्। अहिले कलिगत सम्वत् ५१२१ भयो। कलिगत सम्वत् १८०१ ताका, करिब ३३२० वर्षअघि। मणिशैल महावदन (मणिशैल पुराण) मा लेखिएको कुरा हो। बज्रयोगिनी वंशावलीमा उल्लेख भएबमोजिम मञ्जुश्री चीनबाट आए। बज्रयोगिनीसँग दीक्षा लिए। बज्रयोगिनीको आदेशअनुसार चोभारको डाँडाबाट उपत्यकाको पानी निकास गराए। साँखु, उपत्यकाकै अग्लो ठाउँमा भएकोले छिट्टै ओभानो भयो।
बज्रयोगिनी माईले पुजारी जोगदेव बज्राचार्यलाई आज्ञा गर्नुभयो। सात गाउँ मिलाएर दाहिने शंखको आकारको पुर बनाऊ। पुरमा एक हजार घर हाऊन्। पुरभित्र बत्तीस लक्षणले युक्त अष्टमातृका स्थापना गर । अष्टमातृका, अष्टभैरव, अष्ट विनायक स्थापना गर। जात्रा मात्रा चलाउन जीवित कुमारीको पूजा चलाऊ। जीवित जेठी कुमारी, भैरव, गणेशको पूजा चलाउने। सहर सुरक्षाका लागि सहर बाहिर अष्टमातृकाहरुले घेर्ने।
सहरमा आठवटा टोल, आठवटा विहार हुनुपर्ने। सहरभित्र बाहिर सम्पूर्ण स्थानमा राजकुलोको सञ्जालले जोड्ने। आदि ईत्यादि। त्यसबखत निर्माण गरिएको राजकुलो अहिले सम्म यथावत छ। अहिले पनि कुलो सञ्चालन गर्ने मानिस छन्। पहिले हरेक घरमा कुलोबाट पानी पुग्थ्यो। भूकम्प पछि ठाउँ–ठाउँमा कुलो बिग्रिएको छ।
पुजारी जोगदेवले राजकुलो, इनार, पोखरी, धारा, डबली, पाटीपौवा, मूल बाटो, चोक, अष्टमातृका, अष्ट विनायक, अष्टभैरव, अष्टलक्ष्मी, चारवटा नाट्येश्वर आदि स्थापना गर्नुभयो। चारवटा मूल ढोका र चारवटा सहायक ढोकासहितको शंखरापुर सहर स्थापना गर्नुभयो। सहरमा चारवटा मूल द्वार अहिले पनि चलनचल्तीमा छन्। मूल ढोका, चार सहायक र एक माधवनारायण ढोका छन्। आठ टोलमा बत्तीसवटा इनार, तीसवटा ढुङ्गेधारा, डबली, पाटीपौवा आदि छन्। दाहिने शंखको आकारमा सहर बनाएको हुँदा सहरको नाम शंखरापुर भयो। नेवारी मणिशैल महावदान (बज्रयोगिनीको उत्पत्तिको इतिहास) मा उल्लेख भएबमोजिम बज्रयोगिनीले राजालाई राज्य समृद्ध र मजबुत बनाउने काम गरिन्। कालान्तरमा शंखरापुरको नाम शंख दँे, साँक्व हुँदै साँखु हुन गयो।
शंखरापुरको राजाको नाम शंखदेव राखियो। शंखदेवका एक छोरा थिए। मानदेव। उनी भिक्षु बनेकाले राजगद्दी खाली भयो। त्यसपछि प्रधान चुनिने परम्परा बस्यो। यो परम्परा अहिले सम्म पनि कायमै छ। साँखुवासीले जसलाई प्रधान चुन्छन् उनी राजाको प्रतिनिधि भएर बस्छन्। उनैले माधवनारायण भगवानको जात्रा चलाउँछन्। राजाको प्रतिनिधि, प्रधानले माधव नारायण कसले बोक्ने, शंख कसले बजाउने, व्रतालुको खर्च व्यवस्थापन आदि विभिन्न कार्य विभाजन गर्छन्।
माधवनारायणको मेला श्री स्वस्थानी व्रतको समयमा एक महिना शालीनदीमा चल्ने मेला हो। माधवनारायणलाई पानीमा डुबाएपछि व्रत सुरु हुन्छ। एक महिनासम्म माधवनारायण शालीनदीमा बस्ने विश्वासका साथ त्यहीँ राख्ने परम्परा छ।
तपाईं साँखु सहरभित्र पस्दा दक्षिणपश्चिमबाट आउनु भयो होला, होइन? मैले टाउको हल्लाएर हो भन्ने जनाउ दिएँ। यहाँ यस्ता चारवटा मूल ढोका छन्। चारै ढोकाको आफ्नै धार्मिक तथा परम्परागत महत्व छ।
हरेक ढोकाबाट के–के गर्ने भनेर तोकिएको छ। दक्षिणपश्चिमको ढोका, भौ ढ्वाखा। नयाँ दुलहीलाई साँखु सहरमा यही ढोकाबाट भित्रयाइन्छ। यस ढोकाको दायाँबायाँ पोखरी छन्। स्थायी कलशका प्रतीक। त्यहाँ अष्टमातृका भगवतीको मन्दिर छ।
उत्तरपश्चिमको देव ढ्वाखा। जात्राको समय देवी, देवता रथ आदि सहरमा ल्याउन, लैजान प्रयोग गर्ने। देवता हिँडाउने ढोका। उत्तरपूर्व सि ढ्वाखा। यहाँबाट मरेको लास सहर बाहिर लैजाने। दक्षिण पूर्व म्ह्यायमचा ढ्वाखा। छोरी अन्माएर पठाउने।
छैटौँ शताब्दीताका तिब्बती सम्राट स्रङचङ गम्पो र भृकुटीको स्वयंवर साँखुको बज्रयोगिनी मन्दिरमा भएको बताइन्छ। तिब्बतसँग दौत्य सम्बन्ध कायम भएपछि यहाँको समृद्धि अmझ बढेर गयो। साँखु सहर ‘साँ दयाँ क्वे’, तिब्बत मुनिको देश भनेर पनि चिनिन्थ्यो।
साँखुमा टोलटोलको विशेषताअनुसार विभिन्न जात्रा मनाइन्छ। बज्रयोगिनी जात्रा, गाई जात्रा, मणिचूड मेला, माधवनारायण स्वस्थानी व्रत, दसैं
जात्रा, इन्द्रायणी जात्रा, घण्टाकर्णको जात्रा, वनमान्छे नाच तथा अन्य विभिन जात्रा पर्वहरु मनाइन्छ। पुनः कलिगत सम्वत् १८१८ सालदेखि बज्रयोगिनीको जात्रा गर्ने परम्परा थालनी भयो।
चलाखु टोल बसेर अरु वर्णन सुनियो। चैत मसान्तमा लिङ्गो ढड्याइन्छ। वैशाख दुई गते लिङ्गो ढालिन्छ। भक्तपुरको विस्केट जात्रा जस्तै। चलाखुटोलको डबलीमा प्रत्येक वर्ष कागेअष्टमीमा देवी नाच नचाइन्छ। यो नाचलाई बज्रयोगिनीकै तीन अवतारको प्रतीक मानिन्छ।
शक्ति, विद्या तथा धनको प्रतीक। तीनजना कलाकारलाई एक–एकवटा गहना दिइन्छ। उनीहरु जीवित देवताको रुपमा रातभरि नाच्छन्।
यहाँ एउटा सत्तल छ। यसलाई पालीघर भनिन्छ। हरेक दुई टोलमा एउटा पालीघर छन्। अर्थात् आठवटा टोलमा चारवटा पालीघर। हरेक टोलमा पालै पालो वर्षमा एक–एकपटक बज्रयोगिनीको जात्रा चलाइन्छ। चारवटा पालीघरमा पालै पालो गर्दा एउटा पालीघरमा चार वर्षमा एकपटक देवता विराजमान गराएर जात्रा चलाइन्छ। यस वर्ष भने महामारीले गर्दा जात्रा रोकियो।
बज्रयोगिनीको जात्रा चैत्र शुक्लपूर्णिमादेखि आठ दिनसम्म मनाइन्छ। जात्रामा देवीको स्वर्ण प्रतिमासहित सिंघिणी, ब्याघ्रिणी, भगवान चैत्य र वसुन्धरा देवीको प्रतिमा जात्रा गरिन्छन्। जात्रा सम्बन्धमा सर्वप्रथम बज्रयोगिनी स्थलबाट व्याघ्रिनी देवीको रथारोहण हुन्छ। त्यसपछि क्रमशः सिंघिणी देवी, बज्रयोगिनी देवीलाई र अन्तिममा चैत्य भगवानको रथारोहण गरिन्छ।
चार दिनको मूल जात्रामा साँखु नगरभित्रको बज्राचार्य कुलायन मन्दिर आगँछेबाट वसुन्धरा देवीको पनि रथारोहण गरी जात्रा प्रारभ्म गरिन्छ। चार दिनसम्म माईलाई पाटीको कोठाभित्र राखिन्छ। मूलजात्रा पछि सर्वसाधारणलाई पूजा, दर्शन गर्न पाटी बाहिर विराजमान गराइन्छ। गत वर्ष समेत करिब ३२९४ पटक बज्रयोगिनी जात्रा सम्पन्न भैसकेको छ।
साँखुमा गाईजात्रा आठ दिनसम्म मनाइन्छ। जनै पूिर्णमादेखि कृष्ण अष्टमीसम्म। पहिले निक्कै लामो झाँकी प्रस्तुत हुन्थे। यहाँको अर्को विशेषता गोरखनाथ जात्रा हो। पशुपति मृगस्थलीका कानफट्टा पुजारीहरु साँखुमा निमन्त्रणा गरिन्छन्।
साँखुमा १४७० बर्ष पुरानो अंशुबर्मा कालीन शिलालेख छ । मानदेव संवत ४० मा लेखिएको उक्त शिलापत्रमा राज्य कोषबाट चैत्य निर्माण गर्न महासांज्ञिक भिक्षु संघलाई दान दिएको उल्लेख छ । दुर्गाहिटीको शक संवत ४६० वामनदेव महाराजले वामन अवतारको मन्दिर बनाएको, गुठीका लागि जग्गा दान दिएको आदि उल्लेख छ । नेपाल सवंत ६७९ मा लेखिएको साल्खाटोलको शिलालेखमा राजा अमृत मल्लले साँखु राजधानी बनाएको, विभिन्न जात्रा, पुजा चलाउन पाटि पौवा निर्माण तथा गुठीकोलागि जग्गा दान दिएको उल्लेख छ । तर यी दुवै राजा कसका छोरा थिए, यी पछि कसले राज्य गरे भन्ने कुरा अझै ईतिहाँसको गर्भमै छ । त्यस्तै ने.सं.२९३ मा नेवारी भाषामा लेखिएको शिलालेख पनि भेटिएको छ । यस्तो शिलालेख विरलै भेटिन्छ । इतिहासका कुरा सुन्दै गर्दा घाम डुवेर झमक्कै भैसकेछ । प्रकाश दाईलाई फेरी अर्को दिन भेट्न आउने गरी बिट मार्यौं ।
शंखरापुर बागमती प्रदेशको काठमाडौं जिल्लाको उत्तरपूर्वमा अवस्थित नगरपालिका हो। साविकका इन्द्रायणी, पुखुलाछी, सुनटोल, बज्रयोगिनी, लप्सेफेदी र नाङ्लेभारे गाविस मिलाएर शंखरापुर नगरपालिका घोषणा गरिएकोे हो। शंखरापुर नगरपालिकामा ९ वटा वडा छन्। स्कन्द पुराणमा साँखुलाई लावण्य देश भनिएको छ।
स्वस्थानी व्रतकथा पढेका सुनेकाहरुलाई स्मरण नै हुनुपर्छ। पौराणिक कथामा वर्णन गरिएको, धार्मिक, ऐतिहासिक, साँस्कृतिक तथा पुरातात्विक महत्वले भरिपूर्ण, भौगोलिक सुन्दरताले जाज्वल्यमान साँखु एकपटक घुम्नै पर्छ। पव, धर्म, संस्कृति, इतिहास, वास्तुकला आदि विभिन्न विषयका विद्यार्थी वा जिज्ञासुका लागि रोचक हुन सक्छ साँखु यात्रा।
साँखुबाट जाने केही गन्तव्य
साँखुलाई आधार मानेर नगरकोटतर्फ पनि जान सकिन्छ। साँखु बजारबाट आधा किमी मात्रको दूरीमा शालीनदी पुगिन्छ। नदी किनारमा स्वस्थानी माताको मन्दिर छ। यो बाटो भएर पालुबारी, विश्वंभरा, कात्तिके देउराली हुँदै नगरकोट पुगिन्छ। कात्तिकेबाट नगरकोट जान सकिन्छ।
चोकबाट बायाँतर्फ लागे जहरसिंह पौवा पुगिन्छ। यहाँबाट लाङटाङ, जुगल, दोर्जे लाक्पा, गौरी शंकर, नुम्बुरलगायतका हिम शृंखला देखिन्छन्। जहरसिंह पौवाबाट कात्तिके हुँदै नगरकोट टावरसम्मको दूरी १२ किमी छ। यो दूरी तय गर्न करिब डेढ घण्टा लाग्छ।
अन्तमा
चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको बिंड। बुढापाकाले त्यसै भनेका त होइनन्। मालपाएर चाल पाए पो। आफूसँग भएको बहुमूल्य सामान नचिने वा प्रयोगमा नआए हुनु र नहुनुमा खासै फरक नहोला। पर्यटन प्रवद्र्धनको लामो सूचीमा प्राचीन सहर ब्राण्डिङ, बजारीकरण आदि इत्यादि त परे होलान्। तर पर्यटक भने विरलै भेटिन्छन। ३,३०० वर्ष पुरानो बस्ती। प्राचीन पर्व, मेला जात्रा, कला, संस्कृति, साहित्य संसारसामु पस्कन लायक, पर्यटक आकर्षण गर्ने सूची निकै लामो बन्न सक्छ। थाइल्याण्डले सन् २०१९ मा करिब चार करोड पर्यटक भित्र्यायो। संसारका कैयन् मुलुकले धेरै फड्को मारी सके। हामी भने वर्षौंदेखि अलमलिएर समय, स्रोतसाधन धेरै कुरा खेर फाल्दै छौँ।
कात्तिक ८, २०७७ शनिबार ११:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।