प्रकाशकीय : उकेरा लिएर आयौं
मिडिया एउटा जिम्मेवार क्षेत्र हो। यहाँ बोलिएका, लेखिएका, अनि देखाइएका कुराहरू केवल भावनात्मक अभिव्यक्ति मात्र नभई तथ्यपरक र दूरगामी असर पार्ने खालका हुनुपर्छ। हो, ती कुराहरू सबैका लागि मिठा र अनुकूलका निश्चितरूपमा हुँदैनन्। सबैलाई सुपाच्य लाग्ने कुराहरू मात्र हुन थाले भने त्यो पत्रकारिता पनि बन्दैन।
देशमा चेतनाको लहर जागेको छ। हिजोजस्तो कसैले लादेका सीमित प्रोपोगाण्डा शैलीका खबरमा चित्त बुझाएर बस्ने पाठक, श्रोता अनि दर्शकहरू छैनन् आज। त्यसैले मिडियामा प्रस्तुत गरिएका खबरहरू, विचारहरू तथ्य र आधारहीन भएमा त्यसले क्षणिक सस्तो लोकप्रियता त बटुल्न सक्ला। तर, दूरगामी असर नकारात्मक नै पार्ने गर्छ।
हामी पाथसिड प्रकाशन प्रालिमार्फत उकेरा डट कम अनलाइन न्युज पोर्टल लिएर यहाँहरूसामु आएका छौं।
त्यसैले हामी सधैं समाचारको सत्यतथ्यलाई खोतलेर मात्र खबरप्रवाह गर्ने सोचमा लागेका छौं। हाम्रो समाचारका विषयहरू सनसनी बनाउनुको सट्टा यथार्थपरक बनाउनेतर्फ हाम्रो जोड रहने छ।
त्यसैगरी केवल मूलधारमा पट्यारलाग्दो गरी बोलिएका बकम्फुसे आरोपप्रत्यारोप शैलीका समाचारभन्दा पनि दबिएका र मूलधारमा नअटाएका तर आमजनचासोका विषयवस्तुहरूलाई अगाडि ल्याउने हाम्रो सदासर्वदा प्रयास रहने छ। यसका साथै सम्भव भएसम्म सकारात्मक शैलीका समाचार प्रवाहका लागि हाम्रो कोशिश रहिरहने छ।
मिडियाकर्मले व्यावसायिक धर्मलाई अँगाल्यो भने मात्र त्यहाँ पाठकहरूको विश्वास कायम रहन्छ। यसका लागि यस संस्थामा रहेका हाम्रा कर्मठ सहकर्मीहरूलाई पत्रकारिता क्षेत्रलाई व्यावसायिक रूपमा अँगाल्न हौसला दिलाउनका लागि हाम्रो सदाप्रयास रहने छ। मिडिया हाउस र पत्रकारको सम्बन्धमा आमरूपमा देखिएका कटूताहरूका कारणहरूलाई विश्लेषण गर्दै त्यसमा सुमधुरता कायम गर्नु, व्यावसायिक धर्मलाई समेत अघि बढाउँदै विज्ञापनदाताहरूसँगको सम्बन्धलाई पनि उचित स्थान दिनु, अनि मुख्य कुरा त पाठक, स्रोता र दर्शकको अपेक्षालाई कुनै पनि हालतमा खस्कन नदिने हाम्रो प्रतिबद्धता सदा सर्वदा रहिरहने छ।
अन्त्यमा यस अनलाइन न्युज पोर्टल सञ्चालनमा योगदान पुर्याउनुहुने सबै सहयोगी तथा शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्न चाहान्छौं। हाम्रो उद्देश्य प्राप्तिका लागि आगामी दिनमा पाठकवर्ग, शुभेच्छुक तथा विज्ञापनदाताबाट सहयोगको अपेक्षा गरेका छौं।
सम्पूर्णमा विजयादशमी, तिहार, नेपाल संवत र छठको शुभकामना !
सन्तोष बर्तौला
अध्यक्ष, पाथशिड नेपाल प्रा.लि.
कात्तिक ७, २०७७ शुक्रबार १२:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।