शाहीविरूद्धको अविश्वासको प्रस्ताव बहुमत सदस्यबाट अस्वीकृत  

शाहीविरूद्धको अविश्वासको प्रस्ताव बहुमत सदस्यबाट अस्वीकृत  
शुक्रबार बसेको नेकपा संंसदीय दलको वैठक।


सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा प्रदेश सभा संसदीय दलका नेता महेन्द्र बहादुर शाहीविरूद्धको अविश्वासको प्रस्ताव बहुमत सदस्यबाट अस्वीकृत भएको छ । 
 

आज (शुक्रबार) बसेको दलको बैठकबाट बहुमत सदस्यले अस्वीकृत गरेको मुख्यमन्त्रीका स्वकीय सचिव धुब्रविक्रम बुढाथोकीले जानकारी दिए।

गत असोज २५ गते शाहीविरूद्ध नेकपाका १८ सांसदले हस्ताक्षर गरी अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। 
ज्वाला पक्षका ८ जना र मुख्यमन्त्री शाही पक्षका १० जना सांसदहरुको उपस्थितिमा प्रमुख सचेतक सीता नेपालीले उक्त प्रस्तावमाथि मतदान गराएकी थिइन।

ध्वनीमतको आधारमा ३३ सदस्यीय दलमा १८ जनाले बहुमतका साथ उक्त निर्णय पारित गरेको हो। 

दलको विधानको दफा २४ को उपदफा एक बमोजिम उक्त निर्णय भएको प्रमुख सचेतक सीता नेपालीले बताइन्।

दुई मन्त्री अनुपस्थित बैठकमा सरकारका दुई मन्त्री र उपसभामुख अनुपस्थित रहेका छन्। सामाजिक विकास मन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिह बुढा र उपसभामुख पुष्पा घर्तीमगर अनुपस्थित रहेका हुन्।

योसँगै नेता यामलाल कँडेल पक्षले अविश्वासको प्रस्ताव पेश गरेपनि अविश्वासको प्रस्ताव पारित हुन नसकेन।
श्रोतका अनुसार दसैंलगत्तै मन्त्रिपरिषद् पुर्नगठन हुने भएको छ। ज्वाला पक्षका तीन जना मन्त्री बन्ने भएका छन्।

मुख्यमन्त्री शाहीले दसैंको रमझाम भएका कारण मन्त्री नियुक्त गर्न ढिलाई हुने बताउँदै ज्वाला पक्षसँग दसैंलगत्तै मन्त्रिपरिषद् पुर्नगठन गर्ने लिखित सम्झौता गरेको श्रोतले बताएको छ।
 

कात्तिक ७, २०७७ शुक्रबार १२:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।