नवरात्रको सातौं दिन : कालरात्रिको आराधना र फूलपाती भित्र्याइँदै

नवरात्रको सातौं दिन : कालरात्रिको आराधना र फूलपाती भित्र्याइँदै

आश्विन शुक्ल सप्तमी शारदीय नवरात्रोत्सवको सातौं दिन हो। यस दिन दुर्गा भवानीका नौ शक्तिमध्ये कल्याणमयी देवी कालरात्रिको आराधना गरिन्छ।

पौराणिक मान्यताअनुसार ब्रह्माको एक दिन अर्थात् चौध मन्वन्तरको अवधि सकिएपछि ब्रह्माण्डमा महाप्रलय हुन्छ। त्यस बेला सबै प्राणी जगत्को संहार हुन्छ। सृष्टिको त्यो भयंकर रातलाई कालरात्रि भनिन्छ। त्यस रातकी अर्थात् संहारकी अधिष्ठात्री देवी हुनाले यिनलाई कालरात्रि भनेको देखिन्छ। दक्षयज्ञ विध्वंश गर्ने भद्रकाली यिनैको रूप मानिन्छ। 

नवदुर्गाकी सातौं शक्ति कालरात्रिको विग्रह भयानक मानिएको छ। यिनी कालो वर्णकी छिन्। शरीर तेल लगाएजस्तो टलक्क टल्कने कालो छ। यिनी लामालामा केश फिँजेकी, ठुलाठुला गोलाकार तीन आँखा भएकी लामो जिब्रो र ठुलाठुला दाँत भएकी घोररूपा छिन्। यिनका ओठ लाली लगाएजस्ता प्राकृतिक रूपमै राता छन्। यिनका आँखाबाट बिजुली चम्केजस्तो तेज निस्कन्छ। यिनी वस्त्रहीन छिन्। कतै बाघाम्बरले र कतै मुण्डमालाले यिनका अंग ढाकिएको वर्णन गरिन्छ। 

कालरात्रिले फलामका काँडेदार गहना लगाएकी छन्। यिनका श्वासमा नाक र मुखबाट आगाका भर्भराउँदा लप्का निस्किन्छन्। यिनी चतुर्भुजा देवी हुन्। यिनका दायाँ हातमा वरमुद्रा र अभयमुद्रा छन् भने बायाँ हातमा फलामको काँडेदार हतियार र खड्ग छन्। यिनको वाहन गधा हो। यिनी तमोगुण प्रधान देवी मानिएकी छिन्। 

आधाशक्ति जगज्जननीले आसुरी शक्तिलाई परास्त गर्नका लागि कालरात्रिको विग्रह धारण गरेकी हुन्। यिनको स्मरण मात्रले पनि दैत्य, दानव, भूत, प्रेत, पिचास आदि दानवी शक्ति भयभीत हुन्छन्। भक्तका लागि भने यिनी शुभफलदायिनी देवी हुन्। यिनले भक्तका काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यजस्ता नकारात्मक प्रवृत्तिको नाश गरिदिन्छिन्। ग्रहबाधा, शत्रुबाधा, भूतप्रेत आदिको बाधाबाट आफ्ना उपासकलाई सधैं संरक्षण गर्ने भक्तवत्सला कालरात्रिको उपासनाबाट आत्मबल, अभय र आन्तरिक ऊर्जा प्राप्त हुन्छ। 

पूजाविधि 

नवरात्रका अरू दिनहरूमा जस्तै सातौं दिन कालरात्रिको पूजा हुन्छ। कालरात्रिलाई अरू मन्त्रका अतिरिक्त ॐ कालराœयै नमः भनेर पूजा गर्न सकिन्छ। कालरात्रिको पूजा गर्दा उनको वाहन गधा र उनका शस्त्रअस्त्रको पनि पूजा गर्नुपर्छ। 

सरस्वती र भद्रकालीको पूजा

नवरात्रको सातौं दिनमा सरस्वतीको पनि पूजा हुन्छ। सरस्वती पूजा अरू दिन गरिने सबै कर्म सकेपछि गर्न पनि सकिन्छ। कालरात्रिको पूजापछि त्यहीँ पनि गर्न सकिन्छ। सरस्वती पूजा गर्दा पुस्तक, कलम, कापी, मसी, रुद्राक्षको माला, वाद्ययन्त्रहरू छन् भने तीसमेत ल्याएर उपयुक्त स्थानमा राखेर तिनको पनि पूजा गर्नुपर्छ। सरस्वतीलाई अरू मन्त्रका अतिरिक्त ॐ सरस्वत्यै नमः भनेर पूजा गर्न सकिन्छ। 

सप्तमीका दिन भद्रकालीको पनि पूजा हुन्छ। कालरात्रिको पूजा गरेकै स्थानमा भद्रकालीको पनि पूजा गरिन्छ। भद्रकालीलाई ॐ भद्रकाल्यै नमः भनेर पूजा गर्न सकिन्छ। भद्रकालीको पूजा गरेपछि यिनलाई कुभिन्डाको बलि दिनु उत्तम हुन्छ। 

नवरात्रको सातौं दिन ८ वर्षकी कन्याको पूजा हुन्छ। सातौं दिन पूजा गरिने कन्यालाई शाम्भवी भनिन्छ। यिनलाई ॐ शाम्भवी–कन्यायै नमः, ॐ कुमार्यै नमः भनेर पूजा गर्न सकिन्छ। बाँकी कर्म अरू दिनजस्तै गर्नुपर्छ। 

नवपत्रिका-प्रवेश 

आश्विन शुक्ल सप्तमीको अपराह्नमा दुर्गापूजाको अंगका रूपमा नवपत्रिका-प्रवेशको काम हुन्छ। यसलाई फूलपाती भन्ने चलन छ। नेपालका शक्तिपीठहरूमा र सार्वजनिक देवीमन्दिरहरूमा दसैंघर अर्थात् घटस्थापना गरी दुर्गापूजा गरेको स्थानमा बाजागाजासहित धूमधामसँग फूलपाती भित्र्याइने हुनाले यसलाई दसैंको महत्त्वपूर्ण दिन मानिन्छ। काठमाडौंमा गोरखाबाट ल्याएको फूलपाती जमलमा ल्याई बाँकी विधि पुर्याएर हनुमानढोकास्थित दसैंघरमा भित्र्याउने चलन छ। फूलपाती भित्र्याउने रीति फरकफरक भए पनि दुर्गापूजा गर्ने सबै सनातनी समाजमा यसको महत्त्व रहेको छ। 

नौ थरी वनस्पतिका पालुवालाई नवपत्रिका भनिन्छ। सनातन परम्परामा वनस्पतिहरूलाई पनि देवताको रूप मानेर पूजा गर्ने गरेको कुरा तुलसी, पीपल, वर आदिको पूजा गर्ने चलनबाट थाहा हुन्छ। नवरात्रको सप्तमी तिथिमा दुर्गा पूजा गरेको स्थानमा यस्तै नौ थरी वनस्पति ल्याउने र तिनलाई देवीको रूप मानेर पूजा गर्ने विधि नै नवपत्रिका प्रवेश हो। 

नवपत्रिकाका सम्बन्धमा बंगाली समाजमा रमाइलो मान्यता पाइन्छ। उनीहरूका अनुसार कलाबाऊ नामकी देवी गणेशकी पत्नी हुन्। सप्तमीका दिन नवपत्रिका भित्र्याउनु भनेको पार्वती÷दुर्गाको पूजा भइरहेको ठाउँमा कलाबाऊलाई नववधूका रूपमा भित्र्याउनु हो। त्यसैले नवपत्रिकालाई बाजागाजासहित धूमधामसँग भित्र्याउनुपर्छ। 

नवपत्रिका के हो ?

नवपत्रिका भनेको नौथरी वनस्पतिका पात भन्ने अर्थ हो। दुर्गापूजामा नौथरी पवित्र वनस्पतिका पात, हाँगा वा बोट ल्याएर तिनलाई नौ दुर्गाका प्रतीकका रूपमा पूजा गरिन्छ। नवपत्रिकामा पर्ने वनस्पतिको उल्लेख यसरी गरेको पाइन्छ–

कदली दाडिमी धान्या हरिद्रा मानकं कचुः ।
बिल्वाशोकौ जयन्ती च विज्ञेया नवपत्रिका ।।

कदली (केरा), दाडिमी (दाडिम), धान्या (धान), हरिद्रा (हलेदो÷बेसार), मानक (पिँडालु÷कर्कलो), कचु (कचुर÷कालो हलेदो), बिल्व (बेल), अशोक र जयन्ती दुर्गापूजामा प्रयोग हुने नवपत्रिका हुन् । 

कदली : कदली भनेको केरा हो। सनातन परम्परामा केरा अत्यन्त पवित्र वनस्पति मानिन्छ। केराको फल देवता, पितृ र मनुष्य सबैलाई प्रिय लाग्ने फल हो। आयुर्वेद र भोजन–विज्ञानका दृष्टिले पनि यो गुणकारी फल हो। नेपालको तराई क्षेत्र र भारतका धेरै ठाउँमा पूजाआजामा केराका पातको प्रयोग हुन्छ। पूजास्थलमा केराको बोट, फल, पात राख्नाले घरमा समृद्धि आउँछ भन्ने मान्यता छ। पूजामण्डप सजाउनका लागि केराका बोटको प्रयोग जताततै गरेको पाइन्छ। नवपत्रिकाका सन्दर्भमा केरा ‘ब्राह्मी’को प्रतीक मानिन्छ। 

दाडिमी : नेपालमा दाडिम वा अनार भनिने वनस्पतिलाई संस्कृतमा दाडिमी वा दारुहरिद्रा भनिन्छ। यसको फल अत्यधिक गुणकारी मानिन्छ। नवरात्रिपूजनमा दाडिमी ‘रक्तदन्तिका’को प्रतीक मानिन्छ। दाडिमीका पत्र अर्पण गर्नाले माता रक्तदन्तिकाको आशीर्वाद प्राप्त हुन्छ र शत्रुमाथि विजय प्राप्त गर्न सकिन्छ भन्ने मान्यता छ। 

धान्या : धान्या भनेको धान हो। धान संसारकै अधिकांश मानिसको भोजनको प्रमुख स्रोत हो। सबैको प्राण रक्षा गर्ने धान प्रशस्त हुनुलाई समृद्धि मानिन्छ। नवपत्रिकाका सन्दर्भमा धानलाई ‘लक्ष्मी’को प्रतीक मानिन्छ। दुर्गापूजामा धानका बोट राख्नाले लक्ष्मीको र अन्नपूर्णाको आशीर्वाद प्राप्त हुन्छ भन्ने मान्यता छ। 

हरिद्रा : हरिद्रा भनेको हलेदो वा बेसार हो। यो अत्यन्त गुणकारी वनस्पति हो। यसका कन्द र बोट औषधीय गुणले भरिपूर्ण हुन्छन्। हाम्रो भान्सामा प्रत्येक दिन मसलाका रूपमा प्रयोग हुने बेसार विभिन्न रोगको औषधी हुने आयुर्वेदको कथन छ। बेसार आन्तरिक प्रयोगका साथै बाह्य प्रयोगमा पनि उपयोगी छ। चर्मरोग र घाउखटिरामा समेत यसको उपयोग हुन्छ। यो सौन्दर्य प्रसाधनका रूपमा पनि उपयोग हुने वनस्पति हो। पूजास्थलमा बेसारको बोट राख्नाले सबै विघ्न विनाश हुन्छन् भन्ने मान्यता राखिन्छ। नवपत्रिकाका सन्दर्भमा हलेदाले ‘दुर्गा’को प्रतिनिधित्व गर्छ। 

मानक : मानक भनेको पिँडालु वा कर्कलो हो। कर्कलाको कन्द÷पिँडालु र पातसहितको डाँठ दुवै भोजनमा प्रयोग हुन्छन्। कर्कलो पौष्टिकताको स्रोत भएको कुरा खाद्यविज्ञानले पुष्टि गरिसकेको छ। पूजामा कर्कलो राख्नाले सुख प्राप्ति हुन्छ भन्ने मान्यता छ। नवपत्रिकाका सन्दर्भमा कर्कलो ‘चामुण्डा’को प्रतीक मानिन्छ। 

कचु : नेपालीमा कचुर वा कालो बेसार भनिने वनस्पतिलाई संस्कृतमा कचु भनिन्छ। यो औषधीय गुणले भरिपूर्ण वनस्पति हो। यसको कन्द पाचन-प्रणाली, पेटको रोग, ज्वरो आदिमा उपयोग हुन्छ। दुर्गापूजास्थलमा कचुर राख्नाले कालिका देवीको कृपा प्राप्त हुन्छ भनिएको छ। नवपत्रिकाका सन्दर्भमा यो ‘कालिका’को प्रतीक मानिन्छ। 

बिल्व : बिल्व भनेको बेल हो। बेल पूजाआजाका लागि अत्यन्त पवित्र वनस्पति हो। शिवपूजामा बेलपत्रको अनिवार्य प्रयोग हुन्छ। देवीपूजामा पनि बेलपत्रको प्रयोग अनिवार्य छ। षष्ठीको साँझ बेलकै फेदमा दुर्गाबोधन र बिल्वनिमन्त्रण गरिन्छ र सप्तमीका दिन मुख्यरूपमा बेलपत्र टिपेर फूलपाती भित्र्याउने गरिन्छ। बेलको पात र फल पूजामा प्रयोग हुन्छन्। औषधीय गुणले युक्त बेल पूजास्थलमा राख्नाले भगवती दुर्गा र भगवान् शिवको कृपा प्राप्त हुन्छ भन्ने मान्यता छ। दुर्गापूजामा बेलपत्रले देवी ‘शिवा’को प्रतिनिधित्व गर्छ। 

अशोक : नेपालमा पनि अशोक भनिने वनस्पति सजावटका साथै पूजाका लागि पनि पवित्र मानिन्छ। अशोकका पात र बोक्रा औषधीका रूपमा उपयोग हुने कुरा आयुर्वेदमा चर्चा पाइन्छ। दुर्गापूजामा अशोकका पात उपयोग गरिन्छ। पूजास्थलमा अशोक राख्नाले शोक पर्दैन भन्ने मान्यता छ। नवपत्रिकाको अशोकले देवी ‘शोकहारिणी’को प्रतिनिधित्व गर्छ। 

जयन्ती : जयन्ती मसिना पात हुने, वर्षामा फुल्ने लहरे फूल हो। यसको फूल अरू पूजामा पनि प्रयोग हुन्छ। औषधीय दृष्टिले यसका पात, फूल र जरा उपयोगी हुन्छन्। घरछेउमा जयन्ती फूल हुनु शुभ मानिन्छ। यो जति हराभरा भयो त्यति सुख–समृद्धि आउँछ भन्ने मान्यता छ। जयन्ती ‘कार्तिकी’को प्रतीक मानिन्छ। दुर्गापूजामा जयन्ती राख्नाले देवी कार्तिकीको कृपा प्राप्त हुन्छ भन्ने मान्यता छ। 

नवपत्रिका–पूजन प्रकृति–पूजनको सुन्दर परम्परा हो। नवपत्रिकामा भित्र्याइने र पूजिने वनस्पति मानवजीवनका लागि अत्यन्त उपयोगी छन्। जीवन कृषिमा निर्भर ठान्ने हाम्रो सनातन परम्पराले यस्ता उपयोगी वनस्पतिलाई देवी-देवताका रूपमा सम्मान गर्न र संरक्षण गर्न सिकाएको छ। 

नवपत्रिका-प्रवेशको विधि 

सप्तमीका दिन अपराह्नतिर शुभ साइतमा अघिल्लो दिन निमन्त्रणा गरेका बेलको फेदमा गएर ‘ॐ बिल्ववृक्षाय नमः ।’ ‘ॐ दुर्गाप्रियाय नमः’ भनेर चन्दन, अक्षता, फूल आदिले बेलको पूजा गरिन्छ। अनि अघिल्लो दिन पूजा गरेको हाँगालाई पूजा गरी ‘ॐ छिन्धि छिन्धि फट् फट् हुं फट् स्वाहा’ भनेर हाँगो भाँची त्यसको प्रार्थना गरिन्छ। प्रार्थना गर्ने मन्त्र यस्तो छ–

पुत्रायुर्धनवृद्ध्यर्थं नेष्यामि चण्डिकालये ।
बिल्वशाखां समाश्रित्य राज्यं लक्ष्मीं प्रयच्छ मे ।।
आगच्छ चण्डिके देवि सर्वकल्याणहेतवे ।
पूजां गृहाण सुमुखि नमस्ते शङ्करप्रिये ।।

बिल्वप्रार्थनापछि नवपत्रिका संकलन गरी तिनलाई डोलीमा राखेर बाजागाजासहित दुर्गापूजा गरेको घरको आँगनमा लगेर राखिन्छ। 

घरको आँगनमा ल्याइएका नवपत्रिकालाई तीनपटक परिक्रमा गरी तिनमा गंगाजल र पञ्चगव्य छर्केर दीप, कलश, गणेशसहित ‘जयन्ती मंगला काली...’ मन्त्रले पूजा गरी कुभिन्डाको वा मासचामलको बलि दिने विधान छ। यसपछि ‘चामुण्डे चल चल चालय चालय शीघ्रं मम देवीपूजालये प्रवेशय स्वाहा’ भनेर देवीको स्थापना–पूजा भएको स्थानमा लगिन्छ। 

पूजास्थलमा ल्याइएका नवपत्रिकालाई शुद्धजलले छुट्टाछुट्टै स्नान गराइन्छ। त्यसपछि देवीको नजिकै राखेर पहिले फलसहितका बेलका हाँगाको र त्यसपछि क्रमशः अरूको पूजा गरिन्छ। पूजाको क्रम र विधि यसप्रकार छ–

केरामा— ॐ ब्राह्म्यै नमः ।
दाडिममा— ॐ रक्तदन्तिकायै नमः ।
धानमा— ॐ लक्ष्म्यै नमः ।
हलेदोमा— ॐ दुर्गायै नमः ।
मानकमा— ॐ चामुण्डायै नमः ।
कचुरमा— ॐ कालिकायै नमः ।
बेलमा— ॐ शिवायै नमः ।
अशोकमा— ॐ शोकहारिण्यै नमः ।
जयन्तीमा— ॐ कार्तिक्यै नमः ।

यसरी नवपत्रिकाको अलगअलग पूजा गरेपछि सबैको प्रार्थना गरिन्छ। प्रार्थना गर्ने मन्त्र यस्तो छ–

पत्रिके नवदुर्गे त्वं महादेवमनोरमे ।
पूजां समस्तां सङ्गृह्य रक्ष मां त्रिदशेश्वरि ।।

यसरी नवपत्रिका प्रवेशको कर्म सम्पन्न हुन्छ। यसपछिका दिनमा नवपत्रिकाको पूजा पनि दुर्गापूजाकै अंग हुन्छ। साँझको नित्यपूजा अघिल्ला दिनहरूमा जस्तै गरिन्छ। 

कात्तिक ७, २०७७ शुक्रबार ००:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।