रूपन्देहीमा थप दुई कोरोना संक्रमितको मृत्यु
भैरहवा : रूपन्देहीको थप दुईजना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ। धागो कारखानास्थित प्रादेशिक कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल उपमहानगरपालिका वडा नम्बर ११, देवीनगरका ४७ वर्षीय पुरुष र वडा नम्बर १७, मोतिपुरका ८१ वर्षीय पुरुषको मृत्यु भएको हो।
दुवैलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ।
अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमका अनुसार ४७ वर्षीय पुरुषको आज (बुधबार) बिहान १ः१० बजे मृत्यु भएको हो। गत असोज २४ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी सोही दिन अस्पताल भर्ना भएका थिए। उनलाई उच्च रक्तचापसम्बन्धी समस्या थियो।
यस्तै, ८१ वर्षीय पुरुषको पनि आजै बिहान ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। गत असोज २७ गते कोरोना पुष्टि भएपछि उनी सोही दिन अस्पताल भर्ना भएका थिए।
स्वास्थ्य कार्यालयका अनुसार योसँगै रूपन्देहीमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ५३ पुगेको छ।
कात्तिक ५, २०७७ बुधबार ०९:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।