अम्बा बेचेर दसैं खर्च

अम्बा बेचेर दसैं खर्च

सुर्खेत : दसैं घरमा स्थापना भैसक्यो। दशैंका लागि बजार किन्नेहरुको भीड पनि निकै बढेको छ। आशीर्वाद लिनका लागि जन्मघर फर्किनेको लाम लागिरहेकै छ। तिनै घर फर्किनेहरुसँग अम्बा (बेलौती) बेचेर दसैं खर्च जुटाउने तयारीमा छन् दुर्गालाल जैसी।

दैलेखको नारायण नगरपालिका-७ विजौरा घर भएका जैसी दसैं खर्च जुटाउन डोकोमा अम्बा बोकेर यतिबेला दैलेख बजार चहार्दै छन्।

‘दसैं नजिकै आइसक्यो, खर्च पनि त जुटाउन पर्यो’ जैसीले उकेरासँग कुरा गर्दै भने, ‘परिवार मेरै भरमा छ। छोरा–छोरी सानै छन्। अलि ठूलो (कमाउने) भएको छोरा भारततिर गएको छ’ उनले थपे, ‘छोराले पनि खर्च पठाउदैन।’

जैसी ५० वर्ष पुगे। उनी २४ वर्षको हुँदाबाट दैलेख सदरमुकाममा अम्बा बेचेर आम्दानी गर्दै आएका छन्। परिवारमा ६ जना सदस्य छन्। जसमध्ये दुई छोरा र दुई छोरी छन्।

जेठी छोरीको मानसिक सन्तुलन ठिक छैन। जेठो छोरा कहिले भारत कहिले नेपाल गर्छन्। माइली छोरी भने बुवासँगै अम्बा बेच्न बजार हिड्छिन् । उनी कक्षा नौंमा पढ्छिन्।

‘घरबारीमा साना-ठूला १० अम्बाका रुख छन्।’ उनले भने, ‘प्रत्येक वर्ष भदौंदेखि कार्तिक मसान्तसम्म अम्बा बेच्छु।’ यही अवधिमा अम्बा बेचेर करिब ३०–४० हजार आम्दानी हुने गरेको जैसी बताउँछन्।

‘आजभन्दा २४ वर्षअघि एक रुपैयाँको २ दाना अम्बा बेच्थे’ उनले भने, ‘यो वर्ष पाँच रुपैयाँको दाना बेचेको छु।

लकडाउनले गर्दा अलि चहल–पहल कम भएकोले थोरै आम्दानी हुने आशंका गरेको छु।’

खेतबारीबाट हुने उत्पादनभन्दा अम्बा बेचेर धेरै फाइदा हुने गरेको उनको भनाई छ। ‘जम्मा १० मूरी उत्पादन हुने जग्गा छ। त्यहीपनि बाँदरबाट जोगाउन मुस्किल पर्छ’ उनले भने, ‘जग्गाको उत्पादनभन्दा  अम्बा बेचेकै धेरै नाफा छ।’

जैसी रोजगारीका लागि नेपाल–भारत गरिरहन्छन्। तर अम्बा बेच्ने सीजनमा भने नेपाल फर्किन्छन्। उनि भन्छन्, ‘अम्बाबाट भएको आम्दानीले केही दिन टर्छ त्यसपछि फेरि भारतमा काम गरेर गुजारा गर्छु।’

जैसीमात्रै होइन, कर्णालीका सडक छेउमा डोकोमै सीजनल फलफूल विक्रि गर्ने आम्दानी गर्ने र चाडबाडको जोहो गर्नेहरु धेरै छन्। तीमध्येकै सुर्खेतको वीरेन्द्रनगर–४ की ६० वर्षीया जगमति उपाध्याय पनि एक उदाहरण हुन्।

दसैं नजिकिदैं आएपछि उनी डोकोमै अम्बा बेचेर खर्च जोहो गर्ने तयारीमा छन्। दिनभर वीरेन्द्रनगरका विभिन्न सडकपेटीमा अम्बा, केरा, स्याउ लगायतका सीजन अनुसारका फलफूल डुलाईरहन्छिन्।

उनी भन्छिन् ‘डोको रित्तिए मन हलुङ्गो हुन्छ। नत्र घर फर्किदा भरी डोकोजस्तै मन पनि भारी हुन्छ ।’
सरकारसँग प्याकेज छैन।

कर्णाली प्रदेश अन्य प्रदेशको तुलनामा विपन्न प्रदेश हो। गुजारामा छाक टारिरहेका प्रदेशका नागरिकका लागि भने संघ, प्रदेश र स्थानीय तहका कुनैपनि सरकारसँग विपन्नका लागि दसैं प्याकेज छैन।

प्रदेश योजना आयोगको तथ्यांक अनुसार यहाँ बहुआयामिक  गरिबी दर ५१.२ प्रतिसत रहेको छ। जुन राष्ट्रिय दर २८.६ को तुलनामा निकै उच्च हो।

सर्वाेच्च अदालतले जनप्रतिनिधिलाई तलब दिन रोक लगाए पनि प्रदेश सरकारले सेवासुविधा दिने व्यवस्था गरेको छ। तर, व्यवस्थाले रोक्दा समेत घुमाएर सेवा सुविधा दिन मिल्ने र भोका नांगालाई केही पनि प्याकेज नहुँदा गरिब तथा विपन्न समुदाय निराश बनेका छन्।

गरिब, निमुखाका लागि दसैं प्याकेजका विषयमा छलफल नभएको आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले बताए।

‘दसैं प्याकेजका विषयमा छलफल भएको छैन,’ उनले भने, ‘यो आवश्यक भएकाले अब हामी छलफल  गर्छाैं।

 

कात्तिक ३, २०७७ सोमबार १६:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।